साउन १९, नुवाकोट ।
जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित नेगीमा ढुँगा खस्दा केही घरमा क्षति भएको छ । मंगलबार बिहान करीब साढे सात बजे खसेको ढुँगाको छर्रा लागेर ३/४ घरमा क्षति पुगेको स्थानिय शेरबहादुर तामाङले अखबारपाटीलाई जानकारी दिएका छन् । घरमा क्षति पुगेको भए पनि मानविय क्षति भने नभएको उनले बताए ।

तादी खोला भन्दा ठिक पारी पट्टीबाट ठूलो ढुँगा खस्दा उछिट्टिएको साना ढुँगाले वारी पट्टी नेगीमा क्षति पुर्याएको हो । उक्त घटनाबाट नेगीको बस्तीमा रहेका घरहरुको छाना र झ्यालहरुमा क्षति पुगेको तामाङले बताएका छन् । ढुङ्गले मान ब. तामाङ, आईतमान तामाङ, सिरमाई तामाङ, ठूली तामाङको घरको छानामा क्षति पुर्याएको छ भने मुइजित तामाङको घरको झ्यालमा क्षति भएको छ ।

लाङटाङ राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र अन्तरगत रहेको उक्त वस्तीको स्थलगत अनुगमनका लागि आज नेपाली सेना समेत नेगी पुगेको छ ।

 

दुप्चेश्वर १, घ्याङफेदीमा रहेको नेगी त्यही बस्ती हो, जहाँ गतवर्ष ठूलो ढुँगा खस्न लागेको भन्दै समाचारहरु आएका थिए । नेगीको सिरानमा रहेको उक्त ढुँगा पनि अहिलेसम्म जोखिमकै अवस्थामा छ । तर, बजेट र केही नीतिगत समस्याका कारण अहिलेसम्म फुटाउन नसकिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले बताएका छन् ।

२०७२ सालमा गएको महाभूकम्पका कारण डग्मगाएको उक्त ढुँगा वर्षा लागेपछि केही सरेको थियो । उक्त ढुँगाबाट नेगीको करिब ३५ घरधुरी जोखिममा रहेको छ । जोखिममा परेका स्थानियहरुलाई स्थानिय सरकर दुप्चेश्वर गाउँपालिका, जिल्ला रेडक्रश र अन्य निकायको सहयोगमा गतवर्ष सुरक्षित स्थानमा अस्थायी रुपमा सारिएको थियो । तर, एक वर्ष वितिसक्दा पनि बस्ती भन्दा ठिक माथी रहेको उक्त ढुँगा फुटाउन सकिएको छैन ।

उच्च जोखिममा रहेके नेगी सिरानको ढुँगा

गत वर्ष नै गाउँपालिकाले ढुङ्गा हटाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको थियो । जानकारी पाए पछि जिल्ला विपद् व्यवस्थापन समितिका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, तत्कालिन प्रमुृख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो । गतवर्षनै फुटाउन आवश्यक भनिएको उक्त ढुृँगा अझै बस्तीमाथी झुण्डिरहेकै अवस्थामा छ ।

दुप्चेश्वर गाउँपालिकाले ढुङ्गाको आकार निकै ठूलो भएकाले विस्फोट गराई हटाउनुपर्ने र त्यसका लागि नेपाली सेनामार्फत तत्कालै हटाउन आवश्यक रहेको भन्दै गतवर्ष जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरेको थियो । भूकम्पको कम्पनले माथिबाट ढुङ्गा र सुक्खा पहिरो जान सक्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा समेत नेगीगाउँलाई जोखिम बस्तीका रूपमा समावेश गरेको थियो ।

नेगीस्थित जोखिम वस्तीका मानिसलाई सुरक्षित स्थानमा राख्न हालिएका टेण्ट ।

टेण्टमा बस्तीका मानिसलाई सारिए पनि त्यहाँका बासिन्दाको पशु चौपाय र खेतीपाती नेगीको जोखिम स्थानमै छ । ओतलाग्ने ठाउँमात्र भएर गुजारा नचल्ने हुँदा त्यहि जोखिम स्थानको माटो खनिखोस्री गर्नु बाध्यता रहेको स्थानियहरु बताउँछन् । गतवर्ष विभिन्न दाताहरुले उक्त ढुँगा पिडितहरुलाई खाद्यान्न लगायत सहयोग गरेको पनि थियो । तर, सँधै अरुले दिएको खाएर मात्र निर्वाहा नुहेने उनिहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय