काठमाडौँ — फिलिपिन्समा आइतबार भएको सैन्य विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । दुर्घटनामा ४९ सैनिक घाइते भएको बीबीसीले जनाएको छ ।

आइतबार सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक भएको बताइएको छ । लकहिड सी-१३० विमानमा ९६ जना यात्रु सवार थिए । फिलिपिन्सको रक्षा मन्त्रालयका अनुसार जमिनमा रहेका ३ जना सर्वसाधारणको पनि दुर्घटनामा मृत्यु भएको छ ।

बीबीसीका अनुसार चरमपन्थी अबु सैय्यफमाथि कारबाहीका लागि उक्त सैन्य विमानमा सैनिक पठाइएको थियो । सुरुमा ५ जना हराइरहेको बताइए पनि उनीहरूको उद्धार भएको छ ।

फिलिपिन्स सेनाका प्रवक्ताले एबीएस–सीबीएनसँगको कुराकानीमा फ्लाइट डेटा रेकर्डरबाट विमान दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएका छन् । मेजर जनरल एडगार्ड अरेवालोले विमानमा कुनै पनि आक्रमण नभएको दाबी गरेका छन् । त्यस्तै फिलिपिन्स आम्र्ड फोर्सका प्रमुख जनरल सोबजनाले उक्त विमान धावनमार्गमा ओभरसुट गर्न पुगेको र पुन: अवतरण गर्न असफल भएको बताएका छन् ।

सुलुको मुख्य सहर जोलोमा रहेको विमानस्थल पहाडी क्षेत्रबाट नजिकै पर्छ । इस्लामिक स्टेटसँग आबद्ध रहेको मानिएको अबु सैय्यफ समूहसँग लामो समयदेखि संघर्ष चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विमानमा सवार अधिकांश हालै मात्र सैन्य प्रशिक्षणमा स्नातक तह उत्तीर्ण थिए । उनीहरूलाई चरमपन्थी समूहसँग लडिरहेको एक टास्क फोर्सको हिस्साका रुपमा तैनाथ गर्न लागिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय