बाबर र रिजवानले रचे इतिहास, तोडे ११ वर्ष पुरानो कीर्तिमान

प्रकाशित मिति :२०७८ बैशाख २, बिहीबार          
अनुमानित पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १ वैशाख : दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजको तेस्रो खेलमा पाकिस्तान ९ विकेटले विजयी भएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा एक विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले । उनले ५९ बलमा १५ चौका र चार छक्कासहित १२२ रन बनाए । टी-२० अन्तर्राष्ट्रियमा बाबरको यो पहिलो शतक हो ।त्यस्तै, मोहम्मद रिजवानले ४७ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा अविजित ७३ रन बनाए । फखर जमानले २ बलमा नटआउट ८ रनको योगदान दिएन । बलिङमा लिजाड विलियम्सले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि एडम मार्करम र जान्नेमान मलानले अर्धशतकीय पारी खेले । मार्करमले ३१ बलमा चार छक्का र ६ चौकासहित ६३ र मलानले ४० बलमा दुई छक्का र ५ चौकासहित ५५ रन बनाए । त्यस्तै, रस्सीभानडर दुसेनले अविजित ३४, जर्ज लिन्डेले २२ कप्तान हेनरिक क्लासेनले १५ र एन्डिले फेहलक्वायोले ११ रनको योगदान दिए ।

बलिङमा मोहम्मद नवाजले दुई, हसन अली, शाहीनसाह अफ्रिदी र फहीम असरफले एक/एक विकेट लिए ।

आजको जितसँगै चार खेलको सिरिजमा पाकिस्तानले २-१ को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम टी-२० म्याच शुक्रबार हुनेछ ।

रिजवान र बाबरले रचे इतिहास

दक्षिण अफ्रिकासँगको तेस्रो टी-२० मा बाबर र रिजवानले नयाँ कीर्तिमान बनाएका छन् । उनीहरूले टी-२० मा पहिलो विकेटका लागि ठूलो साझेदारी बनाउने कीर्तिमान बनाएका हुन् । बाबर र रिजवानबीच पहिलो विकेट लागि १९७ रनको साझेदारी भयो । पाकिस्तानका लागि अन्तर्राष्ट्रिय टी-२० मा पहिलो विकेटका लागि यति ठूलो साझेदारी गर्ने बाबर र रिजावन पहिलो ब्याट्सम्यान बनेका छन् । यसअघि पाकिस्तानका लागि यो प्रारूपमा पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारीको कीर्तिमान कमरन अकमल र सलमान बटको नाममा थियो । उनीहरूले सन् २०१० मा बंगलादेशविरुद्ध पहिलो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए । अकमल र बटको सो कीर्तिमान रिजवान र आजमले ११ वर्षपछि भंग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय