काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिँदैछन् । देउवाले जारी संसद्को बैठकमा विश्वासको मत लिन लागेका हुन् । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता भए पनि आजै लिने तयारी गरेका हुन् ।

उनले विश्वासको मत लिनका लागि प्रस्तावको पक्षमा १३६ मत आवश्यक पर्छ त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन् । कांग्रेसका दुईजना सांसद निलम्बित अवस्थामा छन् ।

विजयकुमार गच्छदार र अफ्ताव आलमले मत दिन पाउने छैनन् । तर कायम संख्यामा भने उनीहरुको गणना हुनेछ । त्यसैगरी नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चारजना बर्खास्तमा परेका छन् । उनीहरु अहिले सांसद पदमा छैनन् ।

स्वतन्त्ररुपमा जितेका एक सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउनेछन् । जनता समाजवादी पार्टीका जम्मा ३२ सांसद रहेका छन् । ३४ मध्ये दुईजना निलम्बित छन् । रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन् । यसअघि ३२ मध्ये १९ सांसदले मत दिने निर्णय गरेको भए पनि महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि देउवालाई मत दिने तयारी गरेका छन् ।

सो समूहमा रहेका सांसद उमाशंकर अगररियाका अनुसार पक्षमा मतदान गर्ने निर्णय भएको छ । माधवकुमार नेपाल समूहमा रहेका २३ सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा मतदान गर्नुपर्ने निष्कर्ष निकालेका छन् । संसद्मा तत्काल कायम संख्या २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय