हामीले पूर्वजलाई बिर्सियौं । ऋषिमुनिहरुले लेखेका सूत्रहरुको रहस्य बुझ्ने चेष्टा गरेनौँ । विडम्बना वैदिक ऋषिमुनिले आविष्कार र अन्वेषण गरेको विज्ञानको श्रेय पछि जन्मिएका पश्चिमा वैज्ञानिकहरुले पाउँदै गए ।
-प्रेम स्याङ्तान

पूर्वीय साहित्यमा वेद सबैभन्दा प्राचीन ग्रन्थ हो । वेदका आधारमा लेखिएका ग्रन्थहरु वैदिक ग्रन्थ हुन् । प्रतिभाशाली ऋषिमुनिहरुले वैदिक साहित्यलाई समृद्ध बनाए । आर्यवर्त पृथ्वीको ईतिहासमा ज्ञानको पहिलो मुहान थियो । अष्टावक्र महागीता, ब्रह्मसूत्रजस्ता ग्रन्थहरुको अध्ययन गर्दा पूर्वीय दर्शन अध्यात्मिक ज्ञानको शिखरमा थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । त्यसबेलाका ऋषिमुनिहरुको वैज्ञानिक खोज पनि अभूतपूर्व थियो ।

तर समय अन्तरालमा ऋषिमुनिहरुको अध्यात्म इतरका खोज र अन्वेषणहरु ओझेलमा पर्दै गए । वैदिक ऋषिमुनिहरुको विज्ञानलाई आधुनिककालमा अगाडि बढाउने काम भएन । हामीले पूर्वजलाई बिर्सियौं । विडम्बना वैदिक ऋषिमुनिले आविष्कार र अन्वेषण गरेको विज्ञानको श्रेय पछि जन्मिएका पश्चिमा वैज्ञानिकहरुले पाउँदै गए ।

ऋषिमुनिको भाषा काव्यिक हुन्छ । उनीहरुले विज्ञान पनि थोरै शब्दमा प्रतिकात्मक भाषामा लेखिदिन्छन् । तर हामीले ऋषिमुनिहरुले लेखेका सूत्रहरुको रहस्य बुझ्ने चेष्टा गरेनौँ । ऋषिमुनिहरुले विज्ञानको विकासमा पुर्याएको योगदानहरु हाम्रा विरासत हुन् । यहाँ वैदिक ऋषिहरुका केही वैज्ञानिक खोजको बारेमा छोटो चर्चा गरिएको छ ।

गुरुत्वाकर्षण

बच्चाहरुलाई स्कूलमा सर आईज्याक न्यूटनले गुरुत्वाकर्षण पत्ता लगाए भनेर पढाईन्छ । एकदिन न्यूटन बगैचामा स्याउको रुखमुनि आराम गरिरहेका थिए । अकस्मात् एउटा स्याउ उनको टाउकोमा खस्यो । त्यसपछि उनको मनमा प्रश्न उब्जियो, स्याउ किन सधैं पृथ्वीमा खस्छ ? माथि आकाशतिर किन खस्दैन ? र उनी गुरुत्वाकर्षणको नियम प्रतिपादन गर्न सफल भए । यहि नै गुरुत्वाकर्षणको खोजबारे हाम्रो आम बुझाई हो ।

सन् १६८७ मा प्रकाशित ‘फिलोसोफिया प्रिन्सिपिया नेचुरलिस मेथमेटिका’मा न्यूटनले विश्वव्यापी गुरुत्वाकर्षण र गतिका नियमहरुको व्याख्या गरेका थिए जसले शास्त्रीय भौतिकीको जग बसाल्यो । तर गुरुत्वाकर्षण सर्वप्रथम पत्ता लगाउने व्यक्ति न्यूटन भने होईनन् ।

पूर्वीय वैदिक तथा प्राचीन ग्रन्थहरुमा गुरुत्वकर्षणबारे प्रशस्त जानकारीहरु उल्लिखित छन् । न्यूटन जन्मिनुभन्दा करिब २००० वर्ष पहिले महर्षि कणादले गुरुत्वाकर्षण पत्ता लगाएका थिए । कणादको समय ईसापूर्व ४००-६०० मानिन्छ । यो कालखण्ड महाविर र गौतम बुद्धको समय हो । यस कालखण्डमा भौतिकवादी वैज्ञानिक चिन्तनको विकास भएको देखिन्छ । कणादकृत ‘वैशेषिक दर्शनम्’ मा वैज्ञानिक भौतिकवादी दर्शनको चर्चा गरिएको छ । यस पुस्तकमा गुरुत्वाकर्षणका साथै वस्तुको गति र परमाणुबारे पनि उल्लेख गरिएको छ । न्यूटनको टाउकोमा स्याउ खस्नुभन्दा हजारौ वर्ष पहिले नै कणादले स्याउ खस्नुको कारण पत्ता लगाई सकेका थिए । कणाद भन्छन्-

संयोगाभावे गुरुत्वात् पतनम् । (वैशेषिक दर्शनम् ५।१।७)

अर्थात् संयोेगको अभावमा गुरुत्वले पतन हुन्छ । स्याउ र हाँगाबीच हुने संयोग वा जोडाई रहेसम्म स्याउ खस्दैन । जब संयोगको अभाव हुन्छ, गुरुत्वाकर्षण बलको कारण स्याउ पृथ्वीमा खस्छ । महर्षि कणादले पृथ्वीको सतहबाट आकाशमा प्रक्षेपण गरिएको वस्तुको गतिको पनि सटिक विवेचना गरेका छन् । उनी अगाडि भन्छन्-

गुरुत्वप्रयत्नसंयोगानामुत्क्षेपणम् । ( वैशेषिक दर्शनम् १।१।२९)

अर्थात् पृथ्वीको सतहबाट प्रक्षेपण गरिएको वस्तुको गति प्रयत्न (बाह्य उर्ध्व बल) र गुरुत्व (गुरुत्व बल) को संयोगको परिमाण हो । कणादले यान्त्रिकीमा गुरुत्व बलको प्रभावबारे प्रकाश पारेका छन् ।

त्यसपछि सन् १११४ मा जन्मिएका प्राचीन गणितज्ञ एवं सुप्रसिद्ध खगोलशास्त्री भाष्कराचार्य रचित ‘सिद्धान्त शिरोमणि’मा पनि गुरुत्वाकर्षणबारे उल्लेख गरिएको छ । सिद्धान्त शिरोमणिका लीलावती, बीजगणित, ग्रहगणित र गोलाध्याय नामक चार भागहरु छन् ।

भाष्कराचार्यले न्यूटनभन्दा करिब ५०० वर्ष अघि गुरुत्वाकर्षणबारे व्याख्या गरेका थिए । भाष्कराचार्यकी एउटी छोरी थिई- लीलावती । उनी नकै जिज्ञासु स्वभावकी थिईन् । उनी सोधछिन्, ‘‘पिताजी, हामी बसेको यो पृथ्वी केमा अडिएको छ ?”

छोरीको जिज्ञासा समाधान गर्न भाषकाराचार्य भन्छन्,‘‘बाले लीलावती ! कोही भन्छन् यो पृथ्वी शेषनाग, कछुवा, हाती वा अन्य कुनै कुनै वस्तुमा अडिएको छ, उनीहरुले भनेको कुरा सहि होइन । मानि लिउँ, यो पृथ्वी कुनै वस्तुमा अडिएको छ तैपनि त्यो वस्तु चाहिँ केमा अडिएको छ भन्ने प्रश्न रहि रहनेछ । यसरी कारणको कारण र फेरि त्यसको कारण…यो क्रम चलि रहन्छ, न्याय शास्त्रमा यसलाई अनवस्था दोष भनिन्छ ।”

‘‘त्यसो भए पृथ्वी केमा अडिएको छ पिताजी”लीलावतीले सोधिन् ।

‘‘पृथ्वी कुनै पनि वस्तुमा अडिएको छैन ।” छोरीलाई बुझाउदै भाष्कराचार्य भन्छन्, ”वस्तुको शक्ति बडो विचित्र छ”

मरुच्लो भूरचला स्वभावतो यतोविचित्रावतवस्तु शक्त्यस्॥ (सिद्धान्त शिरोमणि, गोलाध्याय )

भाष्कराचार्य भन्छन्,‘‘पृथ्वीमा आकर्षणशक्ति छ । पृथ्वीले आफ्नो आकर्षण शक्तिले गह्रौं वस्तुलाई आफूतिर तान्दछ र वस्तु जमिनमा खस्दछ । यदि समान बल चारैतिरबाट लागेमा कुनै पनि वस्तु कसरी खस्छ र ? अर्थात् आकाशमा ग्रह निरावलम्ब रहन्छ किनभने विभिन्न ग्रहहरुको गुरुत्वाकर्षण शक्तिले सन्तुलन बनाई राख्छ ।”

आकृष्टिशक्तिश्च मही तया यत् खस्थंगुरुस्वाभिमुखं स्वशक्तत्या।

आकृष्यते तत्पततीव भातिसमेसमन्तात् क्व पतत्वियं खे॥

(सिद्धान्त शिरोमणि, गोलाध्याय)

गुरुत्वलाई अंग्रेजीमा ग्रेभिटी भनिन्छ । ग्रेभिटी लेटिन भाषाको ग्रेभिसबाट बनेको हो जसको अर्थ हो – गह्रौं । संस्कृतमा गुरुत्वको अर्थ पनि गह्रौं हुन्छ । यसरी अर्थ र उच्चारित ध्वनिका आधारमा हेर्दा ग्रेभिस गुरुत्वबाट व्युत्पत्ति भएको देखिन्छ । यसबाट अनुमान लगाउन सकिन्छ कि गुरुत्वाकर्षणसम्बन्धी अवधारणाको विकास पश्चिमेली वैज्ञानिकहरुभन्दा पहिले पूर्वीय ऋषिमुनिहरुमा भएको थियो ।

यसबाहेक अन्य पूर्वीय वैदिक र प्राचीन ग्रन्थहरुमा पनि गुरुत्वाकर्षणबारे जानकारी पाउन सकिन्छ । महर्षि पतञ्जलीले व्याकरण महाभाष्य स्थानेन्तरतमस् (१।१।४९) मा भन्छन्-

लोष्ठस् क्षिप्तो बहुवेगं गत्वा नैव तिर्यक् गच्छति नोर्ध्वमारोहति ।

पृथ्वी विकारः पृथ्वीमेव गच्छति आन्तर्यतस् ।

अर्थात् माटोको डल्लालाई माथि फ्याक्ने हो भने वहुवेग पूरा गरेपछि न बाङ्गिएर जान्छ, न माथि नै जान्छ । यो पृथ्वीको विकार हो, पृथ्वी मै खस्छ ।

त्यस्तै महाभारतमा पनि गुरुत्वकर्षणको संकेत भेटिन्छ । भीष्म पितामह भूमिको गुणबारे युधिष्ठिरलाई भन्छन्-

भूमैः स्थैर्यं गुरुत्वं च काठिन्यं प्रसवात्मना,

गन्धो भारश्च शक्तिश्च संघातः स्थापना धृतिस् ।

(महाभारत, शान्तिपर्व, २६१)

अर्थात् स्थिरता, गुरुत्व, कठोरता, उत्पादकता, गनध, भार, शक्ति, संघात, स्थापना आदि भूमिका गुण हुन् ।

यसका साथै ऋग्वेद, बृहत् जाबाल उपनिषद्, प्रश्नोपनिषद्, वराहमिहिरकृत ग्रन्थ पञ्चसिद्धान्तिका पनि गुरुत्वाकर्षणबारे उल्लेख गरिएको छ ।

गतिविज्ञान

गतिविज्ञान (Kinematics) मा वस्तुको गतिबारे अध्ययन गरिन्छ । गतिविज्ञानलाई भौतिक विज्ञानको जग मानिन्छ । ग्यालिलियोले सन् १६३८ मा गतिविज्ञानसम्बन्धी आफ्ना खोजहरुलाई ”टू न्यू साइन्स”मा अभिलेखिकरण गरेका थिए । ग्यालिलियोलाई आधुनिक गतिविज्ञानको निर्माताको रुपमा लिईन्छ । तर यो साँचो होईन । ग्यालिलियोभन्दा ११०० वर्षअघि आर्यभटले गतिविज्ञानको जग हालेका थिए । उनले लेखेको ‘आर्यभटीय’ भन्ने ग्रन्थ खगोलविज्ञान र गणितको क्षेत्रमा आफ्नो समयको सर्वश्रेष्ठ ग्रन्थ थियो । गतिबारे आर्यभट लेख्छन् –

भक्ते विलोमविवरे गतियोगेनानुलोमविवरे द्वौ ।

गत्यान्तरेण लब्धौ द्वीयोगकालावतीत्यैस्यौ ।।

(आर्यभटीय, गणितपाद ३१)

विपरित दिशामा गईरहेका दुई वस्तुहरुलाई तिनीहरुको गतिको योगफलले र समान दिशामा गईरहेको वस्तुको गतिलाई तिनीहरुको गतिको फरकले भाग गर । यसरी प्राप्त हुने भागफलले ती वस्तुहरु भेटिनु अघि वा पछिको समय दिन्छ ।

यसबाट सिद्ध हुन्छ, आर्यभटले करिब १५०० वर्ष अघि गतिको समिकरण (गति=दूरी /समय ) प्रचलनमा ल्याई सकेका थिए । यहि गति समिकरण नै आजको गाडीको ईन्जिनियरीङदेखि अन्तरिक्ष यानको आधार बन्न पुग्यो ।

न्यूटनभन्दा पहिले गतिसम्बन्धी तीन नियमहरु महर्षि कणादले प्रतिपादन गरेका थिए ।

पहिलो नियमस् वेगः निमित्तविशेषात कर्मणो जायते। अर्थात् वेग विशेष कर्मको कारण उत्पन्न हुन्छ ।

दोस्रो नियमस् वेगः निमित्तापेक्षात कर्मणो जायते नियतदिक क्रियाप्रबन्धहेतु । अर्थात् गतिको परिवर्तन प्रभावित बलले गर्दा हुन्छ ।

तेस्रो नियमस् वेगः संयोगविशेषविरोधी । अर्थात् क्रिया र प्रतिक्रया समान र विपरित हुन्छन् ।

पृथ्वीको गति

पहिले पृथ्वी स्थीर छ, ब्रह्माण्डको केन्द्रमा छ पृथ्वीको वरिपरि सूर्यले फन्को लगाउँछ भन्ने मान्यता थियो । त्यस बेला यूनानी वैज्ञानिक टोलेमीको १५०० पुरानो पृथ्वीकेन्द्रित मोडललाई विश्वास गरिन्यो । सन् १५२० मा कोपर्निकसले त्यसको खण्डन गरे र पृथ्वी सूर्यको वरिपरि घुम्छ भन्ने सूर्यकेन्द्रित मोडेलको विकास गरे । पश्चिमा वैज्ञानिक जन्मिनुपूर्व नै ऋषिमुनिहरुले खगोलीय पिण्डको बारेमा खोज गरि सकेका थिए । आर्यभट्ट पाँचौं शताब्दीमा पृथ्वीलगायत खगोलीय पिण्डको गतिबारे पत्ता लगाई सकेका थिए ।

अनुलोम-गतिस् नौ-स्थस् पश्यति अचलम् विलोम-गम् यद्-वत्।

अचलानि भानि तद्-वत् सम-पश्चिम-गानि लङ्कायाम् ॥

(आर्यभटीय गोलपाद ९)

अर्थात् जसरी डुङ्गा अगाडि बढिरहेको मानिसले स्थिर वस्तुलाई पछाडि गइरहेको देख्छ, त्यसरी नै लङ्का(भूमध्य रेखा) मा स्थीर तारालाई पश्चिमतिर गईरहेको देख्छ । यस श्लाोकबाट पृथ्वी आफ्नो अक्षमा घुम्छ भन्ने कुरा स्पष्ट हुन्छ।

यजुर्वेदका अनुसार पृथ्वी, सूर्य लगायत सबै ब्रम्हाण्ड घुम्छ ।

समाववर्ति पृथिवी समुषाः समु सूर्यः । समु विश्वमिद जगत् । (यजुर्वेद २०.२३)

सबै खगोलिय पिण्डहरु स्थीर नभई गितशील छन् भन्ने कुरा ऋषिमुनिहरुलाई धैरे पहिलेदेखि नै जान्दथे ।

सूर्यग्रहण र चन्द्रग्रहण

वैदिक ऋषिहरुले सूर्य र चन्द्रग्हणको कारण पत्ता लगाउनुका साथै गणना गर्ने गणितीय पद्धतीको विकास गरेका थिए । विभिन्न ग्रहको चाल र दूरीबारे खोज गरेका थिए ।

चंद्रो जलमर्को अग्निर्मृद भूश्छयापी या तमस्तद्धी।

छादयति शशि सूर्यम् शशिनं महती च भूच्छाया।।

(आर्यभटीय, कालक्रियापाद, श्लोक ३७)

अर्थस् जल स्वरुप चन्द्रमा, अग्नि स्वरुप सूर्य र पृथ्वी माटोले बनेको छ तथा छाया अन्धकारमय छ । सूर्यग्रहणमा चन्द्रमाले पृथ्वी र चन्द्रग्रहणमा पृथ्वीले सूर्यलाई ढाक्दछ । आर्यभटले पाटलीपुत्रमा वेधशाला (Observatory) स्थापना गरेका थिए खगोलीय पिण्डहरुको अध्ययन गरेका थिए ।

पृथ्वीको उत्पत्ति

अथर्ववेदले हातबाट कुनै वस्तु खसेजस्तै गरि पृथ्वीको उत्पत्ति सूर्यबाट खसेर भएको मान्दछ ।

बाहुच्युता पृथिवी द्यामिवोपरि । (अथर्ववेद १८।३।२५)

ऋषिहरु पश्चिमा वैज्ञानिकहरुभन्दा हजारौं वर्ष अघि थिए ।

पृथ्वीको भित्री भाग तातो छ

वैज्ञानिकहरुले पृथ्वीको आन्तरिक संरचनालाई सतहबाट केन्द्रतिर क्रमशः क्रष्ट, मेन्टल, बाहिरी कोर र भित्री कोर गरि चार भागमा विभाजन गरेका छन् । वैज्ञानिकहरुका अनुसार पृथ्वीको भित्री कोर तापक्रम ५ हजार डिग्री सेल्सियसभन्दा पनि बढि छ । पृथ्वीको भित्री भाग अत्यधिक तातो छ भन्ने कुरा वैदिक ऋषि मुनिहरुलाई थाह थियो । करिब ३८०० वर्षअघि जन्मिएका ऋषि याज्ञवल्क्यले पृथ्वीको गर्भमा आगो छ भनेर शतपथ ब्राम्हणमा लेखेका थिए ।

अग्निगर्भा पृथिवी । (शतपथ ब्राम्हण)

प्रकाशको गति

आधुनिक विज्ञानका अनुसार सर्वप्रथम प्रकाशको गतिको गणना सन् १६७६ मा रोमरले गरेका थिए । पूर्वीय ऋषिमुनिहरुलाई प्रकाशका गतिबारे ज्ञान थियो । प्रकाशको तीव्र गतिबारे ऋग्वेद भन्छ-

तरणिर्विश्वदर्शतो ज्योतिष्कृदसि सूर्य ।विश्वमा भासि रोचनम् ॥ (ऋग्वेद १. ५ ०.४)

अर्थात् हे सूर्य ! तिमी तिव्रगामी एवम् सर्वसुन्दर छौ । तिमीले संसारलाई प्रकाशित गर्दछौ ।

उक्त श्लोकमाथि टिप्पणी गर्दै चौधौं शताब्दीमा जन्मिएका आचार्य सायनले भाष्य लेखेका छन्-

योजनानां सहस्त्रं द्वे द्वे शते द्वे च योजने ।

एकेन निमिषार्धेन क्रममाण नमोऽस्तुते॥ (सायण ऋग्वेद भाष्य १. ५ ०.४)

अर्थात् आधा निमेष २२०० योजन हिड्ने प्रकाश तिमीलाई नमस्कार छ ।

वैदिककालिन समयमा योजन दूरी र निमेष समयका एकाई हुन् । यसबाट आधा निमेषमा प्रकाश २२०२ योजन हिड्छ भन्ने स्पष्ट हुन्छ । अब योजन र निमिषलाई आधुनिक एकाईमा रुपान्तरण गरेर हेरौं ।

१ योजन=करिब ८ मील (विकिपेडयाबाट)

त्यसैले, २२०२ योजन = १७६१६ मील

निमेष के हो तरु मनुस्मृति अनुसार,

दश चाष्टौ च काष्ठा त्रिंशत्तु ताः कलाः ।

त्रिंशत्कला मुहूर्तः स्यात् अहोरात्रं तु तावतः।।

(मनुस्मृति १-६४)

१८ निमेष = १ काष्ठस

३० काष्ठ = १ कलास

१ कला = १ मुहूर्त

३० मुहूर्त = १दिन र १ रात त्यसैले १ दिन र १ रात = २४ घण्टा = ३० × ३० × ३० × १८ = ४८६००० निमेष

अब निमेषलाई आधुनिक एकाईमा रुपान्तरण गरौं ।

फेरि २४ घण्टा = २४ × ६० × ६० = ८६४०० सेकेण्ड

त्यसैले ४८६००० निमेष = ८६४०० सेकेण्ड

१ निमेष = ८६४०० र ४८६००० = ०।१७७७८ सेकेण्ड

१/२ निमेष = ०.१७७७८ / २ = ०.०८८८९ सेकेण्ड

अब गणना गरौं ।

प्रकाश १/२ निमेषमा २२०२ योजन हिड्छ ।

प्रकाश ०.०८८८९ सेकेण्डमा १७६१६ मील हिड्छ ।

प्रकाश १ सेकेण्डमा १७६१६/०.०८८८९ = १९८१७७ मील हिड्छ ।

आधुनिक विज्ञानको गणना अनुसार प्रकाशका गती १८६००० मिल प्रति सेकेण्ड हो । अमेरिकी वैज्ञानिक माइकल्सनले सन् १८८७ मा गरेको प्रयोगद्वारा प्रकाशको गति १८६२७१.५ मील प्रति सेकेण्ड निकालेका थिए । प्रकाशको गतिको वैदिक गणना आधुनिक विज्ञानको गणनाको नजिक देखिन्छ । यसबाट वैदिक ऋषिहरुलाई प्रकाशका गतिबारे ज्ञान थियो भन्ने सिद्ध हुन्छ ।

पाईको मान

ज्यामितिमा वृतको परिधिको लम्वाई र व्यासको लाम्वाईको अनुपातलाई पाई भनिन्छ । पाँचौ शताब्दीमा जन्मिएका गणितज्ञ आर्यभट्टले पाईको सटिक मान निकालेका थिए ।

आर्यभटीयम् को दोश्रो भागमा लेखिएको छ-

चतुराधिकं शतमष्टगुणं द्वाषष्टिस्तथा सहस्राणाम् ।

अयुतद्वयस्य विष्कम्भस्यासन्नो वृत्तपरिणाहः॥

अर्थात् १०० मा चार जोडेर, आठले गुणा गरेर ६२००० जोडौ। यो नियमले २०००० परिधिको एक वृत्तको व्यास थाहा पाउन सकिन्छ ।

यस अनुसार व्यास र परिधिको अनुपात ((४ + १००) × ८+ ६२०००) / २०००० = ३.१४१६ हुन्छ, जुन पाँचौं अङ्कसम्म सटिक छ । आर्यभटले यसलाई आसन्न अर्थात् नजिकको मान भनेका छन् । उनलाई यस अनुपातको यथार्थ मान पता लगाउन असम्भव छ भन्ने थाह थियो ।

त्रिभुजको क्षेत्रफल

वैदिक ऋषिमुनिहरुले गणितमा गरेको खोज संसारलाई आश्चर्यचकित् तुल्याने खालको छ । गणितबारे थुप्रै ग्रन्थहरु उपल्बध छन् । उदाहरणको लागि आर्यभटको एउटा सूत्रलाई लिन सकिन्छ ।

त्रिभुजस्य फलशरीरं समदलकोटि भुजार्धसंवर्गः (आर्यभटीय, गणितपाद, श्लोक ६)

अर्थस् त्रिभुज को क्षेत्रफल यसको शरीर हो , लम्ब र भुजा को आधा को (गुणनफल को) परिणाम सँग बराबर हुन्छ ।

संसारलाई शून्य र अनन्त चिनाउने वैदिक ऋषिमुनि नै हुन् । पश्चिमा प्रसिद्ध गणितज्ञ ब्रटेन्ड रसेलले पनि शुन्यलाई पूर्वको महान् देन भनेर स्वीकारेका छन् । भाष्कराचार्य, आर्यभट, ब्रहम्गुप्त, बौधायन, श्रीधराचार्य जस्ता ऋषिहरुले अङ्क गणित, बीजगणित र ज्यामितिमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

पाइथागोरस साध्य

स्कुलमा आधारभूत तहदेखि युक्लिडीयन ज्यामितिमा पढाइने पाईथागोरस साध्यले समकोण त्रिभुजको कर्ण, लम्ब र भुजा बीचको सम्बन्ध स्थापित गर्दछ । यूनानी गणितज्ञ पाइथागोरस ईसापूर्व ५७० मा जन्मिएका थिए । यो साध्य पाइथागोरसभन्दा ८०० वर्ष अघि जन्मिएका बौधायनले पत्ता लगाई सकेका थिए । वैदिक ज्यामितिमा बौधायनको शुल्ब सूत्र सबैभन्दा पुरानो मानिन्छ । बौधायनको शुल्बशुत्र अनुसार

दीर्घस्याक्षणया रज्जुः पार्श्वमानी तिर्यकं मानी च ।

यत्पृथग्भूते कुरुतस्तदुभयांकरोति ॥

( बोधायन शुल्ब सूत्र १-४८)

अर्थात् विकर्णमा तानिएको डोरीले बनाउने क्षेत्रफल बाँकी भुजाहरुको वर्गले बनाउने क्षेत्रफलसँग बराबर हुन्छ ।

ज्यामितिको उत्पति ऋग्वेदबाट भयो । शुल्ब सूत्रलाई वेदको उपांग भनिन्छ । यज्ञ-वेदी बनाउन शुल्ब सूत्रको प्रयोग हुन्थ्यो । महर्षि बौधायनले गणित र ज्यामितिमा महत्वपूर्ण काम गरेका छन् ।

विद्युतीय ब्याट्री

हाम्रा स्कूल र कलेजहरुमा विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्युत् बारे पढाउँदा पश्चिमा वैज्ञानिकहरु भोल्टा, कुलम्ब, एम्पीयर, फ्याराडे, एडिसन आदीको चर्चा हुने गर्छ । तर हाम्रा वैदिक वैज्ञानिक अगस्त्यको चर्चा हुँदैन । केवल स्वस्थानी पढ्दा ‘हे अगस्त्य मुनि’ भनेर मात्रै नाम उच्चरण गरिन्छ । इटालीका वैज्ञानिक एलेसान्द्रो भोल्टाले सन् १८०० मा ब्याट्रीको आविष्कार गरे भनिन्छ, यो कथन सही होईन । भोल्टाभन्दा हजारौं वर्षअघि महर्षि अगस्त्यले ब्याट्रीको आविष्कार गरेका थिए । वैदिक ऋषि अगस्त्य सप्तऋषि मध्ये एक हुन् । ‘अगस्त्य संहिता’ नामक ग्रन्थमा विद्युत् उत्पादन गर्ने सूत्र उल्लेख गरिएको छ ।

संस्थाप्य मृण्मये पात्रे ताम्रपत्रं सुसंस्कृतम्‌।

छादयेच्छिखिग्रीवेन चार्दाभिस् काष्ठापांसुभिस्॥

दस्तालोष्टो निधात्वयस् पारदाच्छादितस्ततस्।

संयोगाज्जायते तेजो मित्रावरुणसंज्ञितम्‌॥

(अगस्त्य संहिता)

अर्थात् एउटा मृणमये पात्र (माटोको भाँडो)मा राम्रोसँग सफा गरिएको ताम्रपत्र (Copper sheet) र शिखिग्रीवा (मयुर घाँटी जस्तो पदार्थ अर्थात् copper sulphate) राख्ने । त्यसको बीचमा भिजेको काष्ठ पांसु (काठको धुलो अर्थात् saw dust) राख्ने । र त्यसपछि माथि पारोले आच्छादित दस्त लोष्ट (mercury-amalgamated zinc)  राख्ने । यी दुईको संयोगबाट अर्थात् तारले जोडेपछि मित्रावरुणशक्ति अर्थात् विद्युत् उत्पन्न हुन्छ ।

यस सूत्रमा आधारित एउटा सेल बनाएर परीक्षण गर्दा १.१३८ भोल्ट तथा २३ मिलि एम्पियर धाराविद्युत् उत्पन्न भएको पाईयो । अगस्त्यको विद्युतीय सेल भोल्टाभन्दा ३६ वर्षपछि अंग्रेज वैज्ञानिक जोन फ्रेडरिक डेनियलले आविष्कार गरेको डेनियल सेलसँग मिल्दोजुल्दो देखिन्छ ।

प्राचीन ऋषिमुनिहरुलाई जलप लगाउने र धातुको शुद्धिकरण गर्ने प्रविधिबारे पनि ज्ञान थियो । अगस्त्य संहितामा इलेक्ट्रोप्लेटिंग ( Electroplating)  बारे पनि उल्लेख गरिएको छ । यसको वर्णन शुक्रनीतिमा पनि भेटिन्छ ।

यवक्षारमयोधानौ सुशक्तजलसन्निधो॥

आच्छादयति तत्ताम्रं स्वर्णेन रजतेन वा।

सुवर्णलिप्तं तत्ताम्रं शातकुंभमिति स्मृतम्‌॥

अर्थात्‌ कृत्रिम स्वर्ण अथवा रजत (चाँदी)को लेपलाई सत्कृति भनिन्छ । फलामको भाडोमा सुशक्त जल अर्थात एसिड हाल्यौँ भने यवक्षार (सुन या चांदीको नाइट्रेट) तामालाई सुन वा चाँदीले ढाक्द्छ । सुनले लेपिएको त्यो तामोलाई शातकुंभ भनिन्छ ।

परमाणु

परमाणु सिद्धान्तको कुरा गर्दा डेमोक्रिटसको नाम आउँछ तर कणादको नाम सुनिदैन । कणादले डाल्टनभन्दा किरब २१०० वर्षपुर्व परमाणु सिद्धान्तको प्रतिपादन गरेका थिए । उनको वैशेषिक दर्शनलाई परमाणुवादी दर्शन भनिन्छ ।

कणादका अनुसार पृथ्वी, जल, तेज र वायुलाई साना साना टुक्राहरुमा विभाजन गर्न सकिन्छ । यसरी टुक्र्याउँदै जादा पदार्थलाई विभाजन गर्न नसकिने अवस्थामा पुगिन्छ, पदार्थको त्यस अविभाजित कणलाई परमाणु भनिन्छ ।

कणादको वैशेषिक दर्शनअनुसार एउटा वस्तुमा अनगिन्ती परमाणुहरूको योगले बन्दछ । दुई परमाणुको संयोगबाट एउटा अणु बन्दछ जसलाई ‘द्व्ययणुक’ भनिन्छ । जसलाई आधुनिक विज्ञानको भाषामा डाइएटोमिक भनिन्छ । तीनवटा अणुको मेलबाट ‘त्रयणुक’ बन्दछ । अणुहरू मिलेर पदार्थ र सम्पूर्ण जगत् को सृष्टि हुन्छ । वस्तुको आकार बढ्दै गएपछि त्यो आँखाले देख्न सकिने अवस्थामा पुग्छ जसलाई ‘महत्’ भनिन्छ । महत् परिमाणमा बढ्दै जाँदा ‘परम महत्’ सम्म पुग्दछ ।

वनस्पतिमा चेतना

पश्चिमा संसार लामो समयसम्म रुखविरुवाहरु जनावरजस्तै चेतना हुन्छ भन्ने कुराबाट अनभिज्ञ नै थिए । पछि सन् १९०१ मा भारतीय वैज्ञानिक सर जगदीशचन्द्र बोसले प्रयोगद्वारा सिद्ध गरेका थिए । ऋषिमुनिहरु यो कुरा पहिलेदेखि नै जान्दथे । अथर्ववेदमा वर्णन गरिएको छ कि वृक्षहरुमा आत्मा छ, यसकारण वृक्षहरुले सास लिन्छन् ।

महद् ब्रम्ह… येन प्राणन्ति वीरुधः । (अथर्ववेद १.३२.१)

अस्थुर्वृक्षा ऊध्र्वस्वप्नाः । (अथर्ववेद ६.४४.१)

 

विमानशास्त्र

पौराणिक प्रसंगमा हामीले पुष्पक विमानबारे सुनेका छौ ।राइट दाजुभाईले विमान बनाए पढेका छौं । महर्षि भारद्वाज रचित यन्त्रसर्वस्वको विमान(प्रकरणमा विमानको परिचय,निर्माण विधि र उडाउने कलाको उल्लेख छ । भारद्वाजका अनुसार ‘वेगसाम्याद् विमानोण्डजजानामिती’ अर्थात् आकाशमा पंक्षी समान वेग हुनेलाई विमान भनिन्छ । विमान प्करणमा प्रोपल्सन यन्त्र र धातुविज्ञान अर्थात् मेटालर्जीबारे पनि चर्चा गरएको छ ।

ऋग्वेदमा स्वचालित मरुत नामक स्वचालितअन्तरिक्ष यानको प्रसङ्ग उल्लेख छ । चालक, लगाम र घोडा केहिको सहयोग विना चल्ने स्वचालित अन्तरिक्ष यान मरुत् नाम गरेका देवतासंग भएको कुरा ऋग्वेदमा पाईन्छ ।

अनेनो वो मरुतो यामो अस्तु, अनश्वश्चिद् यमजत्यरथिः ।

अनवसो अनभीशू रजस्तु, वि रोदसी पथ्या याति साधन् । (ऋग्वेद ६.६६.७)

चिकित्सा विज्ञान

आजभन्दा २६०० वर्ष अघि काशीमा जन्मिएका सुश्रुत शल्यचिकित्साका पिता हुन् । उनले सुश्रुत संहितामा भन्ने ग्रन्थ लेखेका थए । पछि वि.सं. ५७ मा नगार्जुनले सम्पादन गरेर नयाँ स्वरुप दिए । शल्यचिकित्साका विविध पक्षहरुको चर्चा गरिएको छ । उनले शल्यक्रियामा १२५ प्रकारका उपकरणहरु प्रयोग गर्थे ।

सुश्रुत संहितामा आँखाको शल्यक्रियादेखि शल्यक्रिया द्वारा स्त्रीको प्रस्रव गराउने विधिबारे प्रकाश पारिएको छ । अहिले आधुनिक शल्यचिकित्सामा चर्चित प्लास्टिक सर्जरीसमेत उनी गर्थे ।

ईसापूर्व ३००-४०० मा जन्मिएका महर्षि चरकले आयुर्वेद चिकित्साशास्त्रमा महत्वपूर्ण योगदान दिएका थिए । कश्यप, वाग्भट जस्ता ऋषिहरुले पुर्याएको योगदान आज पनि अनुकरणीय छन् ।

त्यस्तै बौद्ध ग्रन्थहरुमा जीवकको चिकित्सा ज्ञानको प्रशंसा भेटिन्छ । उनी सिद्धार्थ बुद्धका चिकित्सक थिए । उनले बुद्धको कब्जियतको उपचार गरेका थिए । उनले उज्जैनका राजा उद्योतको पोलियो निको पारेका थिए । भनिन्छ उनले काशीका एक जमिन्दारको पेटको शल्यक्रिया गरेका थिए ।

वैदिक पुनर्जागरण किन ?

हुन सक्ला यहाँ कोटयाईएका कितपय कुराहरुमा शतप्रिशत सत्यता नहोला। तर प्राचीन ऋषिमुनिहरुले विज्ञान र गणित जग बसालेका थिए भन्ने प्रष्ट छ । आफ्नो समयभन्दा अघि थिए वैदिक ऋषिमुनिहरु तर आज हामी कहाँ छौं ? बरु आफ्नो साँस्कृतिक विरासतलाई बिर्सेकाले हामी वर्तमानमा पश्चिमा जगत् भन्दा पछि पर्दै गयौं । पूर्वीय ज्ञान र विज्ञानको प्राचीन गौरवशाली ईतिहास दुई कारणले लोपोन्मुख हुँदै गयो । पहिलो बाह्य आक्रमण र दोस्रो हाम्रो उदासिनता ।

पूर्वीय दर्शन र विज्ञानको अध्ययनको केन्द्र रहेका नालान्दा विश्वविद्यालय र तक्षशिला विश्वविद्यालयको हाल अवशेष मात्र बाँकि छ । नालान्दा हालको भारतको बिहारमा पर्छ भने तक्षशिला पाकिस्तानमा । नालान्दा र तक्षशिला विश्वविद्यालय दुवै हिन्दु तथा बौद्ध दर्शन र विज्ञानको केन्द्र थयो । विश्व प्रसिद्ध प्राचीन बौद्ध दर्शन अध्ययनको केन्द्र नालान्दमा १०,००० विद्यार्थीहरु अध्ययन गर्थे जहाँ २००० शिक्षक थिए । त्यसबेला नालान्दामा अध्ययन गरिएन भने शिक्षा अधुरो मानिन्थ्यो । ईतिहास भन्छ नालान्दा तीन तीन पटक आक्रमण भयो र त्यहाँ रहेको विशाल पुस्ताकालय जलाईयो । तक्षशिला विश्वविद्यालय जहाँ चाणक्यले पढाउँथे, लुट र आक्रमणको चपेटामा परेर नष्ट भयो ।

कयौं ग्रन्थहरु चोरियो, जलाइयो जुन आज अप्राप्य छन् । ती हराईएका ग्रन्थहरुबारे कतै कतै उल्लेख गरिएको बाहेक केही भेटिदैन ।

नेपालको काठमाण्डौमा पनि सन् १३४६ मा बंगालका मुसलमान शासक समसुद्दिनले आक्रमण गरेका थिए । उनले उपत्यकाका कयौं मन्दिर र बौद्ध बिहारमा लुटपाट गरेका थिए । इतिहासको अध्ययन गर्ने हो भने पूर्वीय सभ्यतामाथि बारम्बार क्षति पुर्याउने यस्ता घटनाहरु प्रशस्त फेला पर्नेछ । आजपनि भारतवर्षमा खगोलिय अध्ययनको केन्द्र मानिने वेधशालाका अवशेषहरु भेटिन्छन् ।

पूर्वीय दर्शन र विज्ञानलाई बाह्य आक्रमणभन्दा पनि हाम्रो उदासिनताले बढि क्षति पुगेको हो । अध्यात्मिक पाटोको जगेर्ना भए पनि वैदिक विज्ञान भने लगभग नष्ट भयो । त्यसैले वैदिककालिन विज्ञानको परमपरालाई जोडर पुरानो विरासतलाई पुनःस्थापित गर्न पुनर्जागरणको आवश्यकता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय