खड्ग प्रसाद ओली भनिने व्यक्ति यस लेखको चासोको विषय होईन । यस लेखको चासोको विषय हो ( सत्ताद्वारा अभिव्यक्त ओलीप्रवृति । आफूनिकट गुटद्वारा स्वप्नद्रष्टाको पदवी पाएका ओलीलाई विपक्षीहरुले तानाशाहको संज्ञा दिएका छन् । के ओली तानाशाह हुन् ? तानाशाह हुन् भने तानाशाहहरुको मनोविज्ञान कस्तो हुन्छ ? के ओलीमा ईतिहासले जन्माएका तानाशाहहरुको प्रवृति पुनवृति भएकै हो ? ओली तानाशाह हुन् वा होईनन् निष्कर्ष निकाल्ने जिम्मा पाठकलाई सुम्पिदै म तानाशाही मनोग्रन्थीको चिरफार गर्ने अनुमति चाहन्छु ।

नार्सिस्टिक पर्सनालिटी डिस्अर्डर
यूनानी मिथकमा एउटा पात्र छ-नार्सिसस । एकदिन उसले तलाउमा आफ्नो प्रतिविम्ब देख्छ । र, आफ्नो रुपमा यति मोहित हुन्छ कि हेर्दा हेर्दै उ त्यही तलाउमा डुबेर मर्छ । तिनै नार्सिससको नामबाट चिनिने एउटा मनोरोग छ, जसलाई ‘नार्सिस्टिक पर्सनालिटी डिस्अर्डर’ भनिन्छ । तानाशाहरु नार्सिस्ट हुन्छन् ।

नार्सिस्टहरुले सधै आफूलाई मात्र राम्रो र सहि देख्छन् । अरुबाट हुन सक्ने आलोचनाबाट डराउँछन्। उनीहरुको अहम् लाई नार्सिस्ट सप्लाई चाहिन्छ । त्यसको आपूर्ति गर्न नार्सिस्टहरु सामान्य मानिसलाई यूज एण्ड थ्रो गर्नेदेखि लिएर अनैतिक काम गर्न समेत पछि हट्दैनन् । उनीहरु आफूलाई केन्द्रमा राख्छन् । त्यसैले तानाशाहहरु राज्यका सबै अवयवहरुलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् ।

फरक मत लोकन्त्रको सौन्दर्य हो । एउटा लोकतान्त्रिक परिपाटीमा आलोचना हुनु स्वभाविक कुरा हो । तर नार्सिस्ट तानाशाहहरु आफ्नो स्तुतीमा रमाउँछन् । आलोचकप्रति आक्रमकरुपमा प्रस्तुत हुन्छन् । आफ्नो गल्ती देख्दैनन् र आत्मालोचना गर्दैनन् । भिन्न विचार राख्नेमाथि जाईलाग्छन् । तानाशाहहरुको ईतिहास हेरौं ।

जुन संसदको बलमा शक्ति आर्जन गरेका थिए, हिटलरले त्यही संसदलाई ध्वस्त गरे । लेनिनको मृत्युपश्चात् जुन कम्युनिष्ट पार्टीका प्रमुख बनेका थिए, स्टालिनले त्यहि पार्टीका १३९ जना केन्द्रीय सदस्यहरुमध्ये ९३ जनाको सफाया गरे । भनिन्छ, इदि अमिन आफ्ना विरोधीहरुको गिदी खान्थे । आखिर इतिहासले बारम्बार क्रुर तानाशाहहरु किन जन्माउँछरु
तानाशाहको भ्रूण
तानाशाहहरु अचानक जन्मिदैनन् । डिन ए हेककले ‘टिरानिकल् माईण्ड’ भन्ने पुस्तकमा तानाशाह र मनोविज्ञानको सम्बन्धलाई प्रष्ट्याएका छन् । हेककका अनुसार जोकोही निरङ्कुश शासक बन्न सक्दैन। निश्चित परिघटनाहरुको संगमबाट तानाशाहको जन्म हुन्छ।
पहिलो, तिनीहरु क्रूर व्यक्तित्व विकास गर्न सक्ने सम्भावनाका साथ जन्मेका हुन्छन् । नार्सिज्म जस्ता मनोरोग र असाधारण महत्वाकांक्षाको समायोजन हुन्छ ।

दोस्रो, विगतमा तिनीहरु शारीरिक वा मानसिक दुर्व्यवहार भोगेका हुन्छन् ।
अन्त्यमा, तिनीहरुको समयमा देश अस्थिर राजनीतिक व्यवस्थाबाट गुज्रिरहेको हुन्छ । यी घटनाहरुको संयोगबाट हिटलर, स्टालिन, सद्दाम हुसेन, गद्दाफीजस्ता तानाशाहहरुको उदय हुन्छ।
कल्ट अफ् पर्सनालिटी
कल्ट अफ पर्सनालिटी भनेको व्यक्तिपूजा वा स्तुतीवाद हो । सबै तानाशाहहरुमा आत्मपूजामा रमाउने प्रवृति पाईन्छ । आफ्नो शालिक बनाउन लगाउने, ठूला-ठूला तस्वीरलाई व्यापक प्रचार गर्ने, लेखकहरुलाई आफ्नो बखान गर्न लगाउँछन् । आफूलाई लोकप्रिय छु भनेर देखाउन खोज्छन् ।

जर्मनीका तानाशाह हिटलरले आफूलाई लोकप्रिय देखाउन सन् १९२७ मा आफ्नो समर्थनमा सात लाखको जुलुस निकालेका थिए । हिटलरले आफूलाई युरोपको नायक ठान्थे । मुसोलिनीले आफूलाई इटालीको सर्वोत्कृष्ट र सर्वशक्तिमान व्यक्ति ठान्थे । इदि अमिन आफूलाई स्कटल्याण्डका राजा ठान्थे ।

तानाशाहहरुको वरिपरि दासहरुको ठूलो समूह हुन्छ । तानशाहहरु राज्यका निकायहरुलाई आफ्ना आसेपासेहरु हुल्ने भर्तीकेन्द्र बनाउँछन् । आफूसँग फरक मत राख्नेहरुलाई शत्रु ठान्छन् । लेनिनले नेतृत्व गरुन्जेल कम्युनिष्ट पार्टीभित्र उनको कटु आलोचक ट्रटस्की पनि अटेकै थिए ।

कम्युनिष्टका अनुसार पार्टी विपरितहरुको एकत्व हो । तर तानाशाहहरु एकाधिकार चाहन्छन् । मस्तिष्कघातबाट लेनिनको मुत्यु भएपछि कम्युनिष्ट पार्टी र सत्ता आफ्नो हातमा लिएका स्टालिनले आफूसँग बिमति राख्ने आजीवन मार्क्सवादका निम्ति लडेका ट्रटस्कीलगायत सबै सहयोद्धाहरुको संहार गरे । राज्यशक्ति र गुप्तचर संयन्त्रको दुरुपयेग गर्दै सफाया अभियान नै चलाए । पार्टी शुद्धिकरण वैचारिक हुनु पर्थ्यो तर टाउको छिनालेर गरियो ।
गोयबल्स शैली
हिटलरका जना संचार मन्त्री थिए-गोयबल्स। उनी भन्थे, ‘एउटा झुटलाई हजार चोटी दोहोर्याएपछि सत्य लाग्न थाल्छ । झुटा प्रोपोगाण्डा गर्नु तानाशाहहरुको धर्मु हो ।’

सन् १९४० को कुरा हो, हिटलर एउटा समारोहमा आफ्नो भाषणलाई बिचमै रोकेर बाहिरिए । लगत्तै हिटलरको गोप्य योजना अनुसार परिसरमा बम बिष्फोट गराईयो । जसमा उनको आफ्नै नाजी पार्टीका कयौं कार्यकर्ताहरु मारिए । हिटलरले भने यो घटनालाई जर्मन जनताको सहानुभूति बटुल्ने साधन बनाए । उनले घटनाको यसरी व्याख्या गरे, “नियतिले मलाई बचायो । सायद इश्वरको यहि इच्छा छ कि म आफ्नो मिशनलाई पुरा गर्न सकुँ ।”

गोयबल्सले हिटलरलाई देवत्वकरण गर्दै उनले व्यक्त गरेको “नियतिले मलाई बचायो ” भन्ने भनाईलाई सैयौं चोटी आफु नियन्त्रित संचार माध्यममा प्रसारण गरे । आखिर हिटलर भगवान नै हुन् भन्ने भ्रम आममानिसमा पैदा भयो ।
दलाल पूँजीवादी चिन्तन
नेपालजस्तो कम विकसित देशहरुको सामाजार्थिक चरित्र दलाल पूँजीवाद हुने गर्छ । ती देशका तानशाहहरुको चिन्तन प्रणालीमा दलाल पूँजीवादको छाँया भेटिनु स्वभाविक हो। निमुखा वर्गको हितका बारेमा चर्को नाराबाजी गरे पनि राज्यसत्ता भने यिनीहरु पूँजीपतिसँग साझेदारी गर्छन् । प्रणालीको विकासमा पछौटेपना भएको देशमा तानाशाहहरु बढि मौलाउनुको कारण हो जनताहरु तानाशाहलाई सत्ताच्युत गर्न नसक्ने गरि निरीह हुनु । अवसर र भ्रष्टचारमा परिवारवाद हावी हुन्छ । अधिकांश तानाशाहहरुले देशको ढुकुटी दोहन गरेर विदेशमा अकुत सम्पति जम्मा गरेका हुन्छन् । सत्ताको दीर्घायुका लागि देशको स्रोतसाधन विदेशी प्रभुको चरणमा सुम्पिन्छन् ।
बोक्रे राष्ट्रवाद
जब जब तानाशाहहरु संकटमा पर्छन् आफ्ना कमजोरीबाट जनताको ध्यान डाइभर्ट गर्न उनीहरु राष्ट्रवादको ढोल पिट्छन् । हिटलरले पनि चर्कै राष्ट्रवादको नारा लगाएका थिए । राष्ट्रवादवाट शुरु भएको तानाशाहरुको यात्रा नश्लवादमा गएर टुङ्गिन्छ । भनिन्छ- हिटलरले ६० लाख यहुदीहरुको हत्या गरेका थिए । सद्दाम हुसेनले पनि अमेरिकी थिचोमिचो विरुद्धको लडाईबाट शुरु गरेर सिया र सुन्नीबीच विभेदका पर्खाल खडा गरेका थिए ।

एकल जाति र धर्मको भूमिमा तानाशाही मौलाउँछ । तानाशाहले कब्जा गरेको भूमिमा सयौं थरिका फूलहरु फुल्दैनन् । त्यसैले आफूलाई समाजवादी र कम्युनिष्ट भन्न रुचाउने तानाशाहहरुले नाश्लवादी राजनीति र धर्मको सहारा लिएको देखिन्छ । हिटलर र सद्दाम हुसेन यसका नमूना हुन् । अब ओली प्रवृतिको चर्चा गरौं ।
ओली प्रवृति १: आलोचनाको डर
ओली आलोचना मन पराउदैनन् । ओखली संसदीय बैठकमा एकाध बाहेक सहभागी भएनन् , बरु आफूलाई दुईतिहाई बहुमतले निर्वाचित गर्ने संसदलाई दुई दुई पटक विघटन गरे । एक पत्रकारले सोधेको प्रश्न ूसंसद विघटन गर्नु गलत थियो भन्ने लाग्दैन रुू को जवाफमा ओलीले भनेका थिए ( संसद विघटन गलत थियो भन्ने म सपनामा पनि सोच्दिन ।
तत्कालिन नेकपाको पार्टीका बैठकहरु छली रहे । उनी उपस्थित हुने कार्यक्रममा सहभागीलाई कालो मास्क र टिसर्ट लगाउन प्रतिबन्ध लगाए ।
ओली प्रवृति २: स्तुतीमा रमाउनु
पोल पोलमा ‘नयाँ युगको शुरुवात’ लेखिएको मुहारचित्र झुन्डयाएर सरकारी खर्चमा आफ्नो विज्ञापन गरे । जब संसद विघटनविरुद्ध विपक्षी र ओली इतर एमालेका नेताकार्यकर्ताहरु आन्दोलित भए, सत्तसीन ओलीले आफ्ना कार्यकर्ताहरुलाई सडकमा ूकेपी ओली, आई लभ यूू नारा लगाउन लगाए । आफ्ना ओलोचकहरुलाई अवसरबाट वञ्चित गर्न कुनै कसर बाँकी राखेनन् । फरक मत राखेका कारण उनकै पार्टीका नेता रकार्यकर्ताहरु ओलीद्वारा पेलिए ।

राज्यका हरेक निकायहरुमा केवल आफ्नो जयजयकार गर्नेहरुलाई भर्ती गरे । कम्युनिष्टहरु एकअर्कालाई कमरेड भनेर सम्बोधन गर्ने परम्परा छ । कमरेड भनेको साथी हो । तर ओलीले आफूलाई ‘बा’भन्न लगाए र बाँकीलाई विरोधी ठाने । ओली स्कुलिङमा हुर्केकाहरुमा पनि त्यही प्रवृति देखिन्छ । अक्सिजन सिलिन्डरमा मन्त्रीको फोटो टाँसेर वितरण गर्नु यसकै उदेकलाग्दो उदाहरण हो ।
ओली प्रवृति ३ः सत्ताका लागि सौदाबाजी
ओलीको सत्तालिप्सा डरलाग्दो छ । उनी आफ्नो सत्ता जोगाउन जे पनि गर्छन् । ‘नागरिकता चकलेट होइन’ भाषण ठोक्ने ओली सत्ता संकट टार्न नागरिकता अध्यादेश ल्याए । यस्ता उदाहरणहरु बग्रेल्ती छन् ।
ओली प्रवृति ४: झुटको खेती
ओली भन्छन्, ‘म भ्रष्टको अनुहार पनि हेर्दिन ।’ जगजाहेर छ- ओली सरकार भ्रष्टचारको मामिलामा नेपालको ईतिहासकै सबैभन्दा दुर्गन्धित सरकार हो । भ्रष्टचारविरुद्धको शून्य सहनशीलताको कम्बलभित्र संरिक्षत भ्रष्टचारीहरु मिडियाद्वारा नाङ्गिएकै छन् ।

मार्सी चामलको भात खाएर ओली भन्छन्यो, ‘जनताको सरकार हो, कोही भोको बस्नु पर्दैन ।’ तर लकडाउनमा खाना नपाएर मलर सदा र सूर्य बहादुर तामाङहरु भोकले मरे । सरकारको बेईज्जत भयो भनेर लकडाउनमा मजदूरलाई खुवाउने सामाजिक अभियन्ताहरुलाई लखेटियो । ओलीको बोली र व्यवहारबीच तालमेल देखिदैन । समाजिक सञ्जालमा ओलोचकहरुलाई प्रहार गर्न र ओलीको देवत्वकरण गर्न ‘साइबर सेना’ बनाए । ठट्यौलो ओलीको सुन्देै हाँसो उठ्ने कृत्य लोकतान्त्रिक संस्कार होईन ।
ओली प्रवृति ५: धोकाधडी
२०७५ जेठ २ मा ओली र प्रचण्डबीच समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्नेू लिखित सहमति भएको थियो । तर ओलीले प्रचण्डलाई सरकारको नेतृत्व गर्न दिने कुरै भएन । बरु उनले सरकारको नेतृत्वको सवालमा बोलेको कुरा दुनिया चकित पार्ने खालको छ । ओलीले भने, ‘यदि सरकारको नेतृत्व मैले गर्न नपाउने हो भने म कुर्सी कोही बस्न नसक्ने गरि भाँची दिन्छु ।’ नभन्दै दुई दुई पटक संसद विघटन गरेर आफ्नो नियत सावित गरि दिए । सायद त्यही भएर होला उनी सामाजिक सञ्जालमा ‘केपी माने किर्ते प्रसाद’ भनेर भाईरल भए ।

सामान्य कुटनीतिक मर्यादा विपरित र’अका एजेन्टलाई मध्यरातमा बालुवाटार बोलाएर भेट्नु, शक्ति पृथकिकरणलाई खल्बलाएर राज्यको शक्ति सन्तुलन बिगार्नु, काम चलाउ सरकारले मन्त्रीमण्डल विस्तार गर्नु आदि ओलीका यी कृत्यहरु संविधानविपरित छन् ।
अन्त्यमा

लेखको आरम्भमा तानाशाही मनोग्रन्थीको चिरफार गरेको छु । साथै जगजाहेर ओली प्रवृतिहरु प्रस्तुत गरेको छु । पंक्तिकारको अपेक्षा छ कि विवेकशील पाठकहरुले ओली वास्तवमा के हुन भन्ने निष्कर्ष आफै निकाल्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय