AdvertImage

यसरी जोगी बने क्षेत्रिय प्रसाशकको सवारी चालक

समाचार डेस्क १७ पुष २०७७, शुक्रबार १९:४७
               
AdvertImage                        
यसरी जोगी बने क्षेत्रिय प्रसाशकको सवारी चालक
AdvertImage

पुष १७, अखबारपाटी ।
सन्यासी ओम दासलाई थाहा थिएन उनी एक दिन संसारिक मोह त्यागेर सन्यासी बन्नेछन् । घर, परिवार र परिवार पालिने जागिर त्यो पनि सरकारी सवै सबै चटक्कै छाडेर सन्यासी भएका ओम दास कुनै दिन मध्य पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रिय प्रसाशकको सवारी चालक थिए ।

उनले २०५६ सालदेखी २०७० सालसम्म १४ वर्ष सरकारी जागिर खाए । तर, भोग विलासमा उनको मन पटक्कै अडिएन, पेन्सनको लालसा पनि भएन । एक दिन सबै छाडे र सन्यास लिए । साविक सुदूरपश्चिम, सेती अञ्चल डोटी जिल्लाको खप्तड क्षेत्रमा जन्मिएका ओम दासको  नागरिकताको नाम गंगाप्रसाद बाग्चन हो । ओम दास भने उनको गुरुले राखिदिएको नाम हो ।

बाग्चनले जागिरे छँदा नै २०६८ सालमा गुरु तलवार गिरीसँग दिक्षा लिए । दिक्षा लिए पछि गुरुले उनको नाम ओम दास राखिदिए । सन्यासीहरुमा दिक्षा पाए पछि गुरुले नयाँ नाम राखिदिने परम्परा रहिआएको छ । यसरी हुँदा खाँदाको जागिर र परिवार छाडेर सन्यासी बनेर तिर्थाटन गर्दै हिँडेका सन्यासी ओम दास हाल दुप्चेश्वर महादेवको मन्दिर परिसरमा रहँदै आएका छन् ।

परिवार किन त्याग्नु भयो भन्दा उनी भन्छन्, ‘परिवार र बच्चा जीवन जीउने आधार हुन् तिनलाई किन त्याग्नु ? उनीहरुलाई त्यागेर म कसरी ठूलो हुन सक्छु । उनीहरु सबै हृदयमा छन् म त केवल परमात्माको शरणमा आएको मात्र हुँ । आफूलाई भोलेनाथमै समर्पित गरेको मात्र हुँ ।’ देशका विभिन्न तिर्थहरु घुम्ने क्रममा गत साउन २८ गते दुप्चेश्वर मन्दिरमा आइपुगेका बाग्चनलाई अन्त जान मनै लागेन उनी दुप्चेश्वरकै सानिध्यमा बस्ने र शरणागति लिने इच्छा राख्छन् ।

तर, केही समय अघि दुप्चेश्वर मन्दिर परिसरमा उनी बस्दै आएको टेण्टमा आगलागी भयो । आगो लगाउनेलाई कारबाही र क्षतिपुूर्तिको माग गर्दै अहिले सन्यासी ओम दास प्रहरी चौकी धाइरहेका छन् । अब कहाँ बस्नुहुन्छ भन्दा उनी भन्छन्, ‘सन्यासीको पुग्ने पर्ने गन्तब्य कहाँ छ र ?  जाहाँ पुग्छु त्यहिँ रात कटाउँछु ।’ अनि गुजारा कसरी हुन्छ भन्ने प्रस्नमा उनी भन्छन्,’ भोलेनाथ र भक्तहरुको कृपाले चलिरहेको छ ।’