सुवास न्यौपाने-सदियौँ देखि हरेक वर्ष श्रावण महिनाको एक गते अर्थात कर्कट संक्रान्तिको दिन नेपालीहरुले अन्य विविध कर्महरुसङ्गै लुतो फालेर श्रावण संक्रान्ती मनाउँदै आइरहेका छन । सुर्यका दुई वटा अयनहरुमध्ये उत्तरायण सकिएर दक्षिणायन प्रारम्भ हुने अनि गृष्म ऋतु समाप्त भइ बर्षाको आरम्भ हुने यो दिन धार्मिक अलावा सामाजिक र साँस्कृतिक दुबै अर्थमा पनि विशेष दिन हो ।

आज को जस्तो आधुनिक चिकित्साविग्यानको विकास भइनसकेको त्यो परिप्रेक्ष्यमा आफ्नो घरआँगन अनि बनपाखा का औषधिजन्य जडिबुटी प्रयोग गरि स्वस्थ रहने चेत पलाउनु र सोअनुरुप अभ्यास गर्नु अवश्यमेव वैग्यानिक र सरहानिय हो ।
लुतो फाल्ने प्रथाको गरिमा आजको यो समकालीन समाजमा बसेर आँकलन गर्न सकिँदैन । आज निद्रा लाग्दा खाने देखि भोक नलाग्दा पिउने सम्मका औसधी हरु आफुले चाहेको आकार र प्रकारमा यत्रतत्र पाउन सकिन्छ ।

हुनेखाने देखि हुँदाखाने सम्मको लागि गोजिको तौलअनुसारको स्वास्थ्य संस्था पाउन पनि त्यति गार्हो छैन त्यसैले लाग्न सक्छ झारपात डढाएर, अनि अगुल्टो फालेर, शंख फुकेर अनि नाङलो ठटाएर के रोग लाग्दैन ? के लुतो लोप हुन्छ त ? के स्वस्थ भैएला त ? । अत धेरैले तर्क गर्छन औँला उठाउँछन दसि र प्रमाण माग्छन तथ्य खोज्छन अनि टिप्पणी गर्छन “लुतो पनि फालेर फालिन्छ र” ? ठिकै हो । अनि यो नेपालि समाज जतिकै पुरानो इतिहास भएको प्रमाणिक र बैग्यानिक प्रक्रियालाई अन्धविश्वास कुरिति र रुढिवादिको अप्रिय आरोप लाग्छ । न आरोप गर्नेलाई बुझ्ने फुर्सद छ न अरु कसैलाई तथ्यगत वचाउ गर्ने जाँगर ।

झनै यि र यस्ता प्राचिन सम्पदा संस्कृतिको वचाउ गर्ने हो भने आफैँलाई पुरानो पाराको मान्छे या पाखेको बिल्ला नलाग्ला भन्न सकिदैन ।
“लुतो फाल्ने हो र उपचार गर्ने हो नि” धेरैको यहि ओठे जबाफ आउँछ । हुन त गोठमा गौमाता पाल्ने पाखे हुन्छ, साथमा कुकुर सुताएर सडकमा आचि गराउने सभ्य ठहरिन्छ । दौरा सुरुवाल नराम्रो लाग्छ, जाँघ फट्याउन नमिल्ने पत्लुङ फेसनेबल हुन्छ । मातापिता बोझ हुन्छन । पन्चामृत खान घिन लाग्छ, घरको तुलसि र सालिग्राम बेकाम लाग्छन, अनि प्लास्टिकको कृस्मस ट्रि प्रिय लाग्छ ।

धोति फेरेर खाना खाने, औसानि हाल्ने, पुजापाठ गर्ने अनि शास्त्रार्थ गर्ने ढोँगि देखीन्छन भने सुट लगाउने र अँग्रेजि बोल्ने सर्वग्य ठहरिन्छन । गोराको धर्म भएकै आधारमा परधर्म प्यारो हुन्छ । यि त बेथिति र पलायनका केहि नमुना मात्रै हुन । साना देखि ठुला सम्म अशिक्षित देखी अल्प र पुर्ण ग्यानि सम्म सबैमा आफ्नो मौलिकता विर्सिने र आयातित लाई अँगाल्ने यो गजबको नसा चढेको बेला आफनो माटो भाषा धर्म संस्कृति रितिरिवाज मुल्य मान्यता र सम्पदा प्रति चासो र चिन्ता नहुनु कदापि नौलो होइन । ४०/५० वर्षे पुस्ताले त आफ्नो अमुल्य निधी लाई लत्याइसक्यो भने त्यस पछाडिका पिंढिहरुको त के कुरा ? त्यसैले नबुझ्ने भन्दा बुझ्न नचाहने र आधुनिक बन्ने नाउँमा बेतुकमा अनर्गल उपहास र तिरस्कार गर्नेहरु धेरै छन ।

तर के तपाई हामि कसैले पनि सोचेका छौँ उपचार र औषधिको अभाव भएको त्यो समयमा नेपाल जस्तो अविकसित देशको दुरदराजका दुखि विपन्न हरुको जिवनमा यि र यस्ता परम्पराले कति सकारात्मक प्रभाव पारेको थियो होला । अरु केहि जादु नगरेपनि कम्तिमा ति बेसहाराहरुको आत्मबल त बढाएको थियो होला नि हैन र ?
लुतो फाल्ने प्रथाको सुरुवात गर्ने समाज कृषिमा आधारित थियो । आषाढ श्रावणमा बाआमा बिते पनि घुमले छोपेर काम गर्नु पर्छ भन्ने उक्तिले बर्षायामको ब्यस्तता सजिलै आँकलन गर्न सकिन्छ । महिनौँसम्म पानीमा रुझेर रातसाँझ, घाम पानी, हुरि बतास, नभनि हिलो माटोमा काम गर्दा हात गोडामा हिलोले खाएर घाउ हुन्थ्यो ।

उपचारको उचित प्रबन्ध नभएकाले दाद, खटिरा, ढुसि, लुतो र अन्य फोहोर पानीबाट सर्न सक्ने मौसमि सरुवा रोगहरुको प्रकोपबाट आफु आफनो परिवार र सम्पुर्ण मानव समाज लाई जोगाउन लामो अध्ययन र अनुसन्धान पश्चात पत्ता लागेका आयुर्वेदमा समेत अत्यधिक प्रयोग हुने बहु उपयोगि जडिबुटिहरु #धसिङ्गरे #पानीसरो #देबिसरो #लुतेसरो #कुरिलो #हाडेउन्यु #धोतिपाते(सिरु हैन है) #गलिने #भलायो #कुकुरडाइनो # आदि जम्मा पारेर #मकैको सिङ्गै बोट #भगटे #अम्बा नासपाति आदि फलफुल जोहो गरेर खामा बला आदिले सानो #गोठ जस्तो बनाएर #फुरौला पकाएर बिधिबत तरिकाले कान्डारक राक्षसको पुजा आजा सहित जडिबुटि बालेर आगो ताप्ने, अनि #अगुल्टो सल्काएर #लुतो लैजा भन्दै फाल्ने, नाङलो ठटाउने, शंख फुक्ने, घन्टि बजाउने, घरको ढोका बन्द गरि जडिबुटिहरु बालि आएको सुगन्धद्वारा घरलाइ सुद्द गर्ने र तातो मिठो पकाएर खाने प्रचलन आजको सिद्द वैग।यानिक प्रयोग भन्दा केहि कम छैन । #भलै यो परम्पराले लुतो त फाल्न सक्थेन होला तर स्वास्थ्य प्रतिको हाम्रो लगाब र संबेदनसिलता लाई जरुर ब्यक्त गर्थ्यो भने रोग बिरुद्द लड्ने दृढ आत्म बिस्वासलाई पक्कै उर्जा दिन्थ्यो ।

यो नयाँ भनिएको पुस्ता नाम मात्रैको नयाँ हो न केहि नयाँ (बाजा गाजा भेषभुषा जात्रा मेला पर्व) को सुरुवात गर्न सक्यो न पुरानो लाई निरन्तरता दिन । पिता पुर्खाले खाए बेगर खान जानेको छैन, लाए बेगर लाउन जानेको छैन । सक्छन नयाँ बिउ बिजन निकालुन, नयाँ पोषाक बनाउन, नयाँ बाजा गाजा निर्माण गरुन, मन्दिर पाटि पौवा तयार गरुन, जडिबुटि खोजुन, पत्ता लगाउन, नयाँ लिपि र भाषाको विकास गरुन । गरेको केहि छैन, नापेको केहि हैन ।

अझै पुर्खाको अमुल्य निधिलाई अन्धविश्वासको नाम दिएर मेट्न उद्दत छ । लुतो फाल्ने, बाहिरबाट घर प्रवेश गर्दा हात धुने, गहुत खाने, हवन गर्ने, बनस्पतिहरु जोगाउने, कुशको आसनमा बस्ने, मलामि गएर आएपछि नुहाउने, कृयापुत्रिलाई नछुने, एकै गोत्रमा बिहे नगर्ने, चरु र घ्यु हवन गर्ने, आदि हाम्रा अभ्यासहरु हाम्रो वेद र पुराण जस्तो आजसम्मको संसारकै वैग्यानिक कृतिजस्तै अमुल्य निधी हुन यिनिहरुलाई समयसापेक्ष परिमार्जन र प्रचारप्रसार गर्दै संरक्षण गरौँ यसैमा हाम्रो कल्याण हुनेछ । यि परम वैग्यानिक प्रथा हुन अन्धविश्वास हैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय