AdvertImage

तयार भयो दुप्चेश्वरको माङ्गलिङमा ‘रष्टिक हाउस’ (फोटो सहित)

समाचार डेस्क १३ कार्तिक २०७७, बिहीबार १४:१७
               
AdvertImage                        
तयार भयो दुप्चेश्वरको माङ्गलिङमा ‘रष्टिक हाउस’ (फोटो सहित)
AdvertImage

कात्तिक १३, नुवाकोट
दुप्चेश्वर गाउँपालिकाको माङ्गलिङमा ‘रष्टिक हाउस’ निर्माण सम्पन्न भएको छ । केही समय भित्रै उक्त रष्टिक हाउस सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिँह तामाङले बताएका छन् ।

दुप्चेश्वरको वडा नं.३ र ४ को करीब करीब बीचमा पर्ने माङ्गलिङमा निर्माण गरिएको रष्टिक हाउस एक प्रकारको चिस्यान केन्द्र नै हो । गाउँपालिकाको वडा नं २, ३, ४ लाई लक्षित गरी निर्माण गरिएको रष्टिक हाउस सञ्चालनमा आए पछि त्यस क्षेत्रमा उत्पादित आलु, भुँई स्याउ लगायत उत्पादनहरुको भण्डारण गरिने बताइएको छ ।

न्युनतम ५ टन क्षमताको उक्त रष्टिक हाउस समूह मार्फत सञ्चालनको तयारी भइरहेको सहकार्य समाज नेपालका सामाजिक परिचालक कृष्णजंग थापाले बताए । सहकार्य समाज नेपालले स्थानीय साझेदारका रुपमा गा.पा.सँग सहकार्य गर्दै आएको छ ।

 

रष्टिक हाउस निर्माणमा गा.पा.ले थाई सरकारको सहयोग उपलब्ध गराउने युएनडीपीसँग सहकार्य गरेको छ । कुल १५ लाख ३७ हजार ९ सय ९९ रुपैयाँ लागत रहेको उक्त रष्टिक हाउस निर्माणमा स्थानिय समुदायको योगदान १ लाख, ९० हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने बाँकी रकम मध्ये गा.पा. र युएनडीपीको योगदान ५०–५० प्रतिशत रहेको छ ।

रष्टिक हाउस निर्माण पछि भौगोलिक कठिनाईका कारण वर्षाको समयमा बजारसम्म पुर्याउन हुने समस्याबाट किसानले मुक्ती पाउने गा.पा अध्यक्ष तामाङ बताउँछन् । साथै, भण्डारण गरेर राखिएका उत्पादनहरु बेमौसममा बजारमा पुर्याउँदा किसानलाई बढी मुनाफा हुने उनको भनाई छ ।

त्यसैगरी गाउँपालिकाको वडा नं. १ स्थित अर्को भौगोलिक क्षेत्र घ्याङफेदीमा समेत रष्टिक हाउस निर्माणको तयारी भइरहेको गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यले जानकारी दिएकी छिन् । सूर्यमती र चन्दमती दुई नदिको मुहानसम्मै फैलिएको गाउँपालिकाको दुवै क्षेत्रमा रष्टिक हाउस निर्माण भए पछि माथील्ला क्षेत्रहरुको किसानका उत्पादनको सुरक्षा हुने अपेक्षा लिइएको उनको भनाई छ ।

दुप्चेश्वर गाउँपालिकाले वडा नं. ६ समुन्द्रटारमा कृषि उपजसंकलन केन्द्र समेत निर्माण गरिरहेको छ । हाल उक्त कृषि उपज संकलन केन्द्रको निर्माण करीब करीब अन्तिम चरणमा पुगेको थापाले बताएका छन् । उक्त संकलन केन्द्र आगामी मंसिरबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।

यी सबै निर्माण कार्यहरुमा गा.पा.ले युएनडीपी, पूर्णिमा–सम्बोधन (सप्रोस) परियोजना, शेयर एण्ड केयर र सूर्यमती चन्द्रमती सहकारी संस्था लगायत संघसंस्थासँग सहकार्य र साझेदारी गरेको छ । यी लगायत गा.पा.का यन्य कार्यहरुमा स्थानिय साझेदारका रुपमा सहकार्य समाज नेपालले काम गर्दै आएको छ ।