२२ जेठ,काठमाडौँ

ढुंगा, गिटी र बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीतिको चौतर्फी विरोध भइरहेको छ।

यस विषयमा प्राकृतिक सम्पदाविज्ञ एवं चुरेसम्बन्धी जानकारहरु नदीजन्य पदार्थ निकासी भन्दा पनि पहिले अध्ययन हुनुपर्ने बताउछन्। उनीहरुले बजेट वक्तव्यमा भाषागत रुपमा चुरेलाई नछोए पनि व्यवहारिक रुपले चुरेलाई नै इंगित गरेको दाबी गरेका छन्।

विज्ञहरु कोरोनाको महामारीका बेला र बर्खायाममा आएको यो घोषणा गलत भएको टिप्पणी गर्छन्। नदीजन्य पदार्थ निकासी गर्ने भन्दा पनि निकासीका लागि इमान्दारितापूर्वक पर्याप्त अध्ययन गर्नुपर्ने तर्क प्राकृतिक स्रोत व्यवस्थापनविज्ञ डा. विनोद भट्टको छ।

‘अहिले त सोझो हिसाबले निकासी भन्ने नै होइन। अहिले त अध्ययन मात्र गर्ने हो। सबै काम गम्भीर भएर गर्ने हो। यो ठेकेदार र भद्रगोल तालले गर्ने होइन’ उनले भने, ‘ठेकेदारले त आफ्ना फाइदाका लागि ठूला व्यापारी पोस्न जे पनि गरेका हुन्छन्।’

निर्माण सामग्री कच्चा पदार्थ जस्ताको तस्तै पठाएर हामीलाई फाइदा नहुने भनाइ उनको छ। ‘जडिबुटी सस्तोमा पठाउने अनि औषधि उताबाट आएपछि महँगोमा किन्ने भन्ने जस्तै हो’ उनले भने,‘हामीले यसलाई उद्योगमा लगाएर फिनिस प्रोडक्ट दिएपछि मात्रै फाइदा हुन्छ। बरु त्यतातिर ध्यान दिनुपर्छ। गिट्टी र बालुवाको भाउ खासै आउँदैन। यसबाट नाफा गर्छौ,व्यापार घाटा कम गर्छौ भन्नु मूर्खता मात्रै हो।’

उनले पूर्व पश्चिम चार लेन सडक, रेल्वे, हुलाकी सडक बन्दै गरेकाले कति गिट्टी बालुवा, ढुङ्गा चाहिएला भनेर मूल्याङ्कन नगरेर हचुवाको भरमा निकासी गर्ने निर्णय गरेको आरोप पनि लगाए।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पूर्व अध्यक्ष रामेश्वर खनाल बजेटको भाषामा चुरे संरक्षण भएपनि व्यवहारमा संरक्षण नहुने दाबी गर्छन्। बजेट वक्तव्यमा जुन आयो त्यो पढ्दा मात्र त्यसको आशय चुरेको उत्खनन् गरिने भन्ने बुझिँदैन,’ उनले थाहाखबरसँग भने,‘तर व्यवहारिक हिसाब र विगतको ट्रेन हेर्ने हो भने निर्यात खुला गरियो भने सजिलै तुरुन्तै निकासी गर्न सकिने चुरे क्षेत्रकै ढुङ्गा गिट्टी हो।’

मध्यपहाडी क्षेत्रमा रहेको महाभारत श्रृङ्खलामा जति पनि ढुंगाखानी रहेको बताउँदै उनले त्यसको विकास गर्न अझैँ लामो समय लाग्ने बताए। ‘जति पनि ढुङ्गा खानी छन् त्यो विकास गर्न त लामो समय लाग्छ। त्यहाँसम्म पूर्वाधार पुगेको छैन, हाइटेन्सन लाइन पुगेको छैन, विजुली नपुगी काम गर्न गाह्रो हुन्छ’ उनले भने,‘निकासी खुला गर्नेवित्तिकै चुरेमाथिको जुन दबाब पर्छ त्यो थेग्न गाह्रो हुन्छ।’

बुटबलमाथिको डाँडाहरु काटेर त्यसबाट निस्कने ढुङ्गा गिट्टीको परिणाम  अर्बौ रकम निकाल्ने तयारी लुम्बिनी प्रदेशमा हुँदैगर्दा मानिसहरुलाई उत्तेजित नपार्ने गरी नरम भाषामा बजेट बक्तब्यमा आएको पूर्व अर्थसचिव समेत रहेका खनालको ठम्याई छ।

नेपाली कांग्रेस, जसपा, माओवादी क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, प्रदेश नम्बर २ सरकार सहित विभिन्न दलका नेताहरु तथा चुरे र वातावरणका विज्ञहरुले पनि नेपालबाट ढुंगा गिट्टी बालुवा निकासी गर्ने बजेट वक्तव्यप्रति आलोचना गरेका छन्।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले समेत यसको विरोध जनाएको छ। आर्थिक वर्ष २०७८÷०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यमा ‘वातावरणीय प्रभाव मुल्याङ्कनको आधारमा खानीजन्य पदार्थ निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दु सम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महशूल छुट दिने’ व्यवस्था मिलाउने उल्लेख छ।

चुरे के हो ?

हिमाल उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको कान्छो पहाड चुरे श्रृङ्खला मानिन्छ। पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृङ्खला शिवालिकको नामबाट समेत परिचित छ।

पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा फैलिएको चुरे क्षेत्र मानवीय कारणले संकटमा पर्न थालेपछि संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालित छन्। चुरेको भौगर्भिक अवस्था केलाउँदा अत्यन्त कमजोर, गेग्रान, फुस्रो माटो, पत्रे चट्टानले बनेको छ। चुरेमा अधिकांश स्थानमा रातो माटो देखिन्छ।

यसको सामरिक महत्व र कमजोर अवस्थाको चुरेको विशेष संरक्षण गर्नुको सट्टा विकासका नाममा जथाभावी डोजर लगाउने, खनजोत गर्ने, खुला चरि चरन गराउने, अनियन्त्रित ढंगले बस्ती विकास हुँदा चुरे दिनप्रतिदिन सङ्कटमा पर्न थालेको विज्ञहरु बताउछन्। आधाभन्दा बढी नेपालीको बसोबास भएको तराई क्षेत्र हरेक दृष्टिले महत्वपूर्ण छ।

नेपालको ५५ प्रतिशत खेतीयोग्य जमिन र ६० प्रतिशत अन्न फल्ने ठाउँ तराई क्षेत्रमै छ। यस्तो महत्वपूर्ण क्षेत्रको उर्वर जमिनलाई चुरेबाट निस्कने खोलानालाले विनाश गरिरहेको छ। चुरेबाट निस्कने खोलानालाले विनाश निम्तिनुको पछाडी चुरेमा भइरहेको अतिक्रमण, दोहन, वन फँडानी र भूक्षय कारक भएको चुरेमा अध्ययन गर्नेहरुको ठम्याई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय