कविता -“म स्वास्नी बन्न सक्दिन”

तिमी निसास्सीएर ,
सिकार खोसिएको बाघले झैँ झम्टन्छौ ,
आफ्ना क्रुर पन्जाले मलाई चिथोर्छौ,
मेरो मुलायम छाती गिद्धले झैँ लुछ्छौ ,
लाखेका झैँ डरलाग्दो आँखाले हेर्छौ ,
सजिलै मेरो भावानाको निर्मम हत्या गर्छौ,
आफ्नो मनको सारा भोक मेट्छौ,
अनि
निर्विवेक मेरै निर्दोष मुटुमा
लात बजार्दै फर्कन्छौ ,
बस् …..
यत्ती सहनकै लागि,
म स्वास्नी बन्न सक्दिन ।

ज्यूँदो भएर पनि मैले
ज्यूँदो हुनुको पराकाष्ठा त्याग्नुपर्छ ,
आफैँलाई तिलान्जली दिएर बाँच्नुपर्छ,
तिमीलाई निर्विरोध जवानी पिलाएर,
हरपल मैले आँसुले तीर्खा मेट्नुपर्छ ,
यदि यस्तै-यस्तै नियत स्वीकार गर्दै,
तिम्रो आरामदायी बिछ्याउना मात्र
बनिदिनुपर्ने हो भने …..
भयो,
म स्वास्नी बन्न सक्दिन ।

शब्दकोषमा स्वास्नीको अर्थ सुवासिनी लेखिएजस्तै,
प्रेमले बोलिने प्रेमिका र शास्त्रमा मानिने अर्धाङ्गिनीजस्तै,
जिवनको आवश्यकता जीवनसाथी ,
तर..
जो साथै भएकाबाट पनि
पाउनुपर्ने सहारा मिल्दैन भने,
भो महासय,
तिम्रो कामुकता मेटाउन मात्र …
म स्वास्नी बन्न सक्दिन ।

हर कोही नारीको जिन्दगी तयारी चाउचाउ होइन
भोक लागेको बेला काँचै खान,
र होईन पनि बाँदरको सिरानी ….
निद पुर्याएर च्यात्ने फाल्ने ,
त्यसैले त ,
मलाई स्वयं म हुनुको अर्थ खोज्नुछ ,
भयो अब
खोक्रो तिम्रो देखावटी रक्षाशास्त्र आफैंसँगै राख ,
जर्जर समाजको सामन्ती बकपत्र सुन्नुछैन मलाई ,
निदाउनकै लागि स्लीपिङ ट्याब्लेट खानुपनि छैन,
मलाई त केबल,
निर्दयी मान्छेका बन्द आँखा खोलेर,
अन्धो धृतराष्ट्रलाई,
नारीभित्रकी आमा , प्रीया , छोरी चिनाउनु छ ,
प्रेम ,आफ्नोपन र मानवीयता पढाउनुछ ,
त्यसैले ….
माफ गर प्रीय
म कोही कसैको भोक र मृगतृष्णा मेटाउन मात्र
स्वास्नी बन्न सक्दिन ,
जरुर, म स्वास्नी बन्न सक्दिन।

– सुमित्रा सुमी, नुवाकोट ।

यो पनि पढ्नुहोस् 

आक्रन्दन कविता – सुमित्रा सुमि ( नुवाकोट )

कविता -“आक्रन्दन”

भोकाएको भ्रमर जसरी आइ डस्दो रहेछ ।
हान्दै लात्ती कुसुमदलमा दैत्य बस्दो रहेछ ।।
बोली मीठो तरपनि सयौं कैचि राख्ने गलामा ।
सोझी वृन्दा छलकपटले रित्तिई शृङ्खलामा ।। १

आगो बाल्दै हृदयतलमा नेत्र रातो गराई ।
हेर्दै बोल्दै कलुसित अहो ! चित्त मेरो दुखाई ।।
बोकी कालो मलजल गरी जिन्दगानी बिगारी।
के को शेखी मनुज यसरी च्यात्छ न्यानो सिरानी ।।२

पापी जाली गतिविधिहरू देख्छु भोग्दा अनेक ।
दुष्टै नै हो नियति उसको छैन कत्ती विवेक ।।
मान्छे नै हो तर किन कसो राक्षसी जो छ चाला ।
मेरो प्यारो धुकधुक लिई काँढि राख्दैछ छाला ।।३

फाटेका छन् प्रबल दिल यी दर्द मात्रै थुपारी ।
साथै राख्छौ भन कति अझै स्वार्थताको पुजारी ।।
मान्छे भित्रै किन किन यहाँ प्रेम भेट्नै छ गाह्रो ।
आत्मा रोयो निरस मनले चोट आफ्नै तगारो ।।४

मेरा प्यारा अब त अति भो दुष्टता फालिदेऊ ।
चुम्दै आशा समय सब यो पूर्णताले सजाऊ ।।
अग्ला तृष्णा अभय कटुता लौन छोडेर आऊ ।
ज्यूदो मान्छे विचलित भएँ ध्रुत चाला हटाऊ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय