AdvertImage

पसिना रोपेर पैसा फलाउनेहरुको कुरा

समाचार डेस्क ९ भाद्र २०७७, मंगलवार ०८:२७
AdvertImage

पसिना रोपेर पैसा फलाउनेहरुको कुरा
AdvertImage

-रामेश्वर धिताल

भदौ ९, नुवाकोट ।
जागीर छाडेर कृषि फार्ममा रमाउँदै…, कृषिबाट मनग्गे आम्दानी गर्दै युवा अथवा विदेशको कमाई छाडेर कृषि फार्म सञ्चालन, जस्ता हेडलाइनका खबरहरु सञ्चार माद्यममा बाक्लै आउने गर्छन् ।
र यो साँचो पनि हो । केही वर्ष अघिसम्म कृषिलाई हेयको दृष्टिले हेर्ने नेपाली समाजमा अहिले धेरैको आकर्षणको केन्द्र बनेको छ । अहिले यस क्षेत्रमा ठूला लगानी मात्र भित्रिएको छैन पढेलेखेका मानिसको समेत सहभागिता बढ्दै गएको छ । अझ कतिपयले त हुँदा खाँदाको जागिर छाडेर समेत कृषि क्षेत्रमा होमिएका छन् ।

 

फरक किसिमका सोच भएका, कृषि क्षेत्रप्रति लगाव भएका वा विदेशबाट फर्केर आउने धेरै मानिसहरु यस क्षेत्रमा अवद्ध हुँदै गएका पनि छन् । अझ वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका अधिकांश युवाले नेपाल फर्किए पछि कृषि क्षेत्रमै केही गर्ने योजना बनाइरहेका भेटिन्छन् । कतिपयले लगानी गरिसकेका पनि छन् ।

व्यावसायिक कृषितर्फ नेपाली युवाहरुको अकर्षण बढ्न थालेका कारण यस क्षेत्रमा वर्षेनी लगानी थपिँदो छ । कृषि क्षेत्रमा युवा वर्गको आकर्षणसँगै अत्याधुनिक प्रविधि सहित ठूला लगानी गर्ने क्रम पनि बढेको छ । करोडौं लगानीमा खुलेका त्यस्ता फार्महरु केहीले लगानी उठाइसकेका छन् भने केही संघर्षरत नै छन् ।

कतिपय किसानले कृषिलाई पर्यटनसँग एकिकृत गरी व्यवासय सञ्चालन गरिरहेका छन् । नुवाकोटका वैकुण्ठप्रसाद आचार्यको टिमले जिल्लाकै शिवपुरी गाउँपालिकामा एग्रो टुरिजम भिलेज सञ्चालनमा ल्याउने तयारी गरिरकेको छ । कृषि र पर्यटनमा गरेर करिब ८ करोड रुपैयाँ लगानी गरेर फरक ढंगबाट व्यवसाय गर्ने तयारी भइरहेको आचार्यले अखबार पाटीसँग बताएका छन् । आचार्यको टिमले शिवपुरी गाउँपालिकाको वडा नं. ८ स्थित थापागाउँको ९२ रोपनी जग्गा भाडामा लिएर काम थालिसकेको छ ।
गोरखाका राजेन्द्रराज पन्त, चितवनका योगेन्द्र खड्का, धादिङका नवराज आचार्य, सर्लाहीका अफजल हुसेन नेपालमा व्यावसायिक कृषिका अग्रणी किसान हुन् । यी प्रतिनीधि पात्रहरुले आफ्ना कृषि उद्योगहरुमा करोडौं लगानी गरेका छन् । लगानी मात्र होइन त्यसबाट मनग्य आम्दानी पनि गरिरहेका छन् । दुध तथा मासुजन्य वस्तुको देशमा हुने माग सम्बोधनमा महत्वपूर्ण भूमिका पनि खेलिरहेका छन् ।

तर, आम्दानी सोचेजस्तो सजिलो भने छैन । पशुपालनमा साढे दुई दशक भन्दा बढी समय विताएका पन्तको भनाई सापटी लिने हो भने कृषि फार्महरु घाँसमा आत्मनिर्भर नभएसम्म यस्ता पशुपालनबाट अपेक्षित मुनाफा लिन सकिँदैन ।
कामधेनु गाई पालन केन्द्रका सञ्चालक पन्त नेपालकै नमुना कृषि व्यवसायी हुन् । गोरखाको पालुङटारमा रहेको उनको फार्ममा ३ सयको हाराहारीमा गाई पालिएका छन् । करीब ४० जनाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर पाएका छन् । त्यस बाहेक उनको फार्मबाट अप्रत्यक्ष रुपमा धेरैले लाभ लिइरहेका छन् । मुख्य कुरा कृषि क्षेत्रमा लाग्न खोज्नेहरुका लागि आइडल बनेका छन् । उनले गाईं फार्मबाटै वार्षिक डेढ करोड भन्दा बढी आम्दानी समेत गरिरहेका छन् । पन्तलाई कृषि क्षेत्रमा गरेको योगदानको कदर गर्दै नेपाल सरकारले राष्ट्रपति पुरस्कारबाट सम्मानित समेत गरेको छ ।

सबै व्यवसायीहरु सफल हुन सकेका छैनन् । धेरै किसानहरुले यस क्षेत्रमा आएर लगानी डुवाएका पनि छन् । खासगरी देखासिकीमा र अनुदान पाउने आसमा अध्ययन नै नगरी हात हाल्नेहरु बढी असफल हुने चितवनका बाख्रा व्यवसायी योगेन्द्र खड्काको तर्क छ ।

खासगरी आहार र खोर व्यवस्थापन राम्रो हुन नसके पशुबस्तुहरुबाट सफलता पाउन नसक्ने उनी बताउँछन् । खड्का नेपालमा बोयर जातका बाख्रा पालनका लागि अग्रणी व्यवसायी हुन् । २०७० सालमा जगतपुर एग्रो प्रा.लि. नामको कम्पनी दर्ता गरेर व्यावसाय थालेका खड्काले बाख्रा पालनबाटै वार्षिक डेढ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरिरहेका छन् । खड्का पनि कृषि क्षेत्रमा गरेको योगदानका कारण राष्ट्रपति पुरस्कारबाट सम्मानित भइसकेका छन् । हाल खड्काको फार्ममा करीब ७ सय बोयर जातका बाख्रा छन् ।

तर कतिपय व्यवसायीहरुले आफू सरकारको गतिविधिबाटै ठगिएका बताउँदै आएका छन् । सरकारले कृषि क्षेत्रमा अनुदान दिने भन्दै अनावश्यक काम गर्न लगाई आफूलाई फसाएको निलकण्ठ द्वारिका कृषि फार्मका एक सञ्चालक निलकण्ठ मिश्रको आरोप छ ।
मिश्र र द्वारिका महर्जनको संयुक्त लगानीमा स्थापना भएको उक्त फार्म विश्व वैंकको सहयोगमा नेपाल सरकारको व्यावसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को चोथो लटमा पुरक अनुदानका लागि छनौट भएको थियो । पुरक अनुदानको नाममा आयोजनाले आफूलाई चाहिएको शिर्षकमा रकम नदिई र नचाहिएको शिर्षकमा स्विकृत गराई आफूलाई फसाएको उनी बताउँछन् । सहयोगको नाममा आफ्नो धेरै लगानी फसाएको र समय समेत वर्वाद पारेको उनको गुनासो छ । यदि सरकारले देशको सम्वृद्धि चाहेको हो भने कृषि क्षेत्रलाई पहिलो प्राथकितामा राखेर काम गर्नुपर्ने फार्मका अध्यक्ष द्वारिका महर्जन बताउँछन् ।

यस्ता आयोजनाहरुको झण्झटिलो प्रकृयाका कारण कतिपय व्यवसायीहरुले सम्झौता गर्ने बेलामा आएर अनुदान छाडेका पनि छन् । झण्झटिलो प्रकृया र लागनी गर्ने शिर्षकमा हुने हस्तक्षेपका कारण आफूहरुले अनुदान छाडेको अन्नपूर्ण कृषि अनुसन्धान केन्द्रका सञ्चालक मुक्तिनाथ पोख्रेलको भनाई छ । पोख्रेलसँगै उक्त कार्यक्रमबाट काठमाडौंकै अर्का व्यवसायी समिका बुढाथोकी, नुवाकोटका राजेन्द्र रिजाल जस्ता थुप्रै व्यवसायीहरुले अन्तिम चरणमा आएर हात झिके ।

तर कतिपय व्यवसायीहरुको गतिवीधि पनि संतोषजनक नदेखिएको सरकारी अधिकारीहरु बताउँछन् । प्याक्टको कार्यक्रममै करीव ४ लाख रुपैयाँ पर्ने एउटै जेनेरेटर चार ठाउँसम्म पुगेको भेटिएको एक अधिकृतले बताए । उनले भने, ‘फिल्ड भेरिफिकेशनमा जाँदा तोकिएको सबै सामान हुन्छ, तर देखाइसके पछि रातारात गायव भएको पनि पायौँ ।’ त्यस्तै, सरकारले बैंकहरुलाई अनिवार्य गरेको सहुलियत दरको कृषि कर्जा पनि पहुँचवालाका लागि मात्र सिमित भएको कृषकहरुको गुनासो छ ।

महिलाको सहभागिता
कृषि क्षेत्रको व्यवसायीकरणसँगै यो क्षेत्रमा महिलाहरुको सहभागिता समेत बढेको छ । आफू पनि केही गर्ने रहरले धेरै महिलाहरुलाई यस क्षेत्रमा तानेको छ । आफ्नै खेतबारीमा गर्न सकिने क्षमता अनुसार लगानी गर्दा हुने र घरको रेखदेख गर्दै व्यवसाय चलाउन सकिने भएका कारण कृषि क्षेत्रमा हात हालेको उनीहरुको भनाई छ ।

काठमाडौंको झोरमा नमुना नेपाल कृषि फार्म सञ्चालनमा ल्याएकी समिका बुढाथोकीको श्रीमान काठमाडौंकै होटल व्यवसायी हुन् तर, आफू पनि केही गर्ने जोसले उनलाई अन्ततः बाख्रा फार्म खोल्ने बनायो । बुढाथोकी जस्तै पोखराकी मिना गुरुङले पनि दृढ निश्चयका साथ कृषि क्षेत्रमै दैनिकी विताइरहेकी छिन् । ब्रिटिस लाहुरेकी पत्नी मिनाको आफ्नै लक्ष्य छ । पोखराको हेमजामा कृषि फार्म सञ्चालन गरिरहेकी गुरुङ कृषि अनुसन्धान केन्द्र स्थापनका लागि प्रयासरत छिन् । समिका बुढाथोकी र मिना गुरुङ मात्र नभई जिवनस्तर उकास्नकै लागि कृषि क्षेत्रमा हात हाल्ने महिलाहरुको संख्या पनि ठूलो छ ।

युवाहरुको आकर्षणकै कारण पछिल्लो समय नेपालमा दुध र मासुजन्य उत्पादन समेत बढ्दै गएको छ । नेपालमै उच्च नश्लका व्याडको बोका उत्पादन हुन थालेपछि देशबाहिर जाने ठूलो रकम नेपालमै थन्किएको छ । यसैगरी हिमालदेखी तराईसम्म तरकारीका टनेलहरु देखिन थालेका मात्र छैनन् जुनसुकै स्थानमा समेत बेमौसमी तरकारी उपलब्ध हुन थालेका छन् । तर विगत ६ महिनादेखी देशमा फैलँदै गएको कोभिड १९ (कोरोना भाइरस) का कारण कृषि क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ ।

AdvertImage