असार २३, नुवाकोट ।
बुधबार विहानै देखी दुप्चेश्वर गाउँपालिकाको वडा नं. ६ स्थित समुन्द्रटार स्वास्थ्य चौकीमा फरक किसिमको चहलपहल थियो ।

स्वास्थ्य चौकीको आइसोलेशन भवनमा गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य, वडा नं. १ का अध्यक्ष सुनबहादुर तामाङ, आधार डेभलपमेण्ट नेपालका राष्ट्रिय निर्देशक प्रल्हाद ढकालको टोली र स्वास्थ्यकर्मी लगायतलाई भ्याइनभ्याई भइरहेको देखिन्थ्यो ।

यो दौडधुप दुप्चेश्वर गाउँपालिकामा १० बेडको सुविधासम्पन्न बालमैत्री आइसोलेशन वार्ड स्थापना गर्नका लागि भएको थियो । बालमैत्री आईसोलेशन वार्डका लागि आवश्यक बेड लगायत सम्पूर्ण चिकित्सा सामग्री (मेडिकल इक्विपमेण्ट) को सहयोग गाउँपालिकाको अनुरोधमा आधार डेभलपमेण्ट नेपालले गरेको हो ।

कोभिड १९ को आगामी भेरिएण्टले बालबालिकालाई बढी असर पार्न सक्ने देखिएका कारण बालमैत्री आइसोलेशन वार्ड सञ्चालनमा ल्याइएको दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यले बताइन् । सम्भवतः दुप्चेश्वरमा स्थापना गरिएको बालमैत्री आइशोलेशन देशभरका स्थानिय तहस्तरमा पहिलो हो ।

आधार डेभलपमेण्ट नेपालले आइसोलेशनका लागि आवश्यक चिकित्सा सामग्रीका साथै दुप्चेश्वर गाउँपालिका भरका ९१ जना महिला स्वास्थ्य स्वयम् सेविकाका लागि पीपीई सेट, अक्सिमिटर लगायत आवश्यक सेफ्टी किट समेत वितरण गरेको छ ।

खासगरेर गाउँघरमा अग्रपंतिमा खट्ने महिला स्वास्थ्य स्वयम् सेविकाहरुको सुरक्षा महत्वपूर्ण भएका कारण यस किसिमको सहयोग गरिएको आधार डेभलपमेण्ट नेपालका राष्ट्रिय निर्देशक प्रल्हाद ढकालको भनाई छ । घरमै आइसोलेट भएर बसेका संक्रमितहरुको सपोर्टका लागि महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई उपलब्ध गराइएका यी सामग्री उपयोगि सिद्ध हुने उनी बताउँछन् ।

महिला स्वास्थ्य स्वयम् सेविकालाई यस किसिमको सुरक्षा सामग्रीको व्यवस्था गरिएको पनि सम्भवतः नेपालमै पहिलो पटक हो । दुप्चेश्वर गाउँपालिकाले आधार डेभलपमेण्टको सहयोगमा सुरु गरेको यस किसिमको कार्यलाई सरकारले आफ्नो कार्यक्रम बनाएर देशभर लागू गर्नुपर्ने ढकालको तर्क छ । ‘हामीले गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यको अनुरोधलाई ध्यानमा राखेर यस किसिमको कार्यक्रममा सहयोग गरेका हौँ । सरकारले यस कार्यमा दुप्चेश्वरसँग सिकोस् ।’ उनले भने ।

आधार डेभपलपेण्टले यस अघि पनि दुप्चेश्वर गाउँपालिकाको वडा नंं ६ स्थित स्वास्थ्य चौकीका लागि १० थान अक्सिजन सिलिण्डर, डिजिटल अक्सिमिटर, ५ सय थान मेडिकल ग्लोब्स, ३० जना महिला स्वास्थ्यकर्मीलाई मिन्स्युरेशन हाईजिन किट सहयोग गरेको थियो ।

आधारले आइसोलेशनमा बस्न आउने पहिलो ४९ जनाका लागि दैनिक प्रयोगमा आउने ब्रस, टुथपेष्ट लगायत आवश्यक समाग्री समेत सहयोग गरेको छ । विपद्को पूर्वतयारी स्वरुप स्थापना गरिएको यस वर्ड अन्ततः बालबालिकाका साथै आमाहरुको लागि समेत उपयोगी हुने ढकाल बताउँछन् । विपद्लाई समेत अवसरका रुपमा लिन सक्नुपर्ने उनके तर्क छ ।

आधार डेभलपमेण्ट नेपालले गाउँपालिकाकै वडा नं १ स्थित घ्याङफेदी मा.वि.लाई नमुन विद्यालय बनाउन आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । यसबाहेक आधारले देशका अति विकट क्षेत्रमा विभिन्न किसिमको सहयोगका कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय