२० असार काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको हिजो शनिबार भर्चुअल उद्घाटन गरेका छन् ।

उद्घाट गर्दै प्रधानमन्त्रीले सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्तको प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढंगले अघि बढाएको बताएका छन्।

‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने  लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सव लाइनहरु नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौं’, उनले भने ।

नेपालले करिब एक सय १० वर्षअघि उर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामै दोस्रो जलविद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानन्त्रीले उल्लेख गर्नुभयो । पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरुप हालका वर्षहरुमा जलाशय युक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

हाम्रो बहुआयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारण लाइन नयाँ उचाई भएको धारणा पनि प्रधानमन्त्रीको थियो ।  यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा भएको बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्रीले कोभिड विरुद्धका थप भ्याक्सिन आउने र त्यसबाट बञ्चित हुनुपर्ने अवस्थाबाट देश मुक्त हुने बताएका छन्। ‘ कोभिडसँग लड्नुपर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदैछौं’, । यद्यपी सबैलाई एकै पटक खोप सम्भव नहुने भन्दै उहाँले समूहगत रुपमा क्रमशः सबै जनतालाई खोप लगाइने बताए । यति बेला कतिपय स्थानमा भएका अतिवृष्टिका कारण क्षति भोग्नु परेको पनि उल्लेख गर्दै प्रधानमन्त्रीले उद्धार, राहत र पुनस्र्थापनामा सरकारले ध्यान दिइरहेको बताउंदै राहतका लागि सम्बद्ध स्थानमा रकम गइ सकेको र घाइतेको उपचार सरकारले नै गर्ने जानकारी दिएका छन् ।

समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन दुप्चेश्वर गाउँपालीकामा रहेको समुन्द्रटार सवस्टेशन देखी किस्पाङ गाउँंपालीकामा रहेको त्रिशुली ३ बी हब सवस्टेशन कुल  ८४ वटा टावर खडा गरी स्थापना गरिएको छ ।

कुल २६ कि.मि. लामो १३२ के.भी. डबल सर्किटको यो  प्रसारण लाईनबाट समुन्द्रटार सवस्टेशनलाई काठमाण्डौं उपत्यकाको मातातीर्थ सवस्टेशनमा मात्र नभई अन्य सवस्टेशनसंग समेत जोड्ने योजना रहेको नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

उनका अनुसार प्रसारण लाइबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशुली ३ बी हब सवस्टेशनमा प्राप्त हुने ६ सय मेगा वाट. भन्दा बढी विद्युतलाई सिधै काठमाण्डौं ल्याउन ठूलो मद्दत पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय