जेठ २४, अखबारपाटी ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोखामा १२ इन्च लामो छड छिरेका एक कोरोना संक्रमितको जटिल शल्यक्रिया गरि निकालिएको छ ।

गत जेठ ११ गते घरको भित्तामा प्लाष्टर गर्ने क्रममा ६ फिट माथीबाट झर्दा देब्रेपट्टि कोखामा करिब १२ इन्च छड भित्र छिरेका घाइतेको शल्यक्रिया गरिएको हो । ३८ वर्ष उमेरका घाइतेको घर झापा बताइएको छ ।

दिउँसोको करिब १ बजे घाइते भएका उनलाई दुर्घटना भएकै दिन ४ बजेतिर प्रतिष्ठानको आकस्मिक कक्षमा रड गाडिएकै अवस्थामा पुर्याइएको थियो ।

उनको कोखाबाट छिरेको छडले करङहुँदै फोक्सोको तल्लो भाग र मुटुमा समेत चोट लगाएको प्रतिष्ठानले जानकारी दिएको छ ।

अप्रेसनका लागि बिरामीलाई ओटीमा लगिसकेपछि जिन एक्स्पट परीक्षण गर्दा रिपोर्ट कोरोना पाजेटिभ देखिएको थियो । यद्यपि रत्तिभर विचलित नभई स्वास्थ्यका मापदण्ड अपनाई शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।

घाइतेको शल्यक्रिया डा. सुरेश प्रसाद शाहको नेतृत्वमा डा. लोकेश शेखर जैसवाल (कार्डियो थोरासिक भास्कुलर सर्जन), डा. रुपेस प्रसाद शाह, डा. विजय श्रेष्ठ, डा. रतिस, डा. अर्विन्द, डा. पवन सापकोटा त्यसैगरि एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव  र डा. अरुण मल्ल सहभागी थिए ।

त्यसैगरी नर्शहरुमा जानकी चौधरी, गिता राई, ओटी टेक्निसियन रञ्जन पाठक, हेल्पर दल बहादुर खड्का लगायत टिमले शल्यक्रिया गरि छड निकालेको थियो ।

सफल शल्यक्रिया गरि ११ दिनको अस्पताल बसाइपछि घाइतेलाई जेठ २२ गते डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तस्बिर स्रोतः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय