


पुस २२, अखबारपाटी ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका स्थित महादेव माद्यमिक विद्यालय निर्वाचनमय भएको छ । विद्यालयले सामाजिक अध्ययन विषय अन्तरगत विद्यार्थीलाई निर्वाचन प्रकृया बुझाउन आयोजना गरेको नमुना निर्वाचन साँच्चैको निर्वाचनको अनुभूति दिलाउने खालको छ ।
बुधबार बेलुकीपख अखबारपाटीका प्रतिनीधि पुग्दा कोही विद्यार्थी आफ्नो दललाई मत मागिरहेका भेटिए भने कोही मतदाताको जोडघटाउमा लागेको देखियो । विद्यालय प्रसाशनले उक्त नमुना निर्वाचनको पर्यवेक्षणका लागि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा, वडा कार्यालय लगायत स्थानिय सरकारी कार्यालयहरुलाई पत्र पठाइसकेको छ ।
यस्ता गतिविधिले विद्यार्थीमा निर्वाचन प्रकृयाका विषयमा बोध हुनुका साथै उनिहरुमा नेतृत्व गर्ने क्षमता विकास हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद गुरागाईंले बताए । अहिलेसम्म अन्य विद्यालयहरुमा सम्पूर्ण तयारी सहित विधिवत रुपमा यस्तो निर्वाचन नभएका कारण यो ऐतिहासिक हुने उनको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिको निर्णयमा हुन लागेको उक्त निर्वाचनमा विद्यार्थीले ‘विद्यार्थी विद्यालय सुधार समिति’का लागि भाग लिँदै छन् । दल दर्ताका लागि बुधबारसम्मको समय दिइएकोमा घोषणा पत्र, समर्थकको हस्ताक्षर सहित चार ओटा दलले दर्ता गराएको विद्यालयका प्र.अ. रमेश थापाले जानकारी दिए ।
उक्त नमुना निर्वाचनमा भाग लिन चाहने विद्यार्थीले भोली विहिबार २ बजेसम्ममा मनोनयन दर्ता गराईसक्नु पर्ने छ । रमाइलो कुरा के छ भने जनजातीको बाहुल्य रहेको उक्त विद्यालयमा गैरजनजाती र महिलाका लागि आरक्षण कोटा निर्धारण गरेको छ । अल्पसंख्यकको प्रतिनीधित्व सुनिश्चित गर्न विद्यालय प्रशासनले गरेको यो निर्णय अलि नौलो खालको छ । यसबाट समावेशीकरणका विषयमा बुझाउन थप मद्दत पुग्ने थापा बताउँछन् ।
अध्यक्ष र उपाध्यक्ष सहित कुल सात सदस्यका लागि हुन लागेको उक्त नमुना निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष फरक लिङ्गको हुनुपर्ने छ । त्यसैगरी दुई जना सदस्य अनिवार्य छात्रा हुनुपर्नेछ भने एकजना गैर जनजाती हुनुपर्ने व्यवस्था गरिएको छ । उक्त नमुना निर्वाचनका लागि निर्वाचन आयुक्तको टोलीले मत पत्रको समेत तयारी गरिसकेको छ भने मत दान अधिकृत खटाइसकिएको बताइएको छ ।
झट्ट हेर्दा साँच्चैको निर्वाचनको झल्को दिने गरी हुन लागेको उक्त नमुना निर्वाचनमा अभिभावकको समेत चासो बढेको देखिन्छ । विद्यालयले अधिकारीक रुपमा अभिभावकलाई निमन्त्रणा नगरे पनि कतिपय अभिभावकहरु स्वस्फूर्त रुपमा आफ्ना छोराछोरीले भाग लिएको निर्वाचन हेर्न जाने मनस्थितीमा रहेको अखबारपाटीसँग बताए ।
भर्खरै प्रकासित
- दुप्चेश्वरमा सामुदायिक घुम्ती कानुनी क्लिनिक सञ्चालन
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- कोरोना खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाए
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- आज बाट सातै प्रदेशमा सुरु भयो कोरोना खोप अभियान
- पहिलो दिन आज सबैभन्दा बढी खोप बागमती प्रदेशमा २६ सय ९४ जना ले लगाए
Trending News
- सबैको चासोको बिषय : आईपीएलको अक्सनको मिति तोकियो (पुरा जानकारी)
- कोभिड विरुद्धको खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा असर देखियो
- दुप्चेश्वरमा सामुदायिक घुम्ती कानुनी क्लिनिक सञ्चालन
- अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई अदालतमा बयान लिई कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- साँसद मोहन आचार्यको पहलमा त्रिशुली अस्पताललाई ४६ लाख सहयोग
- शैक्षिक सत्र जेठसम्म लम्ब्याउने मन्त्रालयको तयारी