AdvertImage

दशैंमा टिका लगाउँदा भनिने मन्त्रको यस्तो छ अर्थ, उच्चारण यसरी गर्नुहोस्

समाचार डेस्क ९ कार्तिक २०७७, आईतवार ११:१०
               
AdvertImage                        
दशैंमा टिका लगाउँदा भनिने मन्त्रको यस्तो छ अर्थ, उच्चारण यसरी गर्नुहोस्
AdvertImage

कात्तिक ९, अखबारपाटी ।
दशैंमा हामी आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टिका र आशिर्वाद ग्रहण गर्छौं । टिका लगाउँदा मान्यजनहरुले संस्कृतमा मन्त्र उच्चारण गरिरहेका हुन्छन् ।

आशिर्वाद दिँदा भनिने मन्त्रमा सामान्यतयाः २ किसिमका समस्या देखिने गरेको छ । पहिलो भाषागत समस्या हो । किनभने सामान्य मानिसले अहिले संस्कृत बुझ्दैनन् फलस्वरुप मन्त्रमा के भनिएको छ त्यो पनि थाहा हुँदैन । अर्को समस्या भनेको मन्त्र सुनेको भरमा कण्ठ गर्दै जाँदा मानिस पिच्छे फरक फरक उच्चारण हुँदा मन्त्रको अर्थनै फरक पर्न जाने हुन्छ । चोहे जे होस्, आशिर्वाद दिनेले सत्कामना गरेरै आशिष दिएका हुन्छन् । आज हामीले उल्लेखित २ वटा समस्याको समाधान गर्ने प्रयास गरेका छौँ । जसबाट उच्चारणमा भएको समस्या र अर्थका विषयमा हाम्रा पाठकहरुलाई सहज हुन्छ भन्ने अपेक्षा लिएका छौँ ।

दशैंमा टिका लगाउँदा महिला र पुरुषका लागि फरक फरक मन्त्र प्रचलनमा छन् । समग्रमा दुवै खाले मन्त्रले धर्म र पौराणीक पात्रहरुसँग दाँजेर उनिहरु जस्तै हुनु भन्ने आशय राख्छ । हामीले यहाँ पुरुष पात्रलाई दिइने र महिला पात्रलाई दिइने आशिर्वचनको अर्थ समेत खुलाउने प्रयास गरेका छौँ ।

पुरुषहरुका लागि भनिने आशिर्वचन
आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ॥

द्रोणचार्यको पुत्रको जस्तो आयु होस् । द्रोणका छोरा अस्वस्थामा हुन् । उनी अष्ट चिरन्जिवी मध्येका एक हुन् । त्यसैले उनीसँग दाँजेर उनकै जस्तो आयु होस् भनिएको हो ।
राजा दशरथको जस्तो श्रीसम्पती होस् अनि राम अर्थात रघुवंशका कुल दिपक राघवको जस्तो शत्रुलाई परास्त पार्न सक्ने क्षमता होस् भनिएको हो ।

ऐश्वर्य नहुषे अर्थात नहुष राजाको जस्तो ऐश्वर्य होस् भनिएको छ । नहुस स्वर्ग र पृथ्वी दुवैमा राज गरेका राजा हुन् । उनी अत्यन्त बिलासी भएका कारण उनीसँगै दाँजेर उनकै जस्तो सुख ऐश्वर्य होस् भनिएको हो ।

त्यसै गरि मानञ्च दुर्योधनेको अर्थ महाभारतका एक प्रमुख पात्र दुर्योधनको जस्तो मान होस् भनिएको छ । दुर्योधनले आफुले हार्ने जान्दाजान्दै पनि आफ्नो बचन अनि
मानका लागि महाभारत युद्ध लडेका हुन् । आफ्ना मानका खातिर रत्तिभर पनि नझुक्ने दुर्योधनको यो प्रवृतिलाई पनि मन्त्रले समावेश गरेको छ ।

शौर्य शान्तनवे अर्थात् राजा सन्तनुको जस्तो शौर्य होस् । कृष्णका दाजु बलराम अर्थात हलधरको जस्तो बल होस् । कुन्तीपुत्रको जस्तो सत्यनिष्ठा होस् भनिएको छ । एकातिर युधिष्ठिरलाई धर्मराज अर्थात सत्यनिष्ठाबान राजाका रुपमा लिइन्छ भने अर्कोतिर कुन्तीकै कुमारी अवस्थामै जन्मिएका पुत्र कर्ण पनि दानी र आफ्नो बचनमा अटल रहने व्यक्तीका रुपमा परिचित छन् । उनले आफ्नो बचन पुरागर्न जन्मजात प्राप्त गरेका कवच समेत दान गरेका थिए । उनलाई थाहा थियो की, कवच दिए पछि उनको मृत्यू निश्चित छ । यद्यपि उनले आफ्नो बचन पुरा गरे । स्लोकको अन्तिम हरफको पहिलो वाक्यमा महाभारतकै अर्का पात्र विदुरको जस्तो ज्ञान होस् भनिएको छ । विदुर दासीका गर्भबाट जन्मिएका थिए । यद्यपि उनको ज्ञानको यश देश विदेशसम्म फैलिएको थियो । मान्यजनले आशिर्वादमा उनी जस्तै ज्ञानी हुनु भनेका हुन् । अन्तमा कृतिश्च नारायणे, अर्थात भगवान नारायणको जस्तो कृति होस् भनिएको छ ।

महिलाको लागि दिइने आशिर्वचनमा भनिने मन्त्र
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥

जिवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधी बाहीर छिन्, उनी प्रति नमन र मानव खप्परको माला लगाएकी कपालिनी प्रति हार्दीक नमन दुर्गतीको नाश गर्ने दुर्गा प्रति नमन, अनि एकाकार र सर्बशक्तिमान शिव प्रति नमन । क्षमा की देवी क्षमा प्रति नमन, र सबै जीवकी दाती धातृ प्रति नमन, हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहा प्रति नमन, मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रति नमन । सबैजना देवीलाई हार्दीक नमन ।

यस अर्थमा महिलालाई देवीका रुपमा पुजा गर्नुका साथै देवी समान बन्नु भन्ने आशय रहिआएको बताइन्छ । यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ । मंगलगुण कि देवी अनि सदासर्वदा विजयी जयन्तीप्रति हार्दीक नमन । आशा छ, यहाँहरुलाई पनि मन्त्र उच्चारणमा समस्या थियो भने यो सामग्रीले सहज भयो होला अपेक्षा लिएका छौँ । बडा दशैं सबैको शुभ होस् । अखबारपाटीका तर्फबाट सबैमा विजयादशमीको शुभकामना ।