नुवाकोट । नुवाकोटको सबैभन्दा ठूलो पर्यटकिय गन्तव्य ‘नुवाकोट दरबार’ २०७२ सालको भुकम्पले थलापरेको छ ।

अहिले दरबार क्षेत्र जाने पर्यटकको संख्या अत्यन्त न्यून रहेको यहाँ सुरक्षामा खटिएका सुरक्षाकर्मी बताउँछन् । दरबारको पुनर्निर्माणको काम अगाडि बढाइएको छ । तर, कोभिड १९ को संक्रमणपछि यहाँ कामदार छैनन् । स्थानीयवासीका अनुसार यहाँ चिनियाँ कामदारले काम गरिरहेका थिए । कोरोना संक्रमण बढ्न थालेपछि उनिहरु गएका हुन् । ‘चीनबाट आएका कामदारले दरबारलाई फलामको टेको लगाएर काम गर्दै थिए । कोरोना लागेपछि उनिहरु गए । अब फागुनमा आउने भन्ने सुनेका छौं’, स्थानीयवासीले भने ।

भुकम्पपछि दरबार क्षेत्रमा पर्यटकिय गतिविधि कम भएपनि निजी क्षेत्रको पहलमा नयाँ सुविधा सम्पन्न होटल र रेष्टुरेन्टसहितको जिपलाइन निर्माण भएको छ । स्थानीय युवा उद्यमीहरुको संयुक्त लगानीमा तयार भएको नयाँ जिपलाइन निर्माणमा ३ करोड ५० लाख रुपैयाँ खर्च भएको लगानीकर्ता मध्यको एक संजिव राईले बताए ।

उनका अनुसार जिपलाइन बाहेको अन्य पूर्वाधार धमाधम निर्माण भइरहेको छ । त्यसमा कति खर्च लाग्छ अहिले एकिन भइसकेको छैन । यहाँ एड्भेञ्चर पिङ, स्वीमिङ पुल, आकर्षक सुविधा सहितको १० रुम, ठूलो खाली भाग र विभिन्न फोटोसेसन एरिया निर्माण भइरहेका छन् । अहिले जिपलाइन, रेष्टुरेन्ट जस्ता संरचना संचालनमा आइसकेका छन् भने होटल, पिङ जस्ता संरचना निर्माणको अन्तिम चरण पुगेको छ । अहिले गएर जिपलाइन चढ्नेले २ हजार रुपैयाँ तिर्नु पर्ने छ । १३ सय मिटर लामो जिपलाइनको टप स्पीड १२० किलोमिटर प्रतिघन्टाको रहेको छ ।

जिपलाइनमा यात्रा गर्दा दरबार क्षेत्रको भ्यूको अनुभव समेत गर्न सकिने छ । यसअघि दरबार घुमेर राम्रो होटलको खोजीमा त्रिशुली वा बट्टार धाउनु पर्ने अवस्था थियो । नयाँ रिसोर्टले मनोरञ्जनको लागि जाने जो कोहिलाई लोभ्याउने निश्चित छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय