दुप्चेश्वर मन्दिरको क्षेत्रगत विकासको अवस्था, त्रुटी र सम्भावनाहरु

प्रकाशित मिति :२०७७ फाल्गुन १७, सोमबार          
अनुमानित पढ्न लाग्ने समय : 5 मिनेट

Reading Time: 5 minutes

-रामेश्वर धिताल
नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिर धार्मिक, सामाजिक, साँस्कृतिक, भौगोलिक एवं पर्यटकीय सबै दृष्टिकोणबाट निकै महत्वपूर्ण देवस्थल हो । दुप्चेश्वर गाउँपालिकाको वडा नंं. ६ स्थित विशाल शिलाको अर्धवृत्ताकार भागको केन्द्रमा अवस्थित उक्त शिवलिङ्ग पकृतिको अनुपम कलाद्वारा सिर्जित छ । कसै कसैले यसलाई दोस्रो पशुपतिका रुपमा समेत लिने गर्दछन् । तर, दुप्चेश्वरलाई चिनाउन पशुपतिनाथको सहारा वा नामसँग जोडि रहन आवश्यक छैन । किनभने, दुप्चेश्वर पुग्ने भक्तजनले प्रकृतिको यो अनपुम नमुनालाई प्रार्थनिय, प्रेरणादायी र पुजनीय मान्दछन् ।

दुप्चेश्वर महादेव कुनै धर्म विशेषका देवताका रुपमा मात्र सिमित छैनन् । दुप्चेश्वर महादेवलाई हिन्दु, बौद्ध, वोनलगायत सवै धर्मालम्बीले श्रद्धेय एवं सहअस्तित्वको साँस्कृतिक बोध गराउनुका साथै, एउटा आध्यात्मिक आस्थाको प्रतिकको रुपमा लिने गरिन्छ । प्रकृति, भूगोल र पर्यावरणका साथै अनुपमेय प्राकृतिक कलाको वैभवले सिंगारिएका कारण पनि यो देवस्थल आम भक्तजन, दर्शनार्थी एवं पर्यटक सवैका लागि अध्यात्मिक आकर्षणको केन्द्र बनेको छ । मन्दिरबाट उत्तर–पश्चिमतर्फ रहेको राहुचुली, दुप्चेश्वरको पाउ हुँदै बग्ने सूर्यमति (तादी) नदि यहाँको अन्य प्राकृतिक सम्पदाले मन्दिरको शोभा अझ बढाइ दिएको छ ।

दुप्चेश्वर महादेवको मन्दिरमा प्रत्येक वर्ष मार्गशुक्ल धान्यपूर्णिमाको अवसर पारेर एकादशी देखि पूर्णिमासम्म विशाल मेला लाग्छ । मुख्य मेला बाहेक दुप्चेश्वर मन्दिरमा हरिवोधनी एकादशी (ठूलो एकादशी), पञ्चमी, शिवरात्री, बुद्ध पूर्णिमा र अन्य पर्वहरुमा विशेष मेला लाग्छ । मेला र जात्राहरुले एकातिर दुप्चेश्वर महादेवको महत्व त बढाएको छ नै अर्कोतर्फ यस क्षेत्रको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा समेत टेवा पुर्याउँदै आएको छ ।

दुप्चेश्वर गाउँपालिका कृषि र पर्यटनका हिसावले महत्वपूर्ण क्षेत्र हो । यहाँको भौगोलिक विविधता, धार्मिक स्थलहरु, नदिनाला र कृषि उत्पादका लागि उपयुक्त वातावरण यस क्षेत्रको सवल पक्ष हो । दुप्चेश्वर महादेवको मन्दिरले यस क्षेत्रमा धार्मिक पर्यटनको समेत ढोका खोलिदिएको छ ।

यद्यपि, स्रोत साधन र लक्षित कार्यक्रमको अभावका कारण सम्भावना हुँदा हुँदै पनि यस्ता क्रियाकलापमा यस क्षेत्रले उल्लेख्य लाभ लिन सकेको छैन । स्रोत र साधनको अधिकमत उपयोग गर्न सकिएको खण्डमा दुप्चेश्वर क्षेत्र आर्थिक रुपमा समेत निकै अघि बढ्ने प्रष्ट छ । यदि स्थानिय तह दुप्चेश्वर गाउँपालिकाले दुप्चेश्वर मन्दिरलाई केन्द्रमा राखेर त्यसबाट सृजना हुने अवसरहरुको उपयोग गर्ने लक्ष्य राखेको हुन्थ्यो भने यसको धार्मिक महत्व बढ्ने त छँदैछ यसबाट दुप्चेश्वर गाउँपालिकाको नयाँ परिचय स्थापित हुन सक्ने थियो ।

तर, सरकारले केही नगरेको भने होइन दुप्चेश्वर गुरु योजनाको पहिलो चरणमा स्थानीय सरकार दुप्चेश्वर गाउँपालिका, राष्ट्रिय योजना आयोग, बागमती प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङको आर्थिक सहयोग रहेको छ । पहिलो चरण अन्तरगत कूल ८५ लाख रुपैँयाको निर्माण कार्यमा दुप्चेश्वर गाउँपालिको ३० लाख, बागमती प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङको ३५ लाख र राष्ट्रिय योजना आयोगको २० लाख रुपैयाँको आर्थिक सहयोग रहेको छ ।

यसै वर्ष मात्र दुप्चेश्वर गुरु योजना अन्तरगत फाइबर सिटको छाना सहितको सिँढी, रेलिङ, सिँढीमा ढुँगा छाप्ने काम आदि सम्पन्न भएको छ । यसकासाथै, क्षेत्र विकास कोषको भवन निर्माण सकिएको छ । मन्दिर जाने र फर्कने बाटोको पुनर्निमाणमा यो वर्ष राष्ट्रिय पुननिर्माण प्राधिकरणले समेत लगानी गर्दैछ । यसैबिच पर्यटन पूर्वाधार निर्माणका लागि प्रदेश सरकारबाट स्विकृत भएको ५ करोड रुपैयाँ सहयोग वर्तमान राजनीतिक खिचातानीमै अल्झिरहेको छ ।

एकातिर दुप्चेश्वर मन्दिरको गुरुयोजना सञ्चालन भइरहँदा मन्दिरको भौतिक संरचनामा केही कमजोरीहरु देखिएको छ । खासगरेर मन्दिरको प्राकृतिक अवस्थालाई यथावत राख्नु गुरुयोजनालाई चुनौती रहेको छ भने यस अघि बनेका भौतिक संरचनाले छोपेको प्राकृतिक कुराहरु प्रष्टसँग आम भक्तजनले देख्न पाउने अवस्था निर्माण गर्नु अहिलेको आवश्यकता रहेको छ । कुनै कालखण्डमा लहरामा झुण्डिएर दर्शन गर्न जाने अवस्थामा रड वा सिमेण्टको बाटो र अन्य भौतिक संरचना बन्नु ठूलो कुरा थियो । जिल्ला सदरमुकाम विदुर वा राजधानी काठमाडौंबाट बोकेर ल्याइएको निर्माण समाग्री त्यसबेलाका लागि अद्भूत थियो ।

तर, अहिले समय बदलिएको छ । प्रविधि र आवश्यक सामग्रीको उपलब्धताले कुनै पनि खालको संरचना बनाउन कठिन छैन । समय चक्रले यतिधेरै सुविधा उपलब्ध गराए पनि सरोकारवालाहरुले दुप्चेश्वर मन्दिरलाई प्राकृतिक रुपमै फर्काउन कुनै प्रयास गरेको देखिँदैन । यदि कसैले उक्त विषयमा बोलिहाले पनि त्यो झिनो आवाज त्यत्तिकै हराइरहेको अवस्था छ । दुप्चेश्वरको मुख्य मन्दिरलाई त्यहाँ पुग्ने जो कोही भक्तजनले आज भन्दा ४ सताब्दी अघि बासे (बासु) तामाङले पत्ता लगाउँदाकै अवस्थामा देख्न पाउने वातावरण बनाउनु अब स्थानिय सरकार दुप्चेश्वर गाउँपालिकाको दायित्व हो, त्यसमा सक्दो सहयोग गर्नु स्थानिय वासिन्दाको पनि जिम्मेवारी हो ।

यसबाट एकातिर आम भक्तजनले दुप्चेश्वर मन्दिरको प्राकृतिक दृष्य देख्न पाउँछन् भने अर्कोतिर दुप्चेश्वरका कारण यस क्षेत्रको आर्थिक विकास पनि हुनसक्छ । किनभने धार्मिक दृष्टिकोणका साथै दुप्चेश्वर मन्दिर र आसपासका क्षेत्रहरु पर्यटकिय दृष्टिकोणबाट समेत महत्वपूर्ण छ । दुप्चेश्वर मन्दिर परिसर, नुवाकोटको उत्तरपूर्वी भेगबाट लाङटाङ राष्ट्रिय निकुन्ज, सागरकुण्ड, सूर्यकुण्ड, गोसाँईकुण्ड र त्यस आसपासका हिमाली क्षेत्रहरुको प्रवेश द्वार पनि हो । यस क्षेत्रमा रहेको राहुचुली नुवाकोटकै सबैभन्दा अग्लो चुचुरो हो । यहि चुुचुरो हँुदै गोसाईंकुण्ड समेत जान सकिन्छ ।

साथै, पछिल्लो समय नेपालमा धार्मिक पर्यटनको ट्रेण्ड पनि बढ्दै गएको छ । मानिसहरु देवस्थलको दर्शन पछि त्यस आसपासमा भएका अन्य क्षेत्रको अवलोकन भ्रमणको इच्छा राख्न थालेका छन् । तर, त्यस्ता पर्यटकको चाहना अनुसार उनीहरुका लागि भुल्ने वातावरण नहुँदा यस क्षेत्रले खासै आर्थिक उन्नती गर्न सकेको छैन । उपयुक्त बातावरण सृजना गर्नु पनि सरकारकै दायित्व हो ।

क्षेत्रगत रुपमा आर्थिक कृयाकलाप बढ्नका लागि आगन्तुकहरु त्यस स्थानमा समय विताउने वातावरण हुनुपर्छ । कम्तिमा एक रात भए पनि त्यस क्षेत्रमा विताउने हुनुपर्छ । फर्कँदा यस क्षेत्रको चिनो स्वरुप केही लिएर जाने वातावरण हुनुपर्छ । तव मात्र त्यस क्षेत्रको आर्थिक उन्नती हुन्छ । गाडीमा आएर आफैँले लिएर आएको खाना खाएर फर्किनेहरुलाई यस क्षेत्रका अग्र्यानिक कृषि उपजको स्वादको बानी पार्नुपर्छ ।
वास्तममा स्थानिय सरकारले पर्यटकहरुलाई आकर्षित गर्ने किसिमको वातावरण सृजना गर्नुका साथै आगन्तुकहरुबाट यस क्षेत्रले प्राप्त गर्नसक्ने आर्थिक उपलब्धिको बाटो समेत खोज्नु पर्छ ।

दुप्चेश्वर मन्दिर र आसपासको क्षेत्रमा पर्यटन प्रवर्धन हुने गरी कृषि उपज र हस्तकलाका सामग्रीको उत्पादन तथा बजारीकरणका लागि तय गरिएको एउटा मार्गचित्र बनाएर अघि बढ्ने हो भने मात्र दुप्चेश्वर मन्दिरको प्रचार प्रसार र भौतिक उन्नती मात्र होइन क्षेत्रकै उन्नती हुने प्रष्ट छ । यसबाट अन्ततः दुप्चेश्वर क्षेत्रका किसानको आयस्तर बढ्नुका साथै तथा घरेलु उद्योगधन्दा फस्टाउने छ भन्ने अपेक्षा गर्न सकिन्छ ।

सामान्यतः मानिसहरु उत्पादनमुलक व्यवसाय गर्न रुचाउँछन् । तर, जबसम्म कुनै पनि वस्तुको बजार सुनिश्चित हुँदैन तबसम्म लगानीको प्रतिफलको कुनै आधार हुँदैन । त्यसैले दुप्चेश्वर गाउँपालिकाले मन्दिरको धार्मिक महत्वलाई कायम राख्दै स्थानिय क्षेत्रमा उत्पादित सामग्रीको बजार प्रवद्र्धनलाई विशेष ख्याल राख्नु पर्छ ।

दुप्चेश्वर मन्दिरमा वर्षेनी लाखौं मानिस आउने गर्छन् । तर, त्यस्ता आगन्तुकहरुलाई आकर्षित गर्ने अन्य माध्यम नभएका कारण उनीहरु केवल दर्शनार्थीका रुपमा फर्किन्छन् । हामीसँग आगन्तुकहरुलाई थप समय विताउने र त्यसबाट उनीहरुले समेत लाभ लिनसक्ने आधार भएको खण्डमा यस क्षेत्रमा आर्थिक गतिवीधि बढ्ने छ । साथै, पर्यटनकै माध्यमबाट क्षेत्रको विकासको ढोका खुल्न सक्छ ।

केही वर्षअघि सम्म दुप्चेश्वरको मन्दिरमा मंसिरको धान्यपूर्णिमा लगायत अन्य विशेष दिनमा लाग्ने मेलामा विशेष आर्थिक क्रियाकलाप हुने गर्र्दथ्यो । जिल्लाका अधिकांश भेगका मानिसहरु दुई ओटा उद्देश्यले दुप्चेश्वर आउने गर्दथे । उनिहरुको पहिलो उद्देश्य दुप्चेश्वर दर्शन हुन्थ्यो भने अर्को उद्देश्य भनेको वर्षभरीका लागि आवश्यक डोका, डाला, मान्द्रो, भकारी, थुन्से, नाङ्लो जस्ता बाँस तथा निगालाबाट निर्मित उत्पादनहरु किन्ने र आफन्त तथा इष्टमित्रहरुसँगको भेटघाट हुन्थ्यो ।

पछिल्ला वर्षहरुमा त्यस्ता वस्तुहरुको विक्री वितरणमा लाङटाङ राष्ट्रिय निकुन्जले कडाइ गरेको छ । दुप्चेश्वर लाङटाङ राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने भएका कारण त्यसमा कडाइ गरेको हो । तर, आफ्ना खेतबारीमा भएका बाँस तथा निगालोबाट सामग्री उत्पादनमा निकुन्जले बाटो खोली दिएको छ । स्थानिय सरकारले यस विषयमा समन्वय गराएर हस्तकलाका समग्रीको उत्पादन बढाउने हो भने पनि यसबाट यस क्षेत्रमा ठूलो रकम भित्रिनेछ । दुप्चेश्वर मन्दिर आसपासको क्षेत्र देशमै प्रख्यात समुद्रफिनी धानका लागि प्रसिद्ध छ । यस्ता दुर्लभ कृषि उपजको उत्पादन बढाई विक्री वितरणको व्यवस्था मिलाउन सकेमा त्यसबाट पनि आर्थिक लाभ लिन सकिन्छ ।

यसबाहेक दुप्चेश्वर मन्दिरलाई जोडेर निर्माण गर्न लागिएको समुन्द्रटार स्थित चक्रेश्वर मन्दिर, रुकमणी देविस्थान हुँदै दुप्चेश्वर र बछला जोड्ने धार्मिक परिपथको ट्रयाक खन्ने काम राजनीतिक खिचातानीका कारण करीब ३ सय मिटर बाँकी छ । यदि उक्त ३ सय मिटर बाटो जोडिने हो भने दुप्चेश्वर मन्दिर पुग्ने बैकल्पिक मार्ग खुल्ला हुन्छ । जसका कारण मुख्य मेलामा हुने ट्राफिक समस्या आफैँ समाधान हुन्छ । उक्त विवाद मिलाएर मन्दिरसम्मको बाटो खुल्ला गर्नु पनि स्थानिय सरकारकै दायित्व हो । जनप्रतिनीधिहरुले पनि भोटको जोड घटाउमा नलागिकन धार्मिक र क्षेत्रगत विकासमा दत्तचित्त भएर लाग्नु अहिलेको आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय