AdvertImage

अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी

न्यूज ब्युरो १५ माघ २०७७, बिहीबार १५:२२
               
AdvertImage                        
अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
AdvertImage

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने कानुन व्यवसायीहरूले बताएका छन् ।

अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन हालेका थिए ।

न्यायाधीश मनोज शर्माको बिहीबार सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचाराधीन मुद्दामा बोल्दै भने, ‘प्रधानमन्त्री भनेर छोड्न हुन्न । उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ । अवहेलना मुद्दामा पाकिस्तानमा प्रधानमन्त्रीलाई बर्खास्त नै गरिएको थियो ।’

त्यस्तै, अधिवक्ता लोकेन्द्र ओलीले पनि प्रधानमन्त्रीलाई अदनलतमा बोलाएर सुनुवाइ हुनुपर्ने बताए । उनले भने, ‘अदालतप्रतिको विश्वास बढाउन पनि अवहेलना गर्नेहरूलाई उपस्थित गराउनुपर्छ । अदालतमा झिकाएर बयान गराएर कारबाही गर्नुपर्छ ।’

अधिवक्ता ओमप्रकाश अर्यालले सत्याग्रही गोविन्द केसीलाई अनसनस्थलबाट पक्राउ गरेर ९ घन्टा बयान गराएको भन्दै इजलासमा ओलीलाई बोलाउन माग गरेका थिए । अर्यालले यो फौजदारी अपहेलना भएकाले आफै उपस्थित गराएर लिखित जवाफ पेश गराउन माग गरेका थिए ।

ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र कञ्चनकृष्ण न्यौपाने निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा बहस गर्दै कानुन व्यवसायीहरुले प्रधानमन्त्रीलाई बोलाउन माग गरेका हुन् ।