मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आज, बिहीबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ६ हजार ५८ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६३ हजार ४९२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ र चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको छ ।सर्वसाधारणलाई ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी दिने आवेदन ?

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता बराबरको एक लाख रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।लघुवित्तको आईपीओमा असार १७ गते देखि असार २१ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे असार ३१ गतेसम्म म्याद थप हुनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मुक्तिनाथ क्यापिटल रहेको छ ।

माध्यम जोखिम जनाउने रेटिङ्ग

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सम्बन्धमा माध्यम मात्रामा जोखिम रहने जनाउछ । उक्त रेटिङ्गको अवधि जारी मितिको एक वर्ष अर्थात २०७८ फागुन ११ गते सम्म कायम रहनेछ ।

कस्तो संस्था हो?

मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ बमोजिम २०७४ अशोज २५ गते कम्पनी रजिटारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार २०७४ माघ २ गते वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी २०७४ फागुन ६ गते देखि औपचारी वित्तीय कारोबार शुरु गरेको हो । साविकको मनकामना लघुवित्त र स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच मर्जर कार्य सम्पन्न भएर २०७७ साउन ११ गते देखि एकिकृत कारोबार शुरु गरेको थियो । हाल लघुवित्तले १२ जिल्लाहरुमा ३७ शाखा कार्यालयहरु मर्फत आफ्नो कारोबार गर्दै आइरहेको छ । वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्लाको सिद्धार्थनगर ५ मा रहेको छ ।

तीन वर्षमा सञ्चित नाफा करिब १६ करोड पुर्याउने लक्ष्य

लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा १५ करोड ७३ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७६/७७ सम्म कम्पनीको सञ्चित मुनाफा ४६ लाख २२ हजार रुपैयाँ रहेको थियो । यस्तै चालु आर्थिक वर्ष २०७७/७८ मा २ करोड ९६ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ७ करोड ८८ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ९० पैसा र प्रतिशेयर आम्दानी ८५ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण गरेको छ । यस्तै चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ८१ पैसा र प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ४० पैसा पुग्ने लघुवित्तको अनुमान छ ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई आईपीओ निष्काशन गर्नु परेको लघुवित्तले जनाएको छ । त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३२.११ प्रतिशत अर्थात ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थामो प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्ने परेको जनाएको छ । लघुवित्तले आईपीओ निष्काशन गरी संकलन हुने रकम मध्ये कृषि तथा पशुपालन कर्जामा १ करोड ८९ लाख रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जामा १ करोड रुपैयाँ र साना तथा घरेलु उद्योग कर्जामा १ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।

सञ्चालक समितिमा को को छन् ?

लघुवित्तको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र व्यवसायिक विशेषज्ञ १ जना सञ्चालक हुने प्रावधान छ । समितिको अध्यक्षमा अजय गोयन रहेका छन् । यस्तै सञ्चालक समितिमा अभिषेक बेरिवाल, प्रदिप कुमार सुद्रनिया, शान्ति चौधरी र अच्युत पन्त रहेका छन् । पन्त भने स्वतन्त्र सञ्चालक हुन् । हाल लघुवित्तको सञ्चालक समितिमा ५ जना रहेका छन् भने सर्वसाधारण शेयरधनीहरुबाट २ जना चयन हुन बाँकि छ ।

भावी योजना तथा रणनीति

लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउदै लैजाने रणनीति लिएको छ । आगामी आर्थिक वर्षसम्ममा कम्तिमा पनि थप ५ वटा शाखा कार्यालयहरु विस्तार गरी थप २० करोड रुपैयाँ निक्षेप संकलन र थप २८ करोड रुपैयाँ कर्जा प्रवहा गर्ने लघुवित्तको लक्ष्य रहेको छ । संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा प्रशासकिय सुदृढिकरणमा जोड दिदै लगानीकर्तालाई उच्चतम प्रतिफल दिलाउने तर्फ प्रतिबद्ध रहने पनि संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय