स्वास्थ्य शिबिर सेवा, व्यापार कि राजनीति ?

प्रकाशित मिति :२०७७ चैत्र १४, शनिबार          
अनुमानित पढ्न लाग्ने समय : 3 मिनेट

Reading Time: 3 minutes
–आर डी शर्मण

सहर देखी दुरदराजका ग्रामिण बस्तीहरुमा बेलाबखत स्वास्थ्य शिबिरहरु सञ्चालन गरिन्छन् । हज्जारौँ मानिसले त्यहिँबाट स्वास्थ्य लाभ लिन्छन् त कतिपयलाई सम्बन्धित अस्पताल रिफर गरिन्छ । अझ कतिपय शिबिरमा शिबिर प्रायोजक सँस्था(मेडिकल कलेज) हरुले १० देखि ५० प्रतिशतसम्म उपचार निःशुल्क गरिदिने व्यवस्था मिलाएका हुन्छन् । यी सबै स्वस्थ्य सेवाग्राहीले पाउने सुविधा हुन्

तर, अर्कोतर्फबाट हेर्ने हो भने यो आम सर्वसाधारणका नाममा गरिने व्यापार जस्तै देखिन्छ । अझ राजनीतिक उद्देश्य त छँदैछ । उदाहरणका लागि भर्खरै दुप्चेश्वर गाउँपालिकामा सम्पन्न २ दिने स्वास्थ्य शिबिरलाई नै लिउँ । काठमाडौं मेडिकल कलेजले दुप्चेश्वर गाउँपालिकाको वडा नं. ६ स्थित स्वास्थ्य चौकीमा सञ्चालन गरेको स्वस्थ्य शिबिरमा यस भेगका थुप्रैले स्वास्थ्य सेवा लिए । केटाकेटी देखि वृद्ध वृद्धा समेत गरेर ८ सयको हाराहारी मानिसले स्वास्थ्यसेवा लिएका छन् ।

तर, दुई दिनका लागि भनेर सञ्चालन गरिएको स्वास्थ्य सिविर कोटा पुरा भयो भन्दै करीब १२ बजे नै बन्द गरिदिँदा स्वास्थ्योपचारका लागि लाईन बसिरहेका असक्तहरुको जिम्मा कसले लिन्छ ? शिबिर सञ्चालकहरुको कोटा कति ? सेवा भाव हो भने कोटा पुरा हुने बित्तिकै सकिने कस्तो सेवा हो ? स्वास्थ्य सेवा जस्तो जटिल कुरामा यस्तो खेलवाड किन ?

मेडिकल कलेजहरुलाई कसरी फाईदा हुन्छ ?

वास्तममा यी सेवा प्रदायक भनाउँदा तपाईं हाम्रो माया वा सेवा भावले आएकै होइनन् । यस्ता शिबिरको थुप्रै उद्देश्य हुन्छन् । पहिलो उद्देश्य सबै व्यावसायिक संस्थाहरुले सीएसआर (कर्पोरेट सोसियल रेस्पोन्सिवीलिटी) अन्तरगत केही न केही सामाजिक काम गर्नुपर्ने हुन्छ । सोही अनुरुप स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले यस्ता शिबिर सञ्चालन गर्छन् । यस्ता संस्थाहरुको अर्को उद्देश्य आम सर्वसाधारणलाई आफ्नो अस्पताल चिनाउने (व्यापारिक दृष्टिकोणबाट भन्ने हो भने व्यापार प्रमोशन गर्ने ) हो । अस्पतालहरुका लागि बिरामी दुहुनु गाई हुन् । उनीहरु यहाँ दुधालु गाई खोज्न आएका हुन् ।

त्यसैगरी यस्ता संस्थाहरुको शिबिर सञ्चालनका लागि डोनर तथा स्पोन्सरहरु हुन्छन् । उनीहरुले शिबिरमा स्वास्थ्यलाभ लिएका मानिसहरुको संख्याको आधारमा सहयोग गर्छन् । शिबिर सञ्चालनका लागि प्रस्तावना पेश गर्दा हामी यति मानिसलाई स्वास्थ्य सेवा प्रदान गर्छौं भनेका हुन्छन् र आफ्नो कोटा पुरा भए पछि शिबिर बन्द गरिन्छ । तर, कोटा गन्दा सुरुमा बाहिर नाम लेखाउँदाको नभई तपाईंले कति ठाउँमा देखाउनुभयो सबै गनिन्छ । मानौ तपाईंले पेट दुखेको, टाउको दुखेको र हाड सम्बन्धि तिन ठाउँमा देखाउनु भयो भने तपाईंको नाम तिन ठाउँमा लेखिन्छ । त्यस हिसाबले यदि ५ सय मानिसले ३–३ ठाउँमा देखाए भने कुल सेवाग्राही संख्या १५ सय हुन्छ ।

नाम बिकाउन आएका स्पोन्सर र औषधि बिकाउन आएका फर्मास्युटिकल्स
अब, डोनर, स्पोन्सर र फर्मास्युटिकल्सहरुको कुरा गरौँ । डोनरहरुले तीन कारणले शिबिरमा आर्थिक सहयोग गर्दछन् । पहिलो कारण सेवा भाव नै हो । दोस्रो कारण सहयोग गरेबापत उनीहरुलाई प्राप्त हुने गुडविल हो भने तेस्रो कारण डोनेशन गर्दा करमा पाइने छुट हो । त्यसैगरी स्पोन्सरहरुको एकमात्र उद्देश्य आफ्नो व्यापारको प्रमोसन नै हो । फर्मास्युटिकल्सहरुले शिबिरमा सहयोग गर्नुको उद्देश्य पनि आफ्नो उत्पादनको बजारीकरण हो । यसमा डाक्टरहरुको ठूलो हात रहन्छ ।

त्यस बाहेक स्वास्थ्य शिबिरमा मेडिकल कलेजहरुले बरिष्ठ डाक्टरहरुको नेतृत्वमा सिकारु डाक्टरहरु फिल्डमा आउँछन् । उनीहरुलाई त्यहाँ सिकाईको प्रयोगात्मक वातावरण सिर्जना हुन्छ । यो पनि मेडिकल कलेजहरुका लागि फाइदा हो । समग्रमा स्वास्थ्य शिबिर मेडिकल कलेजहरुका लागि प्रयोगशाला, स्पोन्सरका लागि नाम बिकाउने ठाउँ र फर्मास्युटिकल्सका लागि व्यापार प्रमोशन गर्ने उपयुक्त ठाउँ बन्छ ।

शिबिर सञ्चालन गर्ने अस्पतालले माथी उल्लेख गरिएझैँ आफ्नो रिपोर्ट पेश गर्ने बेलामा फर्मास्युटिकल्सबाट वास्तविक संख्या भन्दा बढीलाई औषधि वितरण गरिएको बिल बनाउँछन् । भने अनुरुप विल नबनाउँदा डाक्टरहरुले आफ्नो औषधि प्रयोगमा नल्याइदिन सक्ने भएका कारण फर्मास्युटिकल्सहरुले बाध्यात्मक रुपमा बिल बनाईदिएका घटना प्रसस्तै भेटिन्छन् । स्थानिय स्वास्थ्य चौकीको रिपोर्ट, मेडिकल कलेजहरुको रिपोर्ट तथा अस्पतालहरुको रिपोर्ट र फर्मास्युटिकल्सको बिलका साथभा सेवाग्राहीले स्वास्थ्य सेवा लिइरहेको फोटो पेश गरेपछि डोनरले सर्त बामोजिम आर्थिक सहयोगको बाचा पुरा गर्छन् । यसरी देखादेखी मानव स्वास्थ्यका नाममा गरिएको खेल पुरा हुन्छ ।

शिबिरले त्यहाँ आएका सबै सेवाग्राहीलाई परिक्षण गराई शिबिर सक्काउनुपर्ने थियो । १२ बजे नै कोटा सक्किएपछि, लामो दुरि तय गरी आएका धेरै निरास भई घर फर्किए । आयोजकको लापरवाही, स्थानिय तहको फितलो व्यवस्थापनका कारण मारमा परेका सेवाग्राहीहरुको आँखाको तारो भने हिजोका दिनमा तिनकै घाउमा मलहम लगाएका, रातभर अनिधो बसेर उपचार गरिदिने  स्थानिय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु हुने गरेका छन् ।

यस्ता घटना एक चोटी होइन, बारम्बार भएको भेटिन्छन् । मानव स्वाथ्य न त कुनै पार्टिको हुन्छ, न त कुनै तन्त्रको वा कुनै संयन्त्रको नै हुन्छ । नातागोता साथीभाइ र छरछिमेकीलाई छिटो पालो दिई गुन लगाउने धर्मशाला बनेको शिबिर तपाइँको नजरमा कत्तिको प्रभाबकारी र समतामुलक छ । स्वास्थ्य जस्तो नैसर्गिक अधिकारमाथी नै भएका राजनीतिक हस्तक्षेप अथवा प्रष्ट शब्दमा भन्दा दुईदिने सेवाका नाममा बर्षौ राज गर्ने ब्यबिचारमा तपाइँ, म र हामिजस्ता युवाले उठाएका प्रश्नको जवाफदेहिता कुन निकाय अन्तर्गत पर्दछ ? समानता, समता र यसका सिन्द्धान्तमा हामी सबै उच्च छौँ, ब्यबहारमा उच्च कहिले देखी ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय