राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपालले जितका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।

आईतबार खेलअघि पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध नेपाली टिमले जित निकाल्न हरसम्भव प्रयास गर्ने बताएका हुन् ।

नेपालले विश्वकप छनोट अन्तर्गत भोलि (सोमबार) जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगको खेलमा नेपाली टिम जोर्डनसंग ३–० ले पराजित बनेको थियो ।

‘कसैले हामीलाई अन्डरडग भनेका छन् । जोसंग जोर्डनविरुद्ध कुनै मौकानै छैन । तर हरेक खेल शुन्यबाट सुरु हुन्छ । नतिजा मैदानमा गरिने प्रर्दशनमा निर्भर रहन्छ । सुरुवातदेखिनै हाम्रो लक्ष्य खेल जित्ने हो ।’ अलमुताईरीले भने ।

विश्वकप छनोटको तयारी स्वरुप ईराकमा मैत्रीपूर्ण फुटबल खेलपछि सबैको नजर नेपालमा छ । नेपालको फेरिएको आक्रमक फुटबललाई धेरैले प्रशंसा गरेका छन् । नयाँ प्रशिक्षक अलमुताईरी युवा टिम सहित विश्वकप छनोटको बाँकी खेल खेल्न कुवेत पुगेका छन् ।

अलमुताईरीले नेपालको लक्ष्य एसिया कपमा छनोट हुने रहेको बताए । उनले एसिया कपमा छनोट हुनका लागि जोर्डनलाई हराउन आवश्यक रहेको बताए । सोमबार जोर्डनविरुद्ध जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने बताए ।

‘हाम्रो लक्ष्य एसियन कपमा छनोट हुनु हो । त्यसका लागि हामीलाई जोर्डनविरुद्ध जित चाहिन्छ ।’ अलमुताईरीले स्पष्ट रुपमा भनेका छन् ।

उनले जोर्डनविरुद्ध आफुले राम्रो तयारी गरेको बताए ।

विश्वकप छनोट अन्तर्गत नेपालले पछिल्लो खेलमा चाईनिज ताईपेसंग खेलेको थियो । अलमुताईरीको पहिलो औपचारिक प्रतियोगितामा नेपालले २–० को जित निकालेको थियो । ताईपेविरुद्ध गोलका लागि ३४ पटक प्रयास गरेको नेपालले पोस्टभित्र १६ आक्रमण बुनेको थियो । अब्दुल्लाहले ताईपेलाई हराउन पर्याप्त अध्ययन र दर्जन बढी कक्षाहरु सञ्चालन गरेको बताएका थिए ।

उनले आईतबार सोही तयारी जोर्डनविरुद्ध समेत गरेको बताए ।

‘हामीले जोर्डनका लागि त्यतिनै तयारी गरेका छौं । जति ताईपेविरुद्ध गरेको थियौं ।’ उनले भने ।

नेपाल टिम सम्हाले लगत्तै आक्रमक फुटबल खेलाउने छबी निर्माण गर्न चाहेको अब्दुल्लाहले जोर्डनविरुद्ध समेत आक्रमक फुटबल खेल्ने संकेत गरेका छन् ।

विश्वकप छनोटको पहिलो लेगको खेलमा जोर्डनले नेपाललाई ३–० ले हराएको थियो ।

यता जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए ।

‘सबैको अपेक्षा छ, हामीले तीन अंक लिन्छौ भनेर तर फुटबलमा जे पनि सम्भव छ । मैले नेपालले ईराक र ताईपेविरुद्ध खेलेको हेरेको छु । तर उनीको स्तर र खेल्ने शैली पुरै परिवर्तन भएको छ ।’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय