ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गतको आइतबारको खेलमा नेपाल ७ विकेटले विजयी भएको हो ।

अल अमेरत मैदानमा भएको खेलमा ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले ३१.४ ओभर बाँकी रहँदै पूरा गर्दै पछिल्लो तीन हारको बदला समेत लिएको छ । ओमानले नेपाललाई यही प्रतियोगिताको पछिल्लो तीन खेलमा हराइसकेको छ ।नेपालको लागि बलिङमा करन केसी र सन्दीप लामिछाने नायक बने भने ब्याटिङमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे ।

यो जित प्रशिक्षक डेभ ह्वाटमोरलाई शानदार उपहार बनेको छ । यो खेलसँगै नेपालको प्रशिक्षकको जिम्मेवारी छोडेका उनको लागि टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी कप्तान मल्लको थियो । ह्वाटमोर नौ महिनाअघि नेपालको प्रशिक्षकको रूपमा आएका हुन् । यही प्रतियोगिता सुरु हुनुअघि उनले नेपाल क्रिकेट संघ (क्यान) लाई इमेल लेखेर राजीनामा दिएका हुन् । उनले व्यक्तिगत कारणले आफूले नेपाली टोलीलाई थप प्रशिक्षण दिन नसक्ने उल्लेख गरेका छन् ।

ओमानले दिएको लक्ष्य पछ्याउने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट रहँदै ४६ बलमा ५२ रन बनाए । सो क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे । उनलाई बलियो साथ दिएका आशिफ शेखले ४४ बलमा ७ चौकासहित ४० रन बनाए । यी दुईले ९५ रनको साझेदारी गरे । यस्तै कुशल भुर्तेल र रोहित पौडेल ६/६ रन बनाइ आउट भए भने शरद भेषावकर १ रन बनाइ नटआउट रहे ।

यसअघि टस जितेर पहिले फिल्डिङ गरेकोमा नेपाली बलरले कप्तान ज्ञानेन्द्र मल्लको निर्णयलाई सही साबित गर्दै ओमानलाई ठूलो रन बनाउन दिएन । नेपालको कसिलो बलिङसामु ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो । खेलमा नेपाली बलरहरू हावी भए । नेपालका लागि सुरुआती सफलता दिलाएका करन केसी चार माथिल्लो क्रममा ब्याटसम्यानको विकेट लिए ।

यस्तै आफ्नो पहिलो ओभरमै सफलता पाएका स्टार लेगस्पीनर सन्दीप लामिछानेेले ओमानका ४ सशक्त ब्याटसम्यानलाई आउट पारे । यस्तै पार्ट टाइम बलर शरद भेषावकरले २ विकेट लिए । सिरिजमा शरदको पहिलो खेल हो । ओमानका लागि कप्तान जिशन मकसुदले ६६ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । यस्तै ओपनर जतिन्दर सिंहले १३ रन बनाए भने नसिम खुशीले १२ रन बनाए भने कलिमुल्लाहले नटआउट ११ रन बनाए । खेलमा उत्कृष्ट बलिङ गरेका करन केसी प्लेयर अफ द म्याच चुनिए ।

नेपालले प्रतियोगितामा कुल ४ खेल खेल्दै दुई जित र दुईमा हार व्यहोरेको छ । नेपालले अमेरिका र ओमानलाई हरायो भने यी दुबै टोलीसँग एक एक खेलमा हार समेत व्यहोर्‍यो । आजको खेलमा जित हात पारेको नेपाल प्रतियोगिताको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ८ खेलमा ४ खेल जितेको नेपाल ओमान, स्कटल्यान्ड र अमेरिका भन्दा तल छ । नेपालभन्दा तल क्रमश: नामिबिया, युएई र पपुवा न्युगिनी छ । अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोली एकदिवसीय विश्वकपको लागि छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय