AdvertImage

शिवपुरीमा सुरु भयो एग्रिकल्चर टुरिजम भिलेज

समाचार डेस्क २४ पुष २०७७, शुक्रबार २१:१७
               
AdvertImage                        
शिवपुरीमा सुरु भयो एग्रिकल्चर टुरिजम भिलेज
AdvertImage

सफल पाहुना घरको सेवा सुरु

पुस २४, नुवाकोट ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ८ स्थित थापगाउँमा साढे ११ करोड रुपैयाँ भन्दा बढीको लगानीमा आचार्य एग्रिकल्चर टुरिजम भिलेज सञ्चालन गरिएको छ । कृषि र पर्यटनलाई एकैसाथ अघि बढाउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष बैकुण्ठ आचार्यले जानकारी दिए । कम्पनीले योजनाको पहिलो चरणमा होटल, गाई, भैँसी तथा बाख्रा पालन र तरकारी खेती सुरु गरेको छ । आगामी दिनमा गाईभैँसी र बाख्राको समेत संख्यात्मक विकास गर्दै जाने योजना आचार्य बताउँछन् ।

कम्पनीले मंगलबारबाट काठमाडौं छहरे सडक खण्डमा यात्रु लक्षित होटल  सञ्चालनमा ल्याएको छ । सफल पाहुना घर नामको नामबाट सञ्चालनमा आएको उक्त होटल खासगरेर टोखा छहरे सडक खण्ड हुँदै आवत जावत गर्ने यात्रु लक्षित गरिएको छ । होटलले स्थानिय उत्पादनको प्रयोगलाई प्राथमिकतामा राखेको बताएको छ । दुप्चेश्वर गाउँपालिका स्थित शिखरवेशीको प्रख्यात चामल र अन्य उत्पादन भने फार्मकै रहने आचार्यको भनाई छ ।

काठमाडौं छहरे रुट भएर आउने यात्रुहरुको सुविधा र आफ्ना उत्पादनको बजार प्रवर्धनका लागि होटलको अवधारणा बनाइएको आचार्यको भनाई छ । कम्पनीले होटलसँगै गाडी पार्किङ र आधुनिक किसिमको सर्विसिङ सेण्टर समेत सञ्चालन गर्ने तयारी गरिरहेको छ । यात्रुहरुका लागि शौचालयको अभावका कारण कतिपय स्थानमा होटल भए पनि गाडी रोक्ने र खाजा खाने अवस्था छैन । तर, सफल पाहुना घरमा यात्रु लक्षित गरेर महिला र पुरुषका लागि गरेर ८ वटा शौचालयको समेत व्यवस्था गरिएको छ ।

कम्पनीले होटल परिसरमै आफ्ना उत्पादनको विक्री कक्ष समेत सञ्चालन गर्ने योजना बनाएको छ । विक्री कक्षले आफ्ना उत्पादनहरुको विक्री प्रवर्धनमा सहयोग गर्ने कम्पनीको ठहर छ । कम्पनीले आफ्नै फार्मको दुधबाट रसवरी लगायत दुधजन्य पदार्थको उत्पादन समेत सुरु गरिसकेको छ । आगामी दिनमा दुधजन्य अन्य उत्पादन समेत गरिने आचार्यले बताए ।

कृषि, पशुपंक्षि पालन, होटल तथा होमस्टे सञ्चालन लगायत क्षेत्रमा काम गर्ने योजना बनाएको कम्पनीले गाई, भैँसी र बाख्रा पालन यस अघि नै सुरु गरिसकेको थियो । यी सबै गतिविधि सञ्चालनका लागि आचार्य एग्रो टुरिजम भिलेजले शिवपुरी ८ थापागाउँमा एक सय ५० रोपनी भन्दा बढी जमिन भाडामा लिएको छ ।

भाडामा लिएको उक्त जमिनमा कम्पनीले गाईभैँसी, बाख्रा, तथा कुखुरा पालन, तरकारी तथा फलफूल खेती, पशुवस्तुका लागि घाँस खेती, होटल तथा होमस्टे सञ्चालन गर्नेछ । सोही अनुरुप कम्पनीले सडक छेउमा सुविधा सम्पन्न होटल, माथीपट्टीको डाँडाको थुम्कोमा होमस्टे एवं बाख्रा पालन र फलफुल खेती, सडक भन्दा तल गाई भैँसीको फार्म निर्माण गरिरहेको छ । सुरुवाती चरणमा आचार्य एग्रिकल्चर टुरिजम भिलेज दुधालु भैँसी र होलिस्टिन गाई खरिद गरिसकेको छ भने केही बाख्रा समेत खरिद गरिसकेको छ ।

के हो एग्री टुरिजम ः

एग्रो टुरिजम एग्रीकल्चर अर्थात कृषिमा आधारित पर्यटन व्यवसाय हो । जहाँ आगन्तुकहरु कृषि फार्मको अवलोकन वा भ्रमणका लागि आउँछन् । फार्ममा उपलब्ध सामग्रीबाट त्यहिँ पकाइएको खाना खान्छन् र बस्छन् । पाहुनाहरुको सत्कार एवम् मनोरन्जनका लागि स्थानियहरुबाटै लोक लयका गीत गाउनु, जातिय वा भेगीय सँस्कृति झल्कने खालका नृत्यहरु प्रस्तुत गर्नु एग्री टुरिजमको अर्को आकर्षण हो ।

साथै फर्कने बेलामा पर्यटकहरुलाई फार्ममै उत्पादित वस्तुहरु खरिद गरी कोशेलीका रुपमा लैजाने वातावरण तयार गरी बढी आर्थिक उपार्जन समेत गर्न सकिन्छ । यसबाट कृषि फार्मको आयमा बढोत्तरी हुन्छ भने आन्तरिक तथा वाह्य पर्यटकले नयाँ किसिमको अनुभूति गर्न पाउँछन् । आचार्य एग्रिकल्चर टुरिजम भिलेजले त्यस्तो कृषि गाउँको अवधारणा बनाएको छ जहाँ कृषिलाई व्यावसायीकरण गर्नुका साथै त्यसैको जगमा पर्यटन व्यवसायलाई समेत अघि बढाइने छ ।