असार १५, नुवाकोट ।
जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नंं. १ स्थित घ्याङफेदीमा रष्टिक हाउस निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रष्टिक हाउस दुप्चेश्वर गाउँपालिका र कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक सहयोगमा स्थानिय स्याङ्तान कृषि फार्मले निर्माण गरेको हो ।

मङ्गलबार दुप्चेश्वर गाउँपालिका र कृषि ज्ञानकेन्द्रले निर्माणाधिन रष्टिक हाउसको स्थलगत अनुगमन गरेको छ । अनुगमनमा गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य एवं ज्ञानकेन्द्रका तर्फबाट कार्यालय प्रमुख केशब खनाल तथा प्राविधिक दिवस राई सहभागी भएका थिए ।

कुल लागत ५१ लाख रहेको उक्त उक्त रष्टिक हाउसको निर्माणकार्य अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष योविन्द्र सिँह तामाङले जानकारी दिए । कुल क्षमता ५० मेट्रिक टन रहेका उक्त रष्टिक हाउस निर्माणका लागि दुप्चेश्वर गा.पा.को योगदान रु. २६ लाख रहेको छ भने कृषि ज्ञानकेन्द्रको योगदान रु. २० लाख रहेको छ । त्यसैगरी स्थानिय साझेदार स्याङ्तान कृषि फार्मले उक्त रष्टिक हाउस निर्माणमा रु. ५ लाख रुपैयाँ लगानी गरेको छ ।

रष्टिक हाउस सञ्चालनमा आएपछि स्थानिय स्तरमा उत्पादित आलु एवं भुईंस्याउ जस्ता उत्पादनहरु भण्डारण गरेर बेमौशममा बजारमा लान सहज हुने गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्य बताउँछिन् । बर्षायाममा बाटोको कठिनाइका कारण स्थानिय उत्पादन बजारसम्म पुर्याउन असहज भइरहेको थियो । रष्टिक हाउस सञ्चालनमा आएपछि आफ्ना उत्पादनले उचित मूल्य पाउनेमा स्थानिय किसान मारलामा तामाङ ढुक्क छन् ।

गाउँपालिकाले स्थानिय स्तरमा कार्यरत विभिन्न संघ सँस्थासँगको सहकार्यमा गत वर्ष मात्र दुप्चेश्वर गाउँपालिकाको वडा नं ३ र ४ को बीचमा पर्ने माङ्गलिङमा समेत रष्टिक हाउस निर्माण गरिसकेको छ । त्यसैगरी वडा नं.६ समुन्द्रटारमा कृषि उपज संकलन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । संकलन केन्द्र सुचारु गर्न आगामी आर्थिक वर्षको बजेटमा गाउँपालिकाले रु. ५ लाख विनियोजन गरेको छ ।

तर, निर्धारित समयमा संकलन केन्द्र सञ्चालन हुन नसकेको भन्दै स्थानिय किसानहरुको गुनासो सुनिन थालेको छ । गाउँपालिकाले भने प्राविधिक समस्याका कारण निर्धारित समयमा सञ्चालनमा ल्याउन नसकेको स्विकार गर्दै अवका दिनमा यथासिघ्र सन्चालनमा ल्याउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय