भारत र पाकिस्तानबीच भएको टि–२० विश्वकप क्रिकेटमा पाकिस्तानको जितमा खुसी मनाउने भारतको राजस्थानकी एक शिक्षिकालाई जागिरबाट निकालेर उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको छ ।

राजस्थानको उदयपुरको एक निजी विद्यालयकी शिक्षिकाले सामाजिक सञ्जालमा पाकिस्तानी खेलाडीको तस्वीर राखेर ‘हामीले जित्यौँ’ लेखेकी थिइन् ।
विद्यालयका कुनै एक अभिभावकले शिक्षिकाको यो स्टाटस देखेपछि उनलाई म्यासेज गरेर सोधे- के तपाईँ पाकिस्तानको समर्थन गर्नुहुन्छ ? यो प्रश्नको जवाफ शिक्षिकाले ‘हो’ भनेर दिइन् । च्यानललाई उपलब्ध गराइयो र त्यसपछि यो विषय चर्चामा आयो ।

त्यसपछि विद्यालयले पत्र जारी गरेर नफिसालाई जागिरबाट निकाल्यो । ‘निरजा मोदी विद्यालयकी अध्यापिका नफिसा अटारीलाई विद्यालय सञ्चालक समितिको बैठक बसेर जागिरबाट हटाइएको छ’, विद्यालयले जारी गरेको पत्रमा उल्लेख छ । यसबारे विद्यालयका निर्देशक महेन्द्र सोजतियाले बीबीसीसँग भनेका छन्, ‘सामाजिक सञ्जालबाट यसबारे जानकारी पाइयो । मोदी स्कुल यस्ता कुरालाई सहन सक्दैन ।’

उदयपुरको अम्बामाता थानाका प्रहरी अधिकारी दलपत सिंह राठौडले यस विषयमा मंगलबार उजुरी दर्दा भएको जानकारी दिँदै घटनाको अनुसन्धान गरिरहेको बताए । घटनापछि शिक्षिका नफिसाले एक भिडियो जारी गरेर आफ्नो धारणा राखेकी छन् । उनले भनेकी छन्, ‘म्याच हेर्ने क्रममा परिवारका सदस्यहरू दुई भागमा विभािजत भएका थियौँ । यसको त्यस्तो कुनै ठूलो अर्थ थिएन कि म पाकिस्तानको समर्थन गरिरहेकी थिएँ ।’

‘कसैले मलाई म्यासेज गरे कि तपाईँ पाकिस्तानको सपोर्ट गरिरहनुभएको छ । घरमा मजाक चलिरहेका बेला मैले पनि हो भनिदिएकी हुँ । यसको अर्थ म पाकिस्तानको समर्थक हुँ भन्ने हैन । म भारतीय हुँ र भारतलाई धेरै माया गर्छु’, उनले अगाडि भनेकी छन् । घटनाप्रति उनले माफी पनि मागेकी छन् । ‘म तपाईँहरु सबैसँग माफी माग्न चाहन्छु । कसैको मन दुखाउने मेरो उदेश्य थिएन । त्यसका लागि ‘आइ एम भेरी सरी’, उनले भनेकी छन् ।

यस घटनाका अलावा पाकिस्तानको जितमा खुसी मनाएको आरोपमा जोधपुरका दुई युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय