१ साउन,नुवाकोट, साउन, वर्षाको महिना, वर्षभरीमा अत्यधिक पानी पर्ने महिना पनि मानिन्छ, साउनलाई । खेत हराभरा बनाएर रोपिएको धानको रोपो यतिबेलै हरियो बन्ने हो।

साउनको महिमा यतिमै सीमित छैन । महिलाहरूको गला र हातमा झुप्प हरिया, पहेंला पोते र चुराले साउनलाई अन्य महिनाभन्दा विशेष बनाएको छ । महिलाहरूका लागि यस महिनालाई सौन्दर्य विशेष नै मानिन्छ । सिंगारपटारमा खुलेका महिला साउनका हरेक सोमबार ब्रत बसेर भगवान् शिवको पूजा आराधनामा रमाउँछन् ।

केदारनाथको शिर मानिने भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव, काठमाडौंको पशुपतिनाथ, ललितपुरको शिव मन्दिर, भक्तपुरको दत्तात्रेय, काभ्रेका मठमन्दिरहरूमा साउने सोमबारमा भक्तजनको भीड लाग्ने गर्छ । धरानको पिण्डेश्वर महादेव मन्दिरमा पनि यस्तै भीड लागेको हुन्छ । तरयो वर्ष भने कोरोना कहरयथावतनै रहेकोले चहलपहल निकै काम छ।

महादेवको विशेष महिना –चराचर जगतका स्वामी मान्छन्, हिन्दु धर्मावलम्बीले महादेवलाई । देवादी देव महादेव हिन्दु धर्मावलम्बीका आस्थापुञ्ज हुन् ।पौराणिक कालमा देवता र दानवहरू मिलेर गरेको समुद्र मन्थन पनि साउनमै भएको विश्वास रहिआएको छ । त्यसक्रममा निस्किएको कालकुट विष भगवान् शिवले नै सेवन गरेका थिए । विषका कारण घाँटी निलो भएकाले उनलाई नीलकण्ठ नामबाट पनि हिन्दु धर्मावलम्बीले चिन्ने गर्छन् ।

कालकुट विषको डाह शान्त पार्न उनी रसुवामा पर्ने गोसाईंकुण्ड आएको धार्मिक विश्वास छ । गोसाईंकुण्डमा आएपछि देवगणले जल अभिषेक गरेर भगवान् शिवको पीडा शान्त बनाएको विश्वास गरिन्छ । यस कारण पनि साउनमा शिवलिंगलाई जलाभिषेक गर्ने गरिएको हो ।

किन लगाइन्छ हरियो चुरा र पहेंलो रंग ?–बर्खे खेती लगाइएको क्षेत्र साउनमा हराभरा हुने गर्छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगका अनुसार हरियो भगवान् शिवको मनपर्ने रंग हो । हरियोले जीवनको संकेत पनि गर्छ । रूख, बिरूवाको हरियालीका कारण प्रकृति पनि हरित हुने र प्रेमको प्रतीक पनि मानिन्छ, हरियोलाई । पहेलो रंग पवित्रताको संकेत मानिन्छ । रातो रंग भने सौभाग्यको प्रतीक मानिन्छ । सोही कारण महिलाहरू हरिया, पहेंला र राता पोशाक र पोतेमा सजिन्छन् । बजारमा रातो, हरियो र पहेंलो तीनैथरी रंग मिसिएका पोते छ्याप्छ्याप्ति भेटिन्छन् ।

कुन–कुन खानेकुरा निषेधित ?-विशेषतः माछा, मासु र अण्डा महिनाभरि नै बार्ने चलन छ । कोही भने लसुन, प्याज पनि खाँदैनन् । ब्रतको समापन कर्कलो खाएर गरिन्छ । विवाहित महिलाहरू श्रीमान्को दीर्घायु र परिवारमा सुख, समृद्धिका लागि ब्रत बस्ने गर्छन् । अविवाहित महिला भने शिवजस्तै श्रीमान् प्राप्त हुन् भनेर ब्रत गर्छन् ।

शिवरात्रिपछि भगवान् शिवलाई प्रशन्न पार्ने योग्य समय मानिन्छ, साउने सोमबार । तर, साउने सोमबारको ब्रत पुरुषहरू पनि बस्ने गरेका छन् । महिलाको तुलनामा उनीहरूको संख्या कम हुने गर्छ।
वृद्धादेखि बालिकासम्मले हातमा मेहन्दी र छनछन बज्ने चुरा लगाएका हुन्छन्। तर, आजकल पहिलेजस्तो भक्तिभाव र ब्रत बस्ने चलन कम हुँदै गएको गुनासो सुन्न पाइन्छ । ब्रत पनि धार्मिक आस्थाभन्दा फेसनजस्तो देखिन थालेको मत धेरैको छ ।

गेरु बस्त्रधारी भक्तजनहरूले तलाउ या नदीमा पुगेर जल ल्याई शिवलिंगमा अभिषेक गर्ने गर्छन् । शिवलिंगलाई महादेवको प्रतीक मानिन्छ । धेरैमा शिवलिंग महादेवको जननेन्द्रिय रहेको अन्धविश्वास पाइन्छ । तर, वास्तविकता फरक छ।

संस्कृतमा लिंगको अर्थ हुन्छ, प्रतीक, चिन्ह या निशान । त्यसैले शिवलिंग भगवान् शिवको प्रतीक हो । निराकार मानिने भगवान् शिवको प्रतीकका रूपमा ऋषिमुिनहरूले उक्त प्रतीकको पूजा अर्चना गर्ने चलन बसाएका हुन् । स्कन्ध पुराणका अनुसार पौराणिक कालमा ऋषिमुनिहरूले बत्तीमा केन्द्रित भएर ध्यान गर्ने गर्थे । तर, हावा चल्दा बत्ती स्थिर नहुने गरेकाले ध्यान एकाग्र हुँदैनथ्यो ।

त्यसपछि ऋषिमुनिहरूले दीप आकारको शिवलिंग बनाए । र, त्यसैमा केन्द्रित भएर ध्यान गर्न थाले । शिवलिंगको पूजा गर्ने चलन त्यतिबेलैदेखि शुरु भएको स्कन्ध पुराणमा वर्णित् छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय