-रामेश्वर धिताल

सरकार र पार्टीको नेतृत्व विवादकै कारण नेकपा सग्लो पार्टी रहेन । विवादका कारण नेकपा फुटेन मात्र, त्यो फुटले साविकको एमाले पनि फक्लक्कै चिरियो । फलस्वरुप दुइतिहाइको बहुमत पाएका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला काम चलाउमा सिमित भएको छ । फेरी जोड्नका लागि भएका पहलहरुले अझै पूर्णता पाएका छैनन् ।

यो दृष्टान्त पार्टीको १४ औँ महाधिवशन र नेतृत्व चयनका विषयमा रस्साकस्सी थालेको नेपाली काँग्रसलाई काफी हुनुपर्ने हो । तर, नेपालका सबैजसो दलका नेतृत्व सम्हालेकाहरु जीउ रहेसम्म नेतृत्व हस्तान्तरणका पक्षमा देखिँदैनन् । यो रोग नेपाली काँग्रेसमा पनि नराम्रोसँग गाँजिएको छ । एकाथरी काँग्रेस समर्थकहरु नेतृत्व परिवर्तनका पक्षमा छन् । महामन्त्री डा।

शशांक कोइराला, उपसभापति बिमलेन्द्र निधि र पूर्वमहान्त्री प्रकाशमान सिंह पार्टीको महाधिवेशनसम्म सहकार्य गर्ने समझदारीमा अघि बढीरहेका छन् । यो सहकार्यले कुन दिशा लिन्छ हेर्न बाँकी नै छ । उता वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पटक सभापति हुने इच्छा व्यक्त गरिरहेका छन् । हालसम्म पार्टी र सरकार दुवैको नेतृत्वको अवसर नपाएर सदैव ‘बिचरा’ बनेका पौडेल यतिबेला आफू पक्षधर नेताहरुलाई सहयोग गर्न अनुरोध गर्न थालेका छन् । उनी भन्दैछन्, शसक्त, ‘गतिशील र भरोसायुक्त काँग्रेस बनाउने मेरो लक्ष्य हो ।’

तर, पटक पटक सरकार र पार्टी दुवैको नेतृत्व सम्हालेका सभापति देउवा नेतृत्व हस्तान्तरणको पक्षमा देखिँदैनन् । पार्टीले नयाँ नेतृत्व पाउन एउटाको देहावशान नै कुर्नुपर्ने तितो यथार्थ इतिहास देखी वर्तमानसम्म पाइलैपिच्छे भेटिन्छ । पार्टी सभापति गिरिजाप्रसाद कोइराला हुँदा नेतृत्वकै लागि पार्टी समेत फुटाएका देउवालाई ज्ञात हुनुपर्ने हो कि त्यो दुर्घटना आफ्नै कारण फेरी निम्तिन सक्छ ।

नेतृत्वको हानथापमा सिंगो पार्टी नै संकटमा पर्नु भनेको आफै बसेको हाँगा काट्नु सरह हुन जान्छ । विश्लेषक कनकमणी दिक्षित सामाजिक सञ्जाल ट्वीटरमा लेख्छन्, ‘पछिल्लो तीन दशक पार्टी, सत्ता र राज्य सत्तामा उही १०÷१५ जनाको कब्जा छ । शेरबहादुर जी २०५२ सालमा प्रधानमन्त्री बनेका बेला जन्मेको मान्छे ३० वर्षका भइसके । तीन दशक यता उही टिम, उही नेतृत्व । काँग्रेस नेतृत्वले राजनीतिलाई पेशा बनाए, जागीर बनाए ।’

काँग्रेसको राजनीतिलाई टिप्पणी गर्दै विश्लेषक पुरन्जन आचार्य लेख्छन्, ‘काँग्रेसको चौधौँ महाधिवेशन आउँदैछ । के यो महाधिवेशनसम्म आइपुग्दा काँग्रेसमा वैचारिक स्पष्टता आयो त ? म त देख्दिन । काँग्रेस फेरि पनि पुरानै सोचमा, विचारमा छ । नयाँ थपिएको छ भने त्यो कोभिड १९ महामारी हो ।’उनी अगाडी लेख्छन्, ‘काँग्रेसमा माथीबाट अधिकार र निर्देशन दिने तथा तलकाले पालना गर्ने अभ्यासलाई १४ औँ महाधिवेशनमा चुनौती दिन सक्नुपर्छ । काँग्रेस नयाँ हुने हो भने चुनाव जित्न कम्युनिष्ट पार्टी फुट्नै पर्दैन ।’

हो, राजनीतिमा फुटाउ र राज गरको सिद्धान्त लागू भइरहन्छ । त्यो नौलो विषय होइन । तर, आफू सच्चिने हो भने जनमत लिन अरुलाई फुटाइरहनै पर्दैन । तर, यतिबेला काँग्रेसमा देखिएको नेतृत्वको दौडधुपलाई हेर्न हो भने नीति भन्दा पनि नेतृत्व परिवर्तनमा केन्द्रित भएको देखिन्छ । गुटगत रुपमा कार्यकर्तामाझ लोकप्रिय नेतृत्व अहिलेको आवश्यकता होइन । यतिबेला काँग्रेसलाई जनतामाझ लोकप्रिय युवा नेतृत्वको खाँचो छ । यो अवस्थामा आफू पछि हटिदिँदा पार्टीलाई फाइदा हुन्छ भने देउवाले त्यो त्याग गर्न सक्नु पर्छ ।

यसबाट पार्टीमा देउवाको उचाई घट्दैन बरु बढ्छ । तर, अझै नेतृत्वको लालसा राख्नु भने देउवाका लागि घाटाको सौदा सावित हुनसक्छ । काँग्रेसमा मात्र होइन सवै पार्टीमा पुराना पुस्ताका नेताहरुले विश्राम लिन जरुरी छ । र यसको सुरुआत काँग्रेसले गर्ने सहास गर्न सक्नुपर्छ । राज्यले निश्चित उमेर पार गरेपछि राष्ट्रसेवक कर्मचारीलाई अवकास दिन्छ । वृद्ध नेताहरुले पनि अव अवकास लिनुपर्छ । बरु उनिहरुले नयाँ पुस्तालाई मार्गनिर्देशन दिँदै अघि बढाउन सक्छन् ।

होे मुलुकको राजनीतिक परिवर्तनमा पुराना पुस्ताले ठूलो त्याग गरेको छ । त्यो त्यागको जस इतिहासले उनीहरुकै पोल्टामा हालिदिएको छ । तर, त्याग गरेको छ भन्दैमा पार्टीको बागडोर आफैँ मुठ्याइरहने हो भने न पार्टी सच्चिन्छ न मुलुकको विकास नै हुन्छ । पार्टीलाई एक ढिक्का बनाइराख्न नसक्नु, प्रमुख पतिपक्ष भएर पनि काँग्रेस प्रभावहिन देखिनुले सभापति देउवालाई असफल सिद्ध गर्छ । काँग्रेस सभापति देउवालाई खुला पत्रमा विवेकशिल साझा पार्टीका संयोजक मिलन पाण्डे लेख्छन्, ‘देशलाई चाँडो विकास गर्ने हो भने अव नेतृत्व युवाले गर्नुपर्छ । त्यसैले अव पार्टी गगनहरुलाई, विश्वप्रकाशहरुलाई, प्रदिप पौडेलहरुलाई सुम्पिदिनोस् । सत्ताले शक्ति मात्र दिँदैन ।

त्यागको चमक झन जाज्वल्यमान हुन्छ ।’प्रजातन्त्रको स्थापना पछि मुलुकमा थुप्रै व्यवस्था फेरियो । तर, विकास विहिन राजनीतिमा कुनै बदलाव आएन । यसमा पहिलो पुस्ता मात्र होइन दोस्रो पुस्ता पनि त्यसको हिस्सेदार हो । त्यसैले जिर्ण बाजे नेतृत्व, त्यसैको छत्रछायाँमा हुकिएको दोस्रो पुस्ताबाट पनि खासै अपेक्षा गर्न सक्ने आधार छैन । त्यसैले काँग्रेसले अवको नेतृत्व नाती पुस्तामा हस्तान्तरण गर्ने सहास गर्न सक्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय