AdvertImage

भेरीखोला मुहानमा ११ ओटा गाई मृतावस्थामा फेला पर्यो

समाचार डेस्क ५ मंसिर २०७७, शुक्रबार १९:४२
               
AdvertImage                        
भेरीखोला मुहानमा ११ ओटा गाई मृतावस्थामा फेला पर्यो
AdvertImage

मंसिर ५, अखबारपाटी । बैतडी जिल्लामा शुक्रबार ११ गाई मृतावस्थामा फेला परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं. ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन्।

११ ओटा गाई मरेको अवस्थामा फेला परेको भन्ने जानकारी स्थानीयवासीबाट प्राप्त भएकोले उक्त स्थानमा प्रहरी टोली जाने तयारीमा रहेको बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। गाई मृत फेला परेको स्थानमा रहेको पानीको मुहान पुर्चौंडी–६, मुडेलीका ८० घरपरिवार र एक विद्यालयले प्रयोग गर्दै आएका थिए। गाउँमा आउने खानेपानीको मुहानमै मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीयवासीले बताएका छन् ।

स्थानियबासी सीता साउँदका अनुसार पानीको मुहानमै गाई मरेका हुँदा गाउँमै खानेपानीको समस्या हुनुका साथै उक्त स्थानमा दुर्गन्धसमेत फैलिएको छ। मडेलीका बासिन्दाका साथै सोही स्थानमा रहेको पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकालाई खानेपानीको समस्या भएको छ । जिल्लाको कुवाकोट–सुवालेक सडकखण्ड नजीकै रहेको पानीको मुहान वरपर मृतावस्थामा भेटिएको गाईहरु सडकबाटै फालिएको हुन सक्ने स्थानीयवासीको अनुमान छ ।

उक्त गाईहरु पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले लगेको बुझिएको छ । पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई रु. २५०० का दरले ती व्यक्तिको जिम्मा लगाएको उपप्रमुख सरस्वती कोलीले जानकारी दिएकी छिन् । उनीहरुले ताक्लाकोट लैजाने सर्तमा नगरपालिकाबाट लगेको उनले बताइन्, ‘बाटामा कतै नछाड्ने शर्तमा उनीहरुले गाई लगेका हुन्।’ गाईको हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताका छन् ।