AdvertImage

वामन धाममा होचा पुड्का आरक्षण भवन सिलान्यास

समाचार डेस्क २६ पुष २०७७, आईतवार २०:१७
               
AdvertImage                        
वामन धाममा होचा पुड्का आरक्षण भवन सिलान्यास
AdvertImage

पुस २६, अखबारपाटी ।
काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका वडा नं। ९, सानिमहल स्थित वामन धाममा होचा पुड्काहरुको नमुना घरको सिलान्यास भएको छ । होचा पुड्काहरुको आरक्षणको उद्देश्यले निर्माण गर्न लागिएको उक्त भवनको सिलान्यास रोटरी क्लब अफ रुद्रमतिका डिष्ट्रिक गभर्नर राजीब पोखरेल र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।

वामन धाम तथा होचा पुड्काहरुको पर्यटकिय नमुना गाउँ बनाउने उद्देश्यले थालनी गरिएको उक्त भवनको कुल लागत २१ लाख रुपैयाँ रहेको छ । उक्त भवनको सम्पूर्ण खर्च रोटरी क्लब अफ रुद्रमतिले गर्ने प्रतिवद्धता रहेको क्रियाशिल होचापुड्का महिला संघकी अध्यक्ष सुन्दरी मिश्रले बताइन् ।

भवनको निर्माण कार्य होचापुड्का आरक्षण तथा वातावरण–पर्यावरण–पर्यटकिय विकास समितिले गर्ने भएको छ । यस अघि उक्त स्थानमा क्रियासिल होचापुड्का महिला संघको सक्रियतामा भदौ १३ गते वामन द्वादशीका दिन वामन भगवानको मूर्ति प्रतिस्थापन गरिएको थियो । उक्त वामन मन्दिरको पुजारी समेत जिवित वामन नै हुनेछन् ।

दक्षिणकाली मन्दिरबाट सिधा माथी करीब ३० मिनेटको पैदल यात्राबाट

पुग्न सकिने उक्त स्थान कुनै दिन पर्यटकिय गन्तब्यका रुपमा विकास हुनेछ । वामन धाम वामन भगवानको मन्दिर मात्र होइन देशभर छरिएर रहेका होचापुड्काहरुको आश्रय स्थल समेत बन्ने वामनधाम तथा होचापुड्का आरक्षण केन्द्रका संरक्षक शारदाप्रसाद धितालको भनाई छ ।

होचा पुड्का आरक्षण केन्द्र, वामन धाम निर्माणमा राज्यको अन्य निकायबाट खासै सहयोग नभए पनि दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नते र रोटरी क्लब अफ रुद्रमति र संरक्षक शारदाप्रसाद धितालको महत्वपूर्ण योगदान रहेको मिश्र बताउँछिन् । अखबारपाटीसँगको सम्बादमा मिश्रले वामन धाम निर्माणमा स्थानिय बासिन्दाको सहयोगलाई पनि सम्झिइन् ।