काठमाडौं– अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’ बाट सम्मानित गरिएको छ ।

‘रजतपट कोशेली अभियान’ का तर्फबाट अभिनेता शाहलाई कोरोना भाइरस पीडितको उद्दार तथा सहयोगमा सक्रिय भएको भन्दै सम्मान गरिएको हो । कोरोना भाइरसका कारण जारी भएको निषेधाज्ञाका कारण बेरोजगार भएका चलचित्रकर्मीलाई राहत सहयोग गर्न ‘रजतपट कोशेली अभियान’ प्रारम्भ भएको थियो । उक्त अभियान टेलिभिजन कार्यक्रम ‘रजतपट’ का सञ्चालक प्रकाश सुवेदीले प्रारम्भ गरेका हुन् ।

अभिनेता शाहलाई मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा सम्मान अर्पण गरिएको छ । सम्मान ग्रहण गरेपछि अभिनेता शाहले सहयोगका लागि मनदेखि भावना आउनु पर्ने प्रतिक्रिया दिए । आफूलाई मनदेखि सहयोगको भावना रहेको र पछिसम्म रहने उनको भनाइ छ । सम्मान पाउँदा भावुक भएको भन्दै उनले सम्मान पाउन आफूले सामाजिक काम नगरेको बताए ।

‘मलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै किन हाल्छस् भनेर भन्नुहुन्छ । त्यो मैले देखाउन हालेको होइन । अरूलाई इन्स्पायर्ड गर्न हालेको हो । मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्न हो । समस्यामा परेकालाई हामी सबैले सकेको सहयोग गर्नुपर्छ,’ अभिनेता शाहले सामाजिक कार्यलाई निरन्तरता दिइरहने बताएका छन् ।

उक्त अभियानबाट हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग गरिएको छ । उक्त सहयोग नेपाल र नेपालबाहिर रहेका विभिन्न कलाकर्मीको पहलमा जुटेको रजतपटले जनाएको छ । अभिनेत्री घिमिरेलाई निःशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । दाहालले नै निशाको अवस्था मेघासम्म पुर्याई उपचारको पहल गरेकी हुन् । टेलिभिजन कार्यक्रम ‘रजतपट’को सहयोग अभियानले हालसम्म चार सय बढी कलाकर्मीहरु तथा अन्य पीडितलाई राहत प्रदान गरिसकेको छ ।

सोमबार पनि १८ जना कलाकर्मीलाई सहयोग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय