


अमेरिका । कोरोना महामारीको संकटलाई निर्मुल पार्न भ्याक्सिनको विकासमा विश्वभरका वैज्ञानिकहरु लागिरहेका छन् । साथै, यसको परीक्षण गर्ने नयाँ–नयाँ प्रविधिको पनि विकास भइरहेको छ ।
अहिले प्रायजसो आरटी पीसीआर विधिबाट कोभिडको परीक्षण भइरहेको छ । यसबाहेक आरडिटी र एन्टिजेन विधिबाट पनि कोभिड परीक्षण हुने गरेको छ । यसैबीच अमेरिकामा कोभिड–१९ परीक्षणका लागि नयाँ विधिले मान्यता पाएको छ । मान्यता पाएको किटले घरमै बसेर कोरोनाको परिक्षण गर्न सकिन्छ। अमेरिकाको फुड एण्ड ड्रग एडमिस्ट्रेसन (यूएसएफडीए) ले यस खालको कोभिड परीक्षण किटलाई मान्यता दिएको हो।
यस किटले घरमै रहेर आफैँले कोभिड परीक्षण गर्न सकिने र आधा घण्टामा नतिजा आउने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । लुसिसा हेल्थले निर्माण गरेको यस किटलाई यूएसएफडीएले मंगलबार मान्यता दिएको बताइएको छ । मान्यता पाएको उक्त विधिमा आफैंले आफ्नो नाकबाट स्वाब निकाली किटमा राखेर परीक्षण गर्न सकिन्छ । यूएसएफडीएका अनुसार १४ वर्षभन्दा माथिका व्यक्तिले प्रयोग गर्नसक्छन् । यो इमरजेन्सीमा प्रयोग गर्न सकिने र अस्पतालमा पनि यसको प्रयोग गर्न मिल्ने यूएसएफडीएले जनाएको छ ।