मन न हो,
कहिले मनभरि कुरा खेल्छ।
कहिले मनपरि कुरा खेल्छ।

ईच्छालाई बोध गर्दै,
बिचार गर्छ
विमर्श गर्छ
र निकाल्छ बिकल्प।
यस्तो बिकल्प,
जुन कहिले अल्पकालीन हुन्छ
कहिले दीर्घकालीन ।
मृगतृष्णा जस्तै दीर्घकालीन ।।

आखिर मन न हो,
कहिले मनभरि कुरा खेल्छ।
कहिले मनपरि कुरा खेल्छ।

अन्तरहृदयको तरड़्गसगँ
आन्तरिक इन्द्रियको रड़्गसगँ
पौँठेजोरी खेल्दै खेल्दै
निकाल्छ एउटा अभिलाषा,
जुन कहिले उज्वल हुन्छ
कहिले अन्धकार ।
विवेकहीनता सहितको अन्धकार ।।

मन नै त हो,
कहिले मनभरि कुरा खेल्छ।
कहिले मनपरि कुरा खेल्छ।

मैदान सापटि लिएर खेल्छ
साथि,सोँच र बिचारलाई लिन्छ
खेल्छ, अघाउन्जेल खेल्छ
खेल्छ, नथाकुन्जेल खेल्छ
उसको खेलमा,
उसैको विजय हुन्छ
उसकै पराजय हुन्छ।
पराजय,निर्विकल्प पराजय।।


जब निर्विकल्प पराजय हुन्छ
तब मनले,
न कहिल्यै मनभरि कुरा खेलाउछ।
न कहिल्यै मनपरि कुरा खेलाउछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय