कोरोना कहरमै बित्यो ७७ साल, शैक्षिक क्षेत्र डामाडोल

प्रकाशित मिति :२०७८ बैशाख २, बिहीबार          
अनुमानित पढ्न लाग्ने समय : < 1 मिनेट

२ बैशाख,नुवाकोट

कोरोना संक्रमण बढ्दै जाँदा सरकारले गत वर्ष देश पूरै लकडाउन गर्‍यो। संक्रमण फैलिन नदिन गरेको लकडाउनले हरेक क्षेत्र ठप्प भयो। मानिसको जमघट हुने/नहुने प्रायः सबै क्षेत्र बन्द भए।

लकडाउनले देशभरका शैक्षिक क्षेत्रमा निकै ठूलो असर पर्‍यो। करिब ९ महिना देशभरका शिक्षण संस्थामा भाैतिक उपस्थितिबिनै कक्षा सञ्चालन भए। कतिपय स्थानका विद्यार्थीले त विद्यालय देख्न मात्र होइन, किताबसमेत पढ्न पाएनन्। निजीस्तरमा अनलाइन तथा भर्चुअल माध्यमबाट पढाइ भए पनि सामुदायिक तथा सरकारी विद्यालय/कलेजमा अध्ययन अध्यापन हुन सकेनन्।

२०७७ सालको पूरै शैक्षिक क्षेत्र डामाडोल भए। शैक्षिक उपलब्धिसमेत गुम्यो। सालको उत्तरार्द्धमा सरकारले शैक्षिक क्षेत्र खुलाए पनि पाठ्यक्रमले तोकेको लक्ष्य त परको कुरा विद्यार्थीले आधा पढाइसमेत पूरा गर्न पाएनन्। भलै परीक्षाहरू भए। नतिजासमेत निकालिए। तर विद्यार्थीको सिकाइ लक्ष्य पूरा हुन पाएन।

२०७७ को अन्त्यतिर आइपुग्दा कोरोना कहर केही साम्य भयो। २०७८ सालको नयाँ वर्षसँगै अन्यसँगै शैक्षिक क्षेत्र जुर्मुराउने धेरैले आशा गरेका थिए। तर विश्वभर कोरोनाको नयाँ भेरियन्ट देखिन थालेसँगै नेपालमा पनि यसको असर देखिन थालिसक्यो। छिमेकी देश भारत कोरोनाको चपेटामा फेरि पर्न थालेको छ। त्यसको सीधा असर नेपालमा पनि नदेखिएला भन्ने छैन।

हाल देशमा दैनिक कोरोना नयाँ संक्रमित पाँच सयभन्दा बढी देखिन थालिसकेका छन्। यो संख्या अझै बढ्ने स्वास्थ्य अधिकारीहरूले चेतावनीसमेत दिइसकेका छन्। अब फेरि पनि कोरोनाको लहर पुनः सुरु भए शैक्षिक क्षेत्रमा खतराको घण्टी बज्न सक्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उपत्यकासहित ठूला बस्ती भएका सहरका विद्यालय एक महिनाका लागि बन्द गर्न सरकारसँग सिफारिस गरेको थियो। कोरोना संक्रमण फैलिन सक्ने भन्दै फेरि पनि अनलाइन माध्यामबाट पढाइ सुचारु गर्न मन्त्रालयले पनि आग्रह गरिसकेको छ।

तर, शिक्षासँग सम्बन्धित सरोकारवालाले भने एकै पटक देशभर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दियो। फैलँदो कोरोनाले यस वर्षको शैक्षिक क्षेत्र पनि प्रभावित हुने हो कि भन्ने शंका उब्जिन थालिसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय