विश्वभर प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारका लागि काम गर्ने संस्था ‘रिपोर्टर्स विदआउट बोर्डर’ले प्रेस स्वतन्त्रतामाथि हमला गर्ने ३७ जना राष्ट्र प्रमुखको सूची सार्वजनिक गरेको छ ।

पाँच वर्षपछि प्रकाशित गरिएको यो सूचीमा एक तिहाई अर्थात् १३ जना राष्ट्र प्रमुख एसिया प्रशान्त क्षेत्रका छन् । प्रेस स्वतन्त्रतामाथि लगातार हमला गर्नेहरूमा दक्षिण एसियाबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी राष्ट्रपति शेख हसिना, पाकिस्तानका प्रधानमन्त्री इमरान खान र श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षको नाम सामेल छ ।

यो संस्थाले यस्तो सूची प्रत्येक पाँच वर्षमा प्रकाशित गर्ने गर्छ । संस्थाले प्रकाशित गरेको रिपोर्ट अनुसार यसपटक यो सूचीमा ५० प्रतिशत नयाँ अनुहार सामेल छन् । प्रेस स्वतन्त्रतामाथि हमला गर्ने राष्ट्र प्रमुखहरूको सूचीलाई ‘ग्यालरी अफ ग्रिम प्रोट्रेट’ अर्थात् निराश बनाउने अनुहारको ग्यालरी नाम दिएको छ ।

पत्रकारमाथि हमला गर्ने, सेन्सरसिप लागू गर्ने, विभिन्न कानुनका माध्यमबाट पत्रकारलाई सजाय दिने राष्ट्र प्रमुखलाई यो सूचीमा सामेल गरिएको छ ।

यो सूचीमा सामेल भएकी बंगलादेशकी प्रधानन्त्री शेख हसिनाले पछिल्ला ३ वर्षमा मात्र ३० भन्दा बढी पत्रकार र ब्लगरहरूमाथि आपराधिक मुद्दा चलाएकी छिन् ।

प्रेस स्वतन्त्रतामाथि हमला गर्नेहरूको सूचीमा साउदी अरब, भियतनाम, भेनेजुयला, थाइल्याण्ड, रुस, टर्की, फिलिपिन्स, चीन, इरान, सिरिया, हङकङ, बहराइन, दक्षिण कोरिया, ब्राजिल, सिंगापुर, क्युबा, म्यानमारलगायतका देशका राष्ट्र प्रमुख सामेल छन् ।

संस्थाका महासचिव क्रिस्टोफर डेलारे भन्छन, ‘यीमध्ये हरेक नेताका आ-आफ्नै स्टाइल, कोही आफ्ना आन्तरिक आदेशमार्फत आतंक फैलाउँछन्, कोही दमनकारी कानुन र रणनीति प्रयोग गर्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय