काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १४औँ सिजनको आईपीएलका बाँकी म्याच खेलिने मिति सार्वजनिक गरेको छ ।

आईपीएल २०२१ का बाँकी म्याच १९ सेप्टेम्बरदेखि १५ अक्टोबारसम्म हुनेछन् ।

बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले १९ सेप्टेम्बरदेखि आईपीएलका बाँकी म्याच यूएईमा हुने बताएका हुन् ।

यसअघि अपुष्ट खबर बाहिर आएपछि बीसीसीआईका पदाधिकारीले बुधबार यर्थाथ जानकारी गराएका हुन् ।

न्युज एजेन्सी आईएएनएससँगको कुराकानीमा शुक्लाले आईपीएलका बाँकी म्याच १९ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म यूएईका विभिन्न मैदानमा हुने बताए ।

खेलाडीमा कोरोना पुष्टि भएपछि ४ मेमा अनिश्तिकालका लागि आईपीएल स्थगित गरिएको थियो । सो समयसम्म २९ म्याच सकिएका थिए ।

अब प्लेअफ र फाइनलसहित ३१ म्याच हुन बाँकी छन् ।

नयाँ तालिकाअनुसार आईपीएल २०२१ समाप्त भएको तीन दिनपछि टी-२० विश्वकप सुरु हुनेछ । विश्वकप १८ अक्टोबरदेखि सुरु हुने तालिका छ ।

यो विश्वकप पनि यूएईमै हुने सम्भावना बढी छ ।

भारतमा कोरोना संक्रमण नियन्त्रण भइनसकेकाले यूएईमा आईपीएल हुने सम्भावना बढेको हो ।

विश्वकप निर्धारित समयमै सुरु भएपनि त्यसमा आईपीएलले कुनै फरक नपर्ने बीसीसीआईका उपाध्यक्ष शुक्लाले बताएका छन् ।

उनका अनुसार विश्वकपको सुरुवात म्याचमा टेष्ट मान्यता नपाएका देशलाई खेलाइने सम्भावना छ । आसन्न विश्वकपमा १६ देशका टिमले भाग लिँदैछन् ।
जसमा पपुवा न्यूगिनी, ओमान, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नामिबियालगायत टेष्ट मान्यता नपाएका टिम पनि छन् ।

आईपीएल २०२१ म २९ म्याच सकिँदा दिल्ली क्यापिटल्स तालिकाको शीर्ष स्थानमा छ । उसले ८ म्याचमा ६ मा जित र दुई खेलमा हारको सामना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय