AdvertImage

दुप्चेश्वरमा सामुदायिक घुम्ती कानुनी क्लिनिक सञ्चालन

समाचार डेस्क १५ माघ २०७७, बिहीबार २०:५०
               
AdvertImage                        
दुप्चेश्वरमा सामुदायिक घुम्ती कानुनी क्लिनिक सञ्चालन
AdvertImage

माघ १५, नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा सामुदायिक घुम्ति कानुनी क्लिनिक सञ्चालन भइरहेको छ । गाउँगाउँमा विद्यमान समस्याहरुमाथी कानुनी उपचारको लागि दुप्चेश्वर गाउँपालिकाले राष्ट्र निर्माण मञ्च नेपालको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको वडा नं. २, ३ र ७ मा सञ्चालन भइसकेको उक्त कार्यक्रम भोली १६ गते वडा नंंं. ४ र त्यसपछि क्रमैसँग वडा नं. ५ र छ मा सञ्चालन हुने दुप्चेश्वर गाउँपालिकाले जानकारी गराएको छ ।


मुलुकले २०७२ सालमा नयाँ संविधान पाएको तर संविधानले सामाजिक समस्या समाधानका लागि कस्तो कानुनी व्यवस्था गरेको छ भन्ने धेरैलाई जानकारी नभएको हुँदा जनचेतनाका लागि यस किसिमको कार्यक्रम आयोजना गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले बताए । उनले भने, ‘स्थानिय सरकार २०७२ सालको संविधानको उपज हो, त्यसैले आम सर्वसाधारणले भोगेका हर सुखदुःखमा सहभागी हुनु स्थानिय सरकारको कर्तव्य पनि हो ।’

नयाँ संविधान पाएकै वर्ष ०७२ सालमा नेपालले विनाशकारी भुकम्पको समेत सामना गर्नुपरेको थियो । सामुदायिक घुम्ति क्लिनिकले भुकम्पपीडितलाई समेत कानुनी सल्लाह र सहायता प्रदान गर्दै आएको छ । गाउँपालिकका हरेक वडा र टोलटोलमा पुगेर परामर्श दिने उद्देश्यले सुरु गरिएको उक्त क्लिनिकले, चेलिबेटी बेचबिखन, बालबिबाह, भेदभावलगायतका सामाजिक समस्याहरुमा समेत परामर्श उपलब्ध गराउँदै आएको छ ।

आम सर्वसाधारणमा क्लिनिक भन्ने वित्तिकै स्वास्थ्य सेवा उपलब्ध गराउने क्लिनिक भन्ने बुझाई छ । जबसम्म कानुनी स्वस्थ्य राम्रो हुँदैन तबसम्म जनस्वास्थ्य राम्रो बन्न नसक्ने दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्य बताउँछिन् । हरेक किसिमका परिवर्तन व्यक्ति स्वयं जागरुक नभएसम्म र त्यसलाई आत्मसात नगरेसम्म संभव नहुने हुँदा जनचेतनाका लागि यस्ता कार्यक्रम उपलब्धिमुलक हुने उनको भनाई छ । ‘हामीले हरेक व्यक्ति व्यक्तिलाई जागरुक बनाउने अभ्यास सुरु गरेका छौँ ।’ उनले भनिन्, ‘सामुदायिक घुम्ति कानुनी क्लिनिक त्यसैको सुरुआत हो ।’

सामुदायीक घुम्ती क्लिनिकमा कानुनी परामर्शका लागि कानुन विद् समेतको सहभागिता हुने हुँदा उक्त कार्यक्रम उपलब्धि मुलक रहने गाउँपालिका एवं राष्ट्र निर्माण मञ्चको ठम्याई छ । क्लिनिकले विद्यमान सामाजिक समस्याको पहिचान, त्यसको कानुनी प्रावधान र उपचारको बाटो आदीका विषयमा जनचेतना जगाउने छ । गाउँपालिकाले उक्त कार्यक्रममा स्थानिय क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रछात्रा, महिला, जेष्ठ नागरिक आदिलाई विशेष प्राथमिकताका साथ सहभागी गराउँदै आएको छ ।

क्लिनिकले सामाजिक समस्या बाहेक भुकम्प र त्यसबाट सिर्जित परिस्थितीका कारण जोखिममा रहेका महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सुरक्षार्थ सामुदायिक घुम्ती क्लिनिकले टोल टोलमा गएर मनोविमर्श, कानुनी परामर्श आदि कार्यक्रम सञ्चालन गरिरहेको छ । कतिपय अवस्थामा घर र गाउँ समाजमा मुख खोल्न नसकेका पिडितहरुले यस किसिमको कार्यक्रमबाट लाभ लिनसक्ने गाउँपालिकाको अपेक्षा छ ।