प्यारो लेखनले समस्त युगको आधार चुम्दै हिँड्यौ
भाषा-भाष्कर सिर्जना कुसुममा संसार घुम्दै हिँड्यौ ।
कस्तो काव्य रच्यौ अहो ! सरसिलो शिक्षा वधूमा दियौ
भाषाको उपकार निम्ति जिउने मान्छे तिमी नै थियौ ।।१

तिम्रो काव्य छचल्किँदो छ कविता आस्वादिला व्यञ्जन
तिम्रै श्लोक सुसाउँंछन् सगरका नौलाख तारागण ।
आफ्नै मौलिकता बुनी कलममा खेल्थे नि कादम्बरी
तिम्रा दीप्ति प्रदीप्त छन् भुवनमा कैल्यै ननिभ्ने गरी ।।२

तिम्रा सिर्जनशिल्प थ्यो जनमुखी लठ्ठै हुने खालका
सुन्थे मोहित भै सबै जनहरू वृद्धा-युवा-बालक ।
त्यो रामायण रामको प्रियकथा , वाणी बन्यो उर्वर
हे रामायणकार दिव्य रचना भाषा दियौ सुन्दर ।।३

” एक् दिन् नारद सत्यलोक् पुगि गया लोक् को गरूँ हित् भनी ”
” ब्रह्मा ताहिँ थिया पर्या चरणमा खूसी गराया पनि । ”
यस्ता शब्द रची गयौ रहरिला चैतन्यको लेखनी
तिम्रै रोगन कल्कलाउँछ यहीँ भञ्ज्याङ छायामनि ।।४

नेपाली जनका समस्त घरमा गुञ्जिन्छ रामायण
पूर्णेको जुन झैँ सदैव जगमा चम्किन्छ रामायण ।
तिम्रो उज्ज्वलता निहार्छ दुनियाँ सर्वोच्च शृङ्गारमा
तिम्रै काव्य सुनाउँछे वनचरी माधुर्य झंकारमा ।। ५

भाषा-भक्ति विनोदपूर्ण रचना जीवन्त लाग्ने स्वर
नेपाली लहरा-लता-कुसुममा बग्थे बनी सागर ।
हुन्छिन् नित्य धरा कृतार्थ सुतले पाएर सञ्जीवनी
तिम्रो कीर्ति सदैव बढ्छ महिमा मैले नलेखे पनि ।।६

कविता -“सम्झनामा भानु” -रोशन अर्याल, रसुवा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय