काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा चाइनिज ताइपेईविरुद्ध अष्ट्रेलिया विजयी भएको छ । गएराति कुवेत सिटीमा सम्पन्न खेलमा ताइपेईविरुद्ध अष्ट्रेलिया ५-१ ले विजयी भएको हो ।

लगातार छैटौं जितसँगै अष्ट्रेलिया शीर्ष स्थानमा कायमै छ । उसले समूहको अन्तिम दुई खेलअघि १८ अंक जोडेको छ ।अष्ट्रेलियाले अब नेपालसँग आगामी जेठ २८ गते खेल्नेछ । अन्तिम खेलमा उसले जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा छ । सोमबार नेपालविरुद्ध जित हात पारेको जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको थियो ।

कुवेत १० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको नेपालको ६ अंक छ । पुछारको चाइनिज ताइपेईले भने अंक जोड्न सकेको छैन ।समूहको शीर्ष टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछ । दोस्रो हुने टिमको पनि तेस्रो चरणको सम्भावना हुनेछ ।

जोर्डनसँग पराजितपछि के भन्छन् नेपाली टिमका प्रशिक्षक?

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध पेनाल्टी नभएको भए खेलको नतिजा फरक हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
जोर्डनविरुद्ध सोमबार ३-० ले पराजित भएपछि प्रशिक्षक अलमुताइरीले पेनाल्टीपछि खेल परिवर्तन भएको प्रतिक्रिया दिएका हुन् । ‘हामीले राम्रो खेल्यौँ । पहिलो हाफमा एउटै गल्ती भनेको पेनाल्टी दिनुभयो । ‘सायद त्यो पेनाल्टी नभएको खेलको नतिजा फरक हुन सक्थ्यो,’ खेलपछि अलमुताइरीले पोष्ट म्याच कन्फ्रेन्समा भने, ‘त्यसपछि जोर्डनले धेरै आराम पाएर खेल्यो र गोल थप्यो ।’

उनले हारपछि खेलाडीलाई दोष नदिन र धैर्य गर्न आग्रहसमेत गरेका छन् । ‘खेलाडीलाई दोष नदिनुस् । उनीहरू भर्खर रियल फुटबल खेल्दैछन् । हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका हौँ,’ उनले भने, ‘आगामी खेलमा सुधारिएको प्रदर्शनको आशा छ ।’

अलमुताइरीले अब अष्ट्रेलियाविरुद्ध हुने खेलमा ब्यालेन्स्ड फुटबल खेल्ने बताए । यसअघि जोर्डनको घरेलु मैदान अम्मानमा २०१९ मा भएको खेलमा नेपाल ३-० ले नै पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय