AdvertImage

बीबीएल : सुधारिँदै सन्दीपको इकोनमी, सर्वाधिक विकेटको सूचीमा यस्तो छ स्थान

न्यूज ब्युरो १२ माघ २०७७, सोमबार ०६:५८
               
AdvertImage                        
बीबीएल : सुधारिँदै सन्दीपको इकोनमी, सर्वाधिक विकेटको सूचीमा यस्तो छ स्थान
AdvertImage

१०औँ संस्करणको बिग बास लिग (बीबीएल)मा सर्वाधिक विकेट लिने सूचीमा अष्ट्रेलियाकै बलरको दबदबा छ । यो सूचीको टप-७ सम्म अष्ट्रेलियाकै बलर छन् ।
सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा पर्थ स्कोरचर्सका तीव्र गतिका बलर झय रिचडर्सन छन् । उनले १३ म्याच खेल्दा ६.७५ को इकोनमीमा २६ विकेट लिएका छन् ।

रिचडर्सनले आफ्नो टिमलाई प्लेअफमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका छन् । उनले जारी सिजनमा दुई म्याचमा त ४/४ विकेट लिएका छन् ।
त्यस्तै, यो सूचीको दोस्रो स्थानमा ब्रिसबेन हिटका मार्क स्टेकेटी छन् । उनले १३ म्याच खेल्दा ९.०८ को इकोनमीमा २२ विकेट हात पारेका छन् ।
त्यस्तै, वेस अगर (२१), तनवीर संघा (२०), नाथन इल्स (२०), एडम जम्पा (१९), पीटर सिड्डल (१८), राशिद खान (१६), बेन द्यारह्युज (१६) र पीटर हातजोग्लो १६ विकेटका साथ क्रमशः तेस्रो, चौथो, पाँचौँ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।
जारी सिजनमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि खेल्दैछन् । उनी यो पटक होबार्ट हरिकेन्सबाट बीबीएल खेलिरहेका हुन् ।

सन्दीपले सात म्याच खेल्दा आठ विकेट लिएका छन् । उनले तीन म्याचमा दुई/दुई, दुई म्याचमा एक/एक विकेट लिएका छन् ।
सन्दीप दुई खेलमा भने लगातार विकेटविहीन भए । यद्यपि पछिल्ला दुई म्याचदेखि भने उनले फेरि लय समातेका छन् ।

सन्दीपले इकोनमीमा पनि सुधार गरिरहेका छन् । सुरुवात म्याचमा खराब इकोनमीमा बलिङ गरे पनि पछिल्ला खेलमा भने उनकाे इकोनमी राम्रो हुँदै गएको छ ।
सन्दीपले सात म्याचमा ७.३७ को इकोनमीमा आठ विकेट लिएका हुन् । यो इकोनमी अघिल्लो म्याचको भन्दा राम्रो हो । उनले ६ म्याच खेल्दासम्म ७.६० को इकोनमीमा विकेट लिएका थिए ।
सन्दीप आइतबार साँझसम्म सर्वाधिक विकेट लिने बलरको सूचीको ३४औँ स्थानमा छन् । सुरुवातका ६ म्याच गुमाएकाले उनी यो पटक विकेट लिने सूचीको पुछारतिर रहेका हुन् ।
कोरानाका कारण अष्ट्रेलिया पुग्न ढिलाइ भएकाले सन्दीपले सुरुवातका ६ म्याच गुमाएका थिए । उनले गत दुई सिजनमा मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । तर, १०औँ सिजनका लागि मेलबर्नले सम्झौता नगरेपछि सन्दीपलाई होबार्टले अनुबन्ध गरेको हो ।