काठमाडौं । सायदै, अब अन्तराष्ट्रिय क्रिकेटमा ७७ नम्बरको जर्सीसहित पारस खड्का देखिने छैनन् ।

पारस दाइ ! पारस दाइ ! पारस दाइ ! जस्ता गुन्जायमान हुटिङ सुनिने छैन । ७७ नम्बरको जर्सीमा पारस देखियोस कसरि ? पारसको समर्थनमा हुटिङ सुनियोस पनि कसरि, उनै नेपाली क्रिकेटका प्रिय पारसले अन्तराष्ट्रिय क्रिकेटबाट घोषणा गरिसकेपछि ।

मंगलबार बिहानै नेपाली क्रिकेटमा अप्रत्यासित सन्यास घोषणा आयो । जुन कसैले कल्पना समेत गरेको थिएन । सबैको प्रिय पूर्व कप्तान पारसले अप्रत्यासित निर्णय गरे । क्रिकेट जगतलाई आश्चर्यमा पार्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । ‘नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो,’ सन्यास घोषणा गर्दै ३३ पारसले लेखेका छन् ।

१७ वर्षे अन्तराष्ट्रिय क्रिकेट करियरमा पारसले नेपाली क्रिकेट अझ नेपाली खेलकुदमै लेजेण्डको रुपमा आफुलाई स्थापित गरे । १५ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गरेका पारसले नेपाली क्रिकेटको आरोह अवरोह देखे । नेपाली क्रिकेटको सुखद र दुखद पाटाको साक्षी बने । त्रिवि क्रिकेट मैदान, सन् २००४ अप्रिल २३ । आईसीसी अन्तरमहादेशीय कप । नेपालले मलेसियाविरुद्ध खेल्दै थियो । मलेसियाविरुद्ध खेल्ने सुरुवाती-११ मा थिए, उनै पारस । त्यसयता पारस नेपाली क्रिकेटका एक खम्बा रहदै आए ।

सिनियर टिममा डेब्यु गरेको पाँच वर्ष पछि नै अलराउण्डर पारसले नेपाली टिमको नेतृत्व सम्हाल्ने मौका पाए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीमा पारसले पहिलो पटक नेपाली टोलीको कप्तानी गरेका थिए । विनोद दासको स्थान लिएका पारसले २०१९ मा टिमको कप्तानी छाडेका थिए । तर, मैदानमा पारस सधै टिमको लिडरको रुपमा रहे ।

अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटले हात पारेको हरेक सफलताको नेतृत्व पारसले गरेका छन् । कुनै समय डिभिजन-५ मा अड्किएको नेपाली क्रिकेटलाई पारसले टी–ट्वान्टी विश्वकप हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने यात्राको नेतृत्व गरे । नेपाली क्रिकेट आईसीसीबाट निलम्बनमा रहदाँ समेत उनैले कप्तान र अभिभावकको रुपमा नेपाली क्रिकेटलाई अघि बढाए । पारस जति सफल खेलाडी र कप्तान अब नेपाली क्रिकेटले बिरलै पाउनेछ ।

‘क्याप्टेन कुल’ को उपमा पाएका पारसले १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् । पारसले एकदिवसीयमा ३ सय १५ रन बनाउँदा ९ विकेट लिएका छन् । टी-ट्वान्टीमा उनले ७ सय ९९ रन जोड्दा ८ विकेट लिएका छन् । पारस दुवै फर्म्याटमा नेपालको लागि सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । पारसको कप्तानीमा २६ टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल ११ खेल जितेको छ । यस्तै ६ एकदिवसीय अन्तराष्ट्रियमा नेपालले ३ खेल जितेको छ । पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४४ लिस्ट ए खेल खेलेका छन् ।

पारसको क्रिकेट करियर :

पारस हजुरबुवाको प्रेरणामा क्रिकेटमा लागे । र, नेपाली क्रिकेटमा मेरुदण्डका रुपमा रहे । पारसले बाल्यकालमा आफु हजुरबुवासँग क्रिकेट हेर्न जाने गरेको बताउदै आएका छन् । पारसको हजुरबुवा अझै नेपालको क्रिकेट हुँदा टियु मैदान पुग्ने गरेका छन् । अन्तरमहादेशीय कपमा मलेसियाविरुद्ध खेल्दै सिनियर टोलीमा डेब्यु गरेयता पारसले पछाडी फर्केर हेर्नु परेन । डेब्यु खेलमा पारसले ४४ रन र १ विकेट लिएका थिए । जुन खेल नेपालले ९ विकेटले जितेको थियो । नेपालको पहिलो प्रथम श्रेणीको जित पनि त्यहीँ थियो ।

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका पारसले सन् २००७ मा कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा सिनियर टिमको उपकप्तानीको जिम्मेवारी प्राप्त गरे । त्यसको दुई वर्षपछि २००९ मा तत्कालिन कप्तान विनोद दासलाई विस्थापित गर्दै पारस राष्ट्रिय टिमको कप्तान चुनिए । त्यसयता उनी नेपाली क्रिकेटका सर्वाधिक सफल र लोकप्रिय कप्तान बने । उनी कप्तान भए लगत्तै नेपाल सन् २०१० मा घरेलु मैदानमा भएको डिभिजन-५ को च्याम्पियन बन्यो ।सन् २०१२ मा मलेसियामा भएको डिभिजन-४ को उपाधि हात पार्दा पारस नायक रहे । सोही वर्ष भएको एसीसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउन पारसले शानदार प्रर्दशन गरेका थिए । उनी प्लेयर अफ द सिरिज घोषित भए ।

एसीसी ट्रफी इलाइट ट्रफीमा कुवेतविरुद्ध शतक प्रहार गरेका पारस नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने छैटौं खेलाडी बने । उनले ७७ बलमा अविजित रहँदै १ सय ६ रन प्रहार गरेका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१३ मा बर्मुडा र सन् २०१४ मा मलेसियामा भएको डिभिजन ३ को उपाधि उचाल्न सफल भएको थियो । सन् २०१३ को डिभिजन-३ जितेसँगै नेपालले सन् २०१४ एकदिवसीय विश्वकप छनोटमा सहभागी भयो ।

पारसको कप्तानीमा नेपाल सन् २०१४ को विश्व टी–ट्वान्टीमा छनोट भयो । बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउदै नेपाल इतिहास रच्न सफल भयो ।
हङकङविरुद्ध पहिलो बलमा पारसले विकेट समेत हात पारेका थिए । उनी टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलको पहिलो बलमा विकेट हात पार्ने विश्वका १० औं खेलाडी बने ।
तीन खेलमध्ये २ मा जित हात पारेको नेपाल नेट रनरेटको आधारमा अघिल्लो चरण पुग्न त सकेन तर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट जगतले खुलेर प्रशंसा गरेको थियो ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको अहिलेसम्मकै ठुलो प्रतियोगिता त्यहिँ हो । सन् २०१५ को डिभिजन-२ मा कप्तान पारसले ६ इनिङमा १ सय ८५ रन बनाउँदै ६ विकेट हात पारेका थिए । सो प्रतियोगिताबाट नेपाल सन् २०१५ देखि २०१७ सम्म हुने आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट भएको थियो । विश्व क्रिकेट लिग (सन् २००८ देखि २०१५) अन्तर्गत पारसले १ हजार १ सय ५७ रन बनाएका छन् । जसमा ७ अर्धशतक रहेका छन् ।

सन् २०१८ मा पारसको नेतृत्वमा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो । जिम्बाबेमा विश्वकप छनोट हुन नसके पनि नेपालले पारसको नेतृत्वमा ऐतिहासिक एकदिवसीय मान्यता प्राप्त गरेको थियो । नेपाललाई टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने पारस पहिलो कप्तान हुन् ।

नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो र एकमात्र खेलाडी हुन् । उनले युएईविरुद्धको खेलमा १ सय १५ रन प्रहार गर्दै कीर्तिमान बनाएका थिए । पारस टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी तथा कप्तान हुन् । उनले सिंगापुरविरुद्ध ५२ बलमा अविजित १ सय ६ रनको इनिङ्स खेल्दै कीर्तिमान बनाएका थिए ।

नेपालका लागि पारसको अन्तिम खेल थाइल्याण्डविरुद्ध रह्यो । एसीसी इस्टर्न रिजन टी-ट्वान्टी अन्तर्गत २०२० को मार्चमा ४ मा नेपालले थाइल्याण्डविरुद्ध खेलेको थियो । त्यहिँ खेल पारसको नेपालका लागि अन्तिम खेल रह्यो । नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दा पारसले ९ रन जोडेको थियो । पारसले अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेल भने २०२० को फेब्रुअरी १२ मा अमेरिकाविरुद्ध खेलेका थिए । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत घरेलु मैदानमा पारसले अमेरिकाविरुद्ध खेलेका थिए । टियु मैदानमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दा पारसले अविजित २० रन बनाएका थिए ।

उमेर समूह :

कक्षा १० सकिने बेला पारस पढ्ने विद्यालयले यू–१५ अन्तर विद्यालय प्रतियोगिता खेलेको थियो । पारस नेतृत्वको टिमले प्रतियोगिताको उपाधिनै हात पार्यो । काठमाडौंको क्षेत्रीय छनोटको रुपमा रहेको प्रतियोगितामा राम्रो प्रर्दशन गरेपछि पारससहित तीन खेलाडी क्षेत्रीय छनोटमा परेका थिए । त्यहिँबाट पारसको क्रिकेट करियर सुरु भएको थियो ।
उनले नेपालको यू–१५ हुँदै यू–१७ र यू–१९ टिममा खेल्ने अवसर पाए । सन् २००२ मा यू–१५ एसिया कपमा युएईविरुद्व खेल्दै पारसले नेपालको जुनियर टिममा डेब्यु गरेका थिए ।

अर्को वर्ष पारसले यू–१९ टिमबाट प्रतिनिधित्व गरे । त्यो समय कराँचीमा भएको यूथ एसिया कपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए । उनले सन् २००४ को आईसीसी यू–१९ विश्वकपको अनुभव समेत लिए । बंगलादेशमा भएको विश्वकप खेलेका पारस सहितको टोलीले टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई समेत पराजित गरेको थियो ।

सन् २००५ मा उनी यू–१९ टिमको उपकप्तान भए । उनकै टोलीले २००६ मा श्रीलंकामा भएको आईसीसी यू–१९ विश्वकप प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यू–१९ च्याम्पियनसिपमा उमेर समूहको टोलीको कप्तानी सम्हाल्ने मौका पाएका थिए ।

सोही प्रतियोगिताको उनी उत्कृष्ट खेलाडी घोषित भए । सोही वर्ष उनले एसीसी इमर्जिङ प्लेयर अफ दि ईयरको अवार्ड हात पारे । सन् २००८ को आईसीसी यू–१९ विश्वकपमा पारसले नेपाली टिमको कप्तानी गरेका थिए । सो विश्वकपमा उनको प्रदर्शनबाट प्रभावित हुँदै विश्वकप स्मारिका कार्यक्रममा पारसलाई टेस्ट राष्ट्रको टिममा हुनु पर्ने खेलाडी भन्दै सम्बोधन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय