काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले भोलि (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य जित हुनेछ । तर, अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

समूह ‘बी’ मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो ।

नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

कुवेतमा जारी छनोटमा नेपालले चाईनिज ताईपेलाई २-० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो ।

हेड टु हेड 

नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग खेलेको थियो ।

अष्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार व्यहोरेको थियो । क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल घरेलु टिमसँग ५-० ले पराजित भएको थियो ।

उक्त खेलमा अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए । यस्तै ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो । नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए ।

शुक्रबार नेपाल र अष्ट्रेलियाबीचको दोस्रो भेट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय