AdvertImage

खाद्य र बाह्य बजारमा खसीबोकाको मूल्य किलोमै रु. १ सय भन्दा बढीको फरक

समाचार डेस्क ३ कार्तिक २०७७, सोमबार २०:१६
               
AdvertImage                        
खाद्य र बाह्य बजारमा खसीबोकाको मूल्य किलोमै रु. १ सय भन्दा बढीको फरक
AdvertImage

जम्मा १ हजार खसीबोका ल्याएर खाद्यले बजार मूल्य मात्र बिगारेको व्यापारीहरुको आरोप

कात्तिक ३, काठमाडौं ।

सोमबारबाट सरकारले दशैं लक्षित खसीबोकाको विक्री खुल्ला गरेको छ । बजार मूल्य नियन्त्रण गर्ने भन्दै सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किलोमै १०० रुपैयाँ भन्दा कम दर राखेर सोमबारबाट विक्री खुल्ला गरेको हो ।

कम्पनीले खसीबोकाको मूल्य प्रतिकेजी ५ सय ६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकेजी १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा विक्री समेत खुल्ला गरिसकेको छ । तर, खसी बजारमा भने जिउदो खसीको मूल्य प्रति केजी ६ सय रुपैयाँ देखि ६ सय ५० रुपैयाँ, बोकाको मूल्य प्रति केजी ६ सय ५० रुपैयाँ देखि ६ सय ८० रुपैयाँ र च्याङ्ग्राको प्रतिकेजी ९ सय रुपैयाँ देखि ९ सय ८० रुपैयाँ सम्म रहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारको दररेट भन्दा निकै कम मूल्यमा खसीबोका विक्री गरिदिँदा आफूहरु मर्कामा परेको व्यापारीहरुले बताएका छन् । कम्पनीले केबल १ हजार खसीबोका ल्याएर बजार मूल्य बिगारिदिँदा उपभोक्तामा अविश्वास बढेको उनीहरुको भनाई छ । दशैंको बजार माग अनुरुप सरकारी कम्पनीले ल्याएको खसीबोकाको संख्या नगन्य हो । उपत्यकामा सामान्यतया दैनिक ७०० देखि ८०० केजी जिउँदो खसी विक्री हुने गरेको तथ्यांक छ ।

खाद्यले बेचेको मूल्य व्यापारीहरुले किसानसँग खरिद गर्ने भन्दा कम रहेको काठमाडौं चौपाया खरिदविक्री प्रालीका अध्यक्ष जनककुमार खड्काको भनाई छ । बजार मूल्य नियन्त्रणका लागि भन्दै सरकारले अत्यन्तै कम मूल्य कायम गरिदिँदा व्पापारी र उपभोक्ताबिच द्वन्द्व सिर्जना हुने अवस्था रहेको उनले बताए ।

व्यापारीहरुले किसानबाट जिउँदो खसी प्रतिकेजी ५ सय ५० देखी ६ सय रुपैयाँसम्ममा खरिद गर्ने गरिएको बताएका छन् । यो वर्ष दशैँका लागि १५ देखि २० हजार खसीबोका अपुग हुने अनुमान गरिएको थियो। तर, मागको तुलनामा यति थोरै परिमाणमा खसीबोका ल्याएर बजारमात्र विथोलिएको खडका बताउँछन् ।

सरकारी कम्पनीले सस्तो मूल्यमै खसीबोका विक्री खुल्ला गरे पनि त्यसबाट सिमित उपभोक्ता मात्र लाभान्वित हुने देखिएको छ । केबल १ हजार खसीबोकाले उपत्यकाको माग धान्दैन । बाँकी उपभोक्ता खसी बजारमा जानुको विकाल्प छैन । यस्तोमा अन्तत व्यापारीहरुकै मूल्यमा किनबेच हुने विश्लेषकहरु बताउँछन् ।

काठमाडौं उपत्यकामा मात्र वार्षिक ६ लाख खसी–बोका खपत हुन्छ । मुलुकभर १ करोड १८ लाख खसी बोका उत्पादन हुने सरकारी तथ्यांक छ । दशैँमा उपत्यका भित्रने खसीबोका बिशेषगरेर हेटौंडा, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट आउने गर्छन् ।