AdvertImage

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षले भोलिदेखि बहस गर्ने

समाचार डेस्क १८ माघ २०७७, आईतवार २२:०६
               
AdvertImage                        
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षले भोलिदेखि बहस गर्ने
AdvertImage

माघ १८, अखबारपाटी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध संवैधानिक इजलासमा चलिरहेको सुनुवाईमा निवेदकका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ। प्रतिनिधि सभा विघटन गर्ने प्रम ओलीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १३ जनाको रिट निवेदन दर्ता भएको थियो । उक्त रिटमाथी माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस चलिरहेको छ।

निवेदकका तर्फबाट करिब तीन सय जना कानुन व्यवसायीले वकालतनामा भरेकोमा करिब ७० जनाले मात्र बहस गरेका छन्। निवेदकको तर्फका कानुन व्यवसायीको बहस सकिएसँगै भोली सोमबारदेखि सरकारी पक्षका कानुन व्यवसायीको बहस सुरु हुनेछ। बहसका लागि सरकारी पक्षबाट ११ जना सरकारी वकिल र ८८ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा अन्यौलताको अवस्था आएको छ । प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको हो ।

निवेदकका तर्फबाट बहस सकिएपछि न्यायाधीशले सरकारी पक्षका कानुन व्यवसायीलाई बहसका लागि भोलीबाट समय दिनेछन् । बहसका लागि सरकारी पक्षका कानुन व्यवसायी सुशिल पन्तले सरकारी वकिल ११ जना रहेको र बाँकी अन्य कानुन व्यवसायी रहेको इजलासका न्यायाधीशलाई जानकारी समेत दिएका छन्।

न्यायाधीसले बहसलाई समय सिमाभित्र रहेर टुंग्याउन समेत आग्रह गरेका छन् । यस अघि पनि बहस दोहोरिएको भन्दै निवेदकतर्फका कानुन व्यवसायीलाई छोट्याउन पटक–पटक आग्रह गरेका थिए।