AdvertImage

आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान

अखबार पाटी १४ माघ २०७७, बुधबार १८:५३
               
AdvertImage                        
आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
AdvertImage

१४ माघ,नुवाकोट

सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गरेको छ।

ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिएको हो ।
‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ। जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ। खोप लगाएको ठाउँमा दुख्न सक्छ। डाबर देखिन सक्छ। ती असर केही समयपछि आफैं हराएर जाने हुन्छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए।

कतिपय अवस्थामा यदाकदा औषधि पनि आवश्यक देखिन सक्छ। केही असर देखिए पनि आत्तिनु पर्दैन।’
‘यो खोप सुरक्षित र प्रभावकारी छ’, खोप शाखा प्रमुख डा. गौतमले भने, ‘अरू मुलुकले नपाउँदै हामीले पाएका छौं। ढुक्क भएर लगाउन सकिन्छ।’

पहिलो चरणमा भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज लगाउन लागिएको हो। प्रदेश १ मा ९६ हजार, प्रदेश २ मा ३४ हजार, बागमतीमा ७६ हजार डोज खोप भण्डारण गरिएको छ। त्यस्तै गण्डकी प्रदेशमा ४० हजार, लुम्बिनीमा ८८ हजार, कर्णालीमा १२ हजार र सुदूरपश्चिममा १६ हजार खोप पुर्‍याइएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिला र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप अभियानमा सहभागी गराइनेछैन। खोप लगाउनेलाई खोप लगाएको प्रमाणका रूपमा परिचयपत्र वितरण गरिनेछ।

परिचयपत्रमा खोप लगाउने व्यक्तिको नाम, उमेर, पालिका, वडा नम्बर, सम्पर्क नम्बर, पहिलो र दोस्रो पटक खोप लगाएको मिति, खोपको नाम, खोपको ब्याच नम्बर तथा खोप लगाइदिने स्वास्थ्यकर्मीको नाम उल्लेख हुन्छ।

प्रवक्ता डा. गौतमले एउटा डोज लगाएको चार सातापछि दोस्रो पटक लगाउनुपर्ने बताए। दोस्रोपटक खोप लगाउँदा कार्ड अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम बनाइएको छ।